Incident Reports

आन्दोलनमा मृत्यु भएका चार जनाको सामूहिक शवयात्रा

2015-11-29

Madhes, Saptari, Rajbiraj, Ward 8

 मधेसी मोर्चा सप्तरीले आन्दोलनका क्रममा प्रहरीको गोलीले तथा करेण्ट लागेर मृत्यु भएका चार जनाको सामूहिक शवयात्रा मङ्सिर १२ गते निकालेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिहान दुईवटा जीपमा शवहरू ल्याएपछि सुरु गरिएको शवयात्रामा मधेसी मोर्चाका नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भएका थिए । मधेशी मोर्चाको मागअनुसार जिल्ला सुरक्षा समितिले डाँढा गाविस-७ का २० वर्षीय वीरेन्द्र राम, जमुनी मधेपुरा गाविस-९ छपकीका २८ वर्षीय नागेन्द्र यादव, राजविराज नपा-१ का ३८ वर्षीय दिलीपकुमार साह र जमुनी मधेपुरा गाविस-४ प्रसाहीका २० वर्षीय शिवशंकर दासलाई सहिद घोषणा, मृतक परिवारलाई राहत क्षतिपूर्ति र घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने लगायतको सिफारिस कार्यान्वयनका लागि मङ्सिर १० गते गृहमन्त्रालय पठाएपछि मोर्चाले मङ्सिर १२ गते शव बुझेको थियो । राजमार्ग अवरोध खोल्ने क्रममा प्रहरीले चलाएको गोली लागी मङ्सिर ५ गते राति भारदहमा राम, रुपनीमा यादव तथा मङसिर ६ गते राजविराजमा भएको झडपका क्रममा घरको बार्दलीबाट रमिता हेरिरहेका साह र करेण्ट लागेर दासको मृत्यु भएको थियो । चारै जनाको शवलाई राजविराजस्थित गजेन्द्र चोकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र तमलोपाका केन्द्रीय सदस्य जयप्रकाश ठाकुरले पुष्पमाला र पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । सप्तरीको भारदह, हनुमाननगर, तोपा हुँदै राजविराज आएको शवयात्रा रुपनी, शम्भुनाथ, कल्याणपुर, कदमाहाहुँदै सिरहाको लहानस्थित शहिद रमेश चोकमा पुगेर श्रद्धाञ्जली अर्पण गरी फर्कने योजना रहेको मोर्चाले जनाएको छ । शवयात्रापश्चात साँझ अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाइने कार्यक्रम रहेको मधेशी मोर्चा सप्तरीका संयोजक सुनिलकुमार झाले बताए । मृत्युका सम्बन्धमा भएको विवादका कारण पोस्टमार्टममा एक साता ढिलाइ भएको थियो । मृतक साहलाई गोली नलागेको र दासलाई आन्दोलनका क्रममा नभई आफ्नै काममा करेण्ट लागेको भनी सुरक्षा निकायले अडान लिएपछि सुरक्षा समितिको निर्णय र पोस्टमार्टममा ढिलाइ भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments