Incident Reports

म्याग्दीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्लादहन

2015-09-25

Gandaki, Myagdi, Ward 4

नेकपा एमालेनिकट विद्यार्थीहरुको सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लादहन गरेको छ। नेपालमा जारी भएको नयाँ संविधानमा संशोधन गर्नुपर्ने भन्दै भारतीय विदेश मन्त्रालयबाट ७ बुँदे सुझाव सार्वजनिक भएपछि त्यसको विरोधमा अनेरास्ववियुद्वारा बिहीबार साँझ पुत्लादहन गरिएको हो। आफ्ना प्रतिनिधिमार्फत लोकतान्त्रिक संविधान लेख्ने नेपाली जनताको सपना पुरा हुँदै गर्दा भारतले मधेशी दलको आडमा नेपाललाई आफू अनुकुलको निर्णय गराउन दवाव दिएको भन्दै विद्यार्थीहरुले सदरमुकाम बेनीमा विरोध र्‍यालीसहित पुत्लादहन गरेका हुन्। कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले नेपालका राजनीतिक दलहरु आन्तरिक मामिला सुल्झाउन सक्षम भएकाले भारतले यसबारे चिन्ता गरिरहनु अनावश्यक नभएको बताएका थिए। नेपालमा हुने हरेकजसो आन्दोलनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरी जस लिन खोज्ने भारतीय प्रवृत्ति नयाँ संविधान जारी गर्ने क्रममा असफल भएको भन्दै सुवेदीले अब आर्थिक विकासका लागि नेपालका नेताहरु एक ढिक्का हुन आवश्यक रहेको बताए। अनेरास्ववियु म्याग्दीका सचिव सुमन पौडेलले सञ्चालन गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रकाश पौडेलले मुलुकको हित विपरित हुने जुनसुकै हर्कतका लागि अनेरास्ववियुले संघर्ष गरिरहने प्रतिबद्धता जनाएका थिए। भारतले नेपालको समस्यालाई सुल्झाउने भन्दा बल्झाउने गरेको भन्दै अध्यक्ष पौडेलले दक्षिण एसियाको नेतृत्वको चाहना गर्ने नरेन्द्र मोदीले दोस्रो मुलुकको राष्ट्रिय स्वाभिमानबारे ख्याल गर्न आग्रह गरेका थिए।
National/Online Media

0 Comments