Incident Reports

थाइल्याण्डको भिजिट भिसामा कुवेत र दुबई जान लागेका ८ युवतीको विमानस्थलबाट उद्दार

2015-12-09

Bagmati, Kathmandu, Kathmandu

सेटिङ मिलाएर भिजिट भिसामा थाइल्याण्ड जान लागेका ८ जना युवतीको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उद्दार गरेको छ । उनीहरुलाई सेटिङ मिलाएर पठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटका सूर्यमान श्रेष्ठ र काठमाडौंका प्रकाश केसीलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान ११ बजे थाइ एयरवेजबाट थाइल्याण्ड जान उनीहरु बोडिङ पास लिएर वेइटिङ रुममा बसिरहेका थिए । विशेष सूचनाका आधारमा महाशाखाको टोली विमानस्थल पुगेर उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो । त्यस क्रममा उनीहरुलाई थाइल्याण्ड पुर्याएर कुवेत र दुवई लैजान लागिएको अनुसन्धानबाट खुलेको छ । उनीहरु सँगै युवतीहरुसँगै जान लागेका थिए । थाइल्याण्डसम्म आफैँ जाने र त्यसपछि दुवई र कुवेतमा उनीहरुलाई घरायसी काम गर्न पठाउने योजना ती २ को रहेको महाशाखाका एसपी सहकुल थापाले सेतोपाटीलाई जानकारी दिए । श्रेष्ठ ५ वर्षअघि पनि सेटिङ मिलाएर, नक्कली श्रम स्वीकृति बनाएको आरोपमा पक्राउ परेका थिए । केसी र श्रेष्ठविरुद्ध प्रहरीले मानव बेचविखनको मुद्दा चलाउने तयारी गरेको छ । केसी र श्रेष्ठ मानव बेचबिखनको ठूलै गिरोह रहेको प्रहरीले जनाएको छ । उनीहरुले अहिलेसम्म ५० भन्दा युवती थाइल्याण्ड हुँदै कुवेत र दुबइ पठाएको प्रहरीको अनुमान छ । कहिले काठमाडौंबाट त कहिले नयाँदिल्लीबाट समेत उनीहरुले युवतीहरु अन्य देश पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उद्दार गरिएका युवतीहरु अहिले माइती नेपालको संरक्षणमा छन् । अधिकांश १७ वर्षदेखि ३० वर्ष भित्रका उनीहरुले घरायसी काममा लगिदिने भन्दै आफूहरुसँग एक लाखभन्दा बढी उठाएको बताएका छन् । थाइल्याण्ड उड्नु २ हप्ताअघि नै उनीहरुलाई काठमाडौंका ४ वटा होटलमा श्रेष्ठ र केसीले राखेको प्रहरी निरीक्षक गोबिन्द पन्थीले जानकारी दिए । उनका अनुसार युवतीहरुलाई आफन्तसमेत भेटन् दिइएको थिएन । उद्दार गरिएका युवतीहरु बुटवल र भैरहवा क्षेत्रका छन् ।

0 Comments