Incident Reports

No translation available.

2012-10-11

Pratap Bista

पत्नी बिक्री गर्ने पतिसहित तीनजनालाई २० वर्षकैद मकवानपुर । असोज २४ गते

गर्भवती पत्नीलाई भारतको कोठीमा लगेर बिक्री गरेको ठहर गर्दै पतिसहित तीनजनालाई जिल्ला अदालत मकवानपुरले जनही २० वर्षकैद र २ लाख रुपैया जरिवाना गर्ने फैसला गरेको छ । प्रतिवादी तीनै जनाको आर्थिक अवस्था कमजोर भएका कारण जरिवानाको ५० प्रतिशत अर्थात १/१ लाख रुपैयाँ पुनर्स्थापना कोषबाट राज्यले जाहेरवालालाई उपलब्ध गराउनु पर्ने अदालतले आदेश गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको ०६९ असोज २३ गते वसेको इजलाशले मनहरी गाविस-३ का ३८ वर्षीय पति सिताराम थिङ, पदमपोखरी गाविस-१ का ५४ वर्षीय श्यामबहादुर बोम्जन र ५३ वर्षीय शशीकुमार तितुङलाई २३ वर्षअघि पत्नी बिक्री गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । मनहरी गाविस-३ की १६ वर्षीया किशोरीसँग विवाह गरेर थिङले ६ महिनापछि गलैचा कारखानामा काम गर्ने भनेर काठमाण्डौ लगेका थिए । काठमाण्डौमा काम पाइएन दुवै जना भारतमा जागिर खाने भनेर उनलाई २०४६ भदौमा बम्बई झुक्याएर पुर्‍याइएको थियो । उनलाई बम्बई पुर्‍याउँदा श्यामवहादुर र शशीकुमार पनि सँगै गएका थिए । बम्बई पुगेपछि पतिसहित ३ जनाले कोठी सञ्चालक दुई महिलालाई ५० हजार रुपैयाँमा गर्भवती महिला बिक्री गरेर फरार भएका थिए । कोठीमा बिक्री गर्दा उनी ५ महिनाको गर्भवती थिइन् । कोठीमा नै उनले छोरा जन्माइन् । ती छोरा अहिले २३ वर्षको भइसकेको छन् । हाल नुवाकोटमा बस्ने उनलाई ५ वर्षको भएपछि पालनपोषण गर्न अरुले नै लगेका थिए । १५ वर्षसम्म कोठीमा बसेर नारकीय जीवन बिताएकी ती महिलाको रगतमा एचआइभीको जीवाणु फेला परेपछि कोठीबाट निकालिएकी थिइन् । कोठीबाट निकालिएपछि बम्बईमा उनले ७ वर्षजति एक व्यक्तिको घरमा काम गरेर बसेकी थिइन् । उनी एक महिलाको सहयोगमा ०६८ चैत २१ गते गोरखपुर हुँदै मनहरी आइकी थिइन् । माइती नेपालको सहयोगमा उनले चैत २२ गते गर्भवती भएको अवस्थामा आफुलाई बिक्री गर्ने पतिको विरुद्धमा प्रहरी कार्यालय हेटौडामा उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले सितारामलाई चितवन रत्न नगरपालिका-१३ को जयमंगलबाट चैत २३ गते पक्राउ गरेको थियो । सितारामका वयानको आधारमा श्यामबहादुर र शशीकुमार पक्राउ परेका हु्न । पतिले उनलाई बिक्री गर्दा उनी १६ वर्षकी थिइन् । गाँउ फर्कदा उनी ३८ वर्षकी थिइन् । हाल उनी मनहरीस्थित माइती घरमा बस्छिन् ।

0 Comments