Incident Reports

बन्द तथा नाकाबन्दीका कारण जनजीवन कष्टकर हुँदै

2015-10-04

भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी र तराई बन्दका कारण यहाँ जनजीवन कष्टपूर्ण बन्दै गएको छ । भारतले नाकाबन्दी खोलेको समाचार विभिन्न सञ्चारमाध्यममा आएको भए पनि असोज १७ गते बाँकेको रुपैडिया नाकाबाट पेट्रोलियम पदार्थ भित्रिएन । नाकाबन्दी र तराई बन्दका कारण मध्यपश्चिम क्षेत्रको जनजीवन प्रभावित भएका समाचार विभिन्न जिल्लाबाट प्राप्त भएका छन् । बाँकेमा मधेसी मोर्चाका तीन जना कार्यकर्ता गिरफ्तार नेपाल भारत जमुनाहा नाकामा आन्दोलनरत मधेसी मोर्चाका तीन जना कार्यकर्तालाई असोज १७ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का बाँके जिल्ला अध्यक्ष हिरालाल लोनिया, सोही पार्टीका जिल्ला उपाध्यक्ष मिस बाहुल हक अन्सारी र जिल्ला सदस्य राजकुमार बर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई विष्णु गिरीकाअनुसार सीमा क्षेत्रका सवारी साधनमा अवरोध पुर्‍याउन खोजेपछि नियन्त्रणमा लिइएको हो । 'नाकाबन्दी गरेपनि, आन्दोलन गरेपनि आफ्नै भूमिमा गर्नुपर्छ भन्ने मान्यताले गर्दा हामीहरू जमुनाहामा थियौं, त्यसै क्रममा प्रहरीले हामीलाई पक्राउ गरिहाल्यो ।' फोरम लोकतान्त्रिकका अध्यक्ष लोनियाले भने । गिरफ्तार परेका कार्यकर्ताहरूलाई प्रहरीले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का कार्यकर्ता सन्तोष लखेरको रोहवरमा असोज १७ गते साँझ ५ बजे रिहा गरेको छ । आन्दोलनरत मोर्चाका कार्यकर्ताबीच बाँकेमा विवाद भारतीय भूमिमा आन्दोलन गर्न नहुने अडान राख्दा मधेशी जनअधिकार फोरम लोकतान्त्रिका बाँके जिल्ला अध्यक्ष हिरालाल लोनियामाथि असोज १६ गते सङ्घीय समाजवादी फोरम नेपालका स्थानीय नेता राजेन्द्र विश्वकर्माले प्रहरीको एजेण्ट भएको आरोप लगाए । भारतीय भूमिमा आन्दोलन गर्नेहरूलाई भारतीय दलाल भएको फोरम लोकतान्त्रिका अध्यक्ष लोनियाले बताएका थिए । पेट्रोलियम पदार्थ भित्रिएन नेपालगञ्ज नाकामा असोज १७ गते कुनैपनि पेट्रोलियम पदार्थका साधनहरू भित्रिएका छैनन् । साँझ ६ बजेसम्म आलु, सिमेन्ट, मार्बल, क्लिंकर बोकेका २० ओटा ट्रक मात्र भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई विष्णु गिरीले जानकारी दिए । सई गिरीका अनुसार भारतीय भन्सारलाई सोध्दा एसएसबीले गर्दा ढिलाइ भएको बताउने र एसएसबीलाई सोध्दा चेक जाँच भइहेको बताएर टार्ने काम भइरहेको जनाए । मिसावट र महँगी नियन्त्रण गर्न दाङवासीको आग्रह खाद्य अधिकार सञ्जाल दाङले चार्डपर्व नजिक आइरहको सर्न्दर्भमा बजारमा दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीमा हुने महङ्गी र मिसावट नियन्त्रण गर्न स्थानीय प्रशासनसँग असोज १७ गते माग गरेको छ । घोराहीमा असोज १७ गते बसेको सञ्जालको बैठकले चार्डपर्व नजिकिदै जाँदा बजारमा तेल, घ्यूलगायतका खाद्य सामग्रीमा मिसावट र महँगी दुवै हुन थालेको भन्दै कालोबजारी रोक्न आग्रह गरेको छ । रोल्पामा तरकारी बारीमा कुहिइन थाले पेट्रोलियम पदार्थको अभावका कारण सवारी साधन कम चल्न थालेपछि रोल्पा जिल्लाका विभिन्न स्थानमा किसानले खेती गरेका तरकारी बजारसम्म पुग्न नसक्दा बारीमै कुहिन थालेका छन् । जिल्लाका बुढागाउँ, नुवागाउँ, सखी, झेनाम, गैरीगाउँलगायतका गाविसमा किसानले उत्पादन गरेका तरकारी लामोसमयसम्म बजार पठाउन नसक्दा कुहिन थालेको किसानले गुनासो गरेका छन् । ती स्थानमा उत्पादन भएका तरकारी सल्यानको कपुरकोट हुँदै दाङ, नेपालगञ्ज, बुटवल लगायतका बजारमा पठाउने गरिन्थ्यो । हुम्लामा तेलको मूल्य बढ्यो अघोषित नाकाबन्दी र तराई बन्दको कारण नेपालगञ्ज र सुर्खेत लगायतका स्थानबाट सामान आयात हुने हुम्लामा सामानको अभाव देखिन थालेपछि स्थानीय व्यापारीले दैनिक उपभोग्य वस्तुमा मूल्य बृद्धि गर्न थालेका छन् । भारतीय भूमिबाट आयात गरिने सामान एक हप्तादेखि अघोषित नाकाबन्दीका कारण ठप्प भएपछि त्यसको असर सिमकोटमा समेत परेको सिमकोट माथिल्लो बजारस्थित पर्वत जनरल स्टोरका सर्वजित गौचनले जानकारी दिए । उनका अनुसार धारा तेलमा प्रति लिटरमा १० रुपियाँले बृद्धि भएको छ । यसैगरी भारतले गरेको नाकाबन्दीका कारण जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट सामान ढुवानी नभएपछि सिमकोटका पसलमा अहिले स्वस्तिक तेल, अण्डा, हर्लिस, बिस्कुट लगायतका सामान सकिएको डाफया गाविस निवासी जानबहादुर शाहीले जानकारी दिए । सामाजिक सञ्जाल मार्फत सञ्चारकर्मीलाई धम्की दिने गिरफ्तार गुलरिया नपा-६ निवासी कान्तिपुर दैनिकका बर्दिया संवाददाता कमल पन्थीलाई सामाजिक सञ्जाल फेकबुक मार्फत धम्की दिने गुलरिया नपा- १३ का मुकेश थारुलाई असोज १६ गते राति प्रहरीले गिरफ्तार गरेका छ । प्रहरी कार्यालयमा असोज १७ गते भएको छलफलमा मुकेशले सञ्चारकर्मीसमक्ष माफी मागेपछि दुबै पक्षबीच मिलापत्र भएको प्रहरीले जनाएको छ । सञ्चारकर्मी पन्थीले सुरक्षाको मागगर्दै असोज १६ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । यसै सर्न्दर्भमा थरुहट/थारुवान संयुक्त सङ्घर्ष समिति बर्दियाका संयोजक गोविन्दप्रसाद थारुले असोज १७ गते प्रेस विज्ञप्ति प्रकाशित गर्दै संचारकर्मी र आन्दोलनकारीबीच सधै सुमधुर सम्बन्ध रहँदै आएकोमा आन्दोलनका क्रममा सञ्चारकर्मीलाई केही असहज भएको भए त्यसप्रति दुःख प्रकट गरिएको जनाएका छन् ।

0 Comments