Incident Reports

विश्वकप रंगशाला निर्माणमा नेपाली कामदारमाथि दुर्व्यवहार : एम्नेस्टी

2016-04-01

Bagmati, Kathmandu, Kathmandu

कतारमा विश्वकप आयोजनाको लागि जारी रंगशाला निर्माणमा संलग्न कामदारले दुव्र्यवहार भोग्नुपरेको र उनीहरुलाई जबरजस्ती काममा लगाइएको भन्दै एम्नेस्टी इन्टरनेशनलले प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले २०२२ को विश्वकप आयोजना स्थलमा कामदारको अधिकार मिचिएको भन्दै पहिलोपटक मुख खोलेको हो । एम्नेस्टीका अनुसार कतारको खलिफा इन्टरनेसनलले स्टेडियम बनाउन संलग्न बंगलादेशी, भारतीय र नेपाली कामदारलाई धेरै तलबको झुटो आश्वासन दिएर ल्याइएको, महिनौंसम्म तलब नदिई फोहोरी ठाउँमा राखिएको भन्दै यस्तो अवस्थालाई फोस्र्ड लेबर (जबरजस्ती काममा लगाइएको) को संज्ञा दिएको छ । खलिफा स्टेडियम, जसमा सन् २०१९ को विश्व एथ्लेटिक्स च्याम्पीयनसिप समेत खेलाइदैछ, मा कार्यरत ७ जना नेपाली कामदारलाई स्वदेश फर्किन समेत नदिइएको एम्नेस्टिले जनाएको छ । उनीहरु बैशाख १२ को भूकम्पपछि परिवारलाई सहयोग गर्न नेपाल फर्किन खोजे पनि नदिइएको प्रतिवेदनमा उल्लेख छ । कतारमा हाल विश्वकप तयारीका लागि भइरहेको निर्माणको काममा ५ हजार १ सय कामदार कार्यरत छन् । सन् २०१८ सम्मा यो संख्या ३६ हजार पुग्नेछ । एम्नेस्टीका मुस्तफा क्वाद्रीले भने, ‘यो कामदारको शोषणले बनेको विश्वकप हो ।’ विवादास्पद निर्णय गरी कतारलाई विश्वकप फुटबल आयोजना गर्ने अधिकार दिइएपछि कामदारमाथि गरिने व्यवहार विश्वव्यापी मुद्दा बनेको छ । ‘सुन्दर खेलको कुरुप पक्ष’ शीर्षकको ५१ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक भएपछि कतार, फिफाको नयाँ नेतृत्व र विश्वकपको प्रयोजकमाथि पनि अन्तर्राष्ट्रिय दवाब बढ्नेछ । यो वर्षको फ्रेब्रुअरी महिनासम्म एक वर्ष लगाएर अनुसन्धान गरेको र अनुसन्धानको क्रममा २ सय ३४ पुरुष कामदारसँग अन्तर्वार्ता लिएको एम्नेस्टीले जनाएको छ । तीमध्ये २ सय २८ जना कामदारले प्रतिबद्धताअनुसारको तलब नपाएको जवाफ दिएको एम्नेष्टीले दाबी गरेको छ । अधिकांशलाई कमै तलब भए पनि स्वीकार गर्नुपर्ने बाध्यता छ किनकी कतारी कानुन अनुसार पैसा तिरेर कामदार ल्याउनु गैरकानुनी भए पनि उनीहरुले कतारमा काम गर्न आउँदा ऋण काँढेर चार हजार तीनसय अमेरिकी डलरसम्म खर्च गरेका हुन्छन् । कतारले पनि आफ्नो स्वभावविपरीत एम्नेष्टीको रिपोर्टमाथि तत्काल प्रतिक्रिया दिएको छ । उसले कामदारको अवस्था सुधारको लागि आफूले चालेको कदमबारे जानकारी दिँदै भनेको छ, ‘एम्नेष्टीको दाबीले कतारको गलत चित्र प्रस्तुत गरेको छ । र, उसले खलिफा स्टेडियममा कार्यरत ४० मध्ये ४ कम्पनीका कामदारसँग मात्रै अन्तर्वार्ता गरेको छ ।’ कतारमा भएका कूल नेपाली कामदार : ५, ००, ००० वर्ष कतार गएका कामदार मृत्यु २०१३–०१४ १, २८,८७४ २०५ २०१४–०१५ १,२४,३६८ १७९ कामदार भित्र्याउने सेभेन हिल नामक कम्पनीले आफ्ना कामदारलाई ४ महिनासम्म तलब नदिएको केही कामदारहरुले बताएको एम्नेस्टीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । ४० हजार सिट क्षमताको खलिफा स्टेडियम र एस्पाएर जोन बनाउन कार्यरत कामदारहरुलाई न्यून सुविधा भएको स्थानमा कोचेर राखिएको प्रतिवेदनमा उल्लेख छ । एप्पाएर जोन खेलकुद कम्प्लेक्स हो जसभित्र खलिफा स्टेडियम बन्दैछ । यही कम्प्लेक्समा यो वर्ष पेरिस सेन्ट जर्मन र वायन म्युनिखले अभ्यास गरेका थिए । ‘कामदार बस्ने क्याम्प जाने मुख्य प्रवेशद्वार अव्यवस्थित ढल निकासको कारण पानीले भरिएको छ र फोहोरको गन्ध आइरहेको छ’, एक घटना उद्धृत गर्दै प्रतिवेदनमा लेखिएको छ । धेरै कामदारको पासपोर्ट गैरकानुनी ढंगले कब्जामा राखिएको आरोप एम्नेस्टीले लगाएको छ र नेपालीसहित ८८ कामदारलाई कतार छाडेर जानसमेत नदिइएको जनाएको छ । दीपक नाम गरेका एक नेपाली कामदारले भनेका छन्, ‘कतारको जीवन जेलजस्तै छ ।’ ‘मैले पहिलोपटक म्यानेजरलाई गुनासो गर्दा उनले तिमीले गुनासो त गर्नसक्छौं तर यसको नतिजा भोग्नुपर्छ भने । कतारमा काम गर्ने भए चुप लागेर बस्न धम्क्याए,’ दीपकले भने । एम्नेष्टीले कतारलाई कामदारले कम्पनी परिवर्तन गर्न नपाउने वा देश छाड्न नपाउने शर्त भएको आफ्नो काफला स्पोन्सरसिप प्रणाली परिवर्तन गर्न सुझाव दिएको छ । प्रतिवेदनमा फिफा अर्थपूर्ण कदम चाल्न चुकेको भन्दै आलोचना गरिएको छ । विश्वकप फुटबल आयोजना कमिटीका प्रमुख हसन अल थावादीले कामदारमाथि दुव्र्यवहार भएको स्वीकार्दै त्यसलाई तत्काल समाधान गर्ने जादूयी उपाय नभएको भन्दै यसलाई सुधार प्रतिवद्धता जनाए । उनले विश्वकपको तयारीको लागि थालिएको योजनामा कुनै कामदारको मृत्यु नभएको दाबी गर्दै एम्नेस्टीको रिपोर्ट सार्वजनिक हुनु अघि नै कामदारको अवस्था सुधार्न कदम चालिएको बताए । कामदारको तलब सुरक्षा, सुधारिएको बासस्थान साथै रिपोर्टमा उल्लेख भएका कम्पनी खारेजीको लागि कदम चालिएको उनले बताए । ‘हामी चाहन्छौं, यो विश्वकप परिवर्तनको उत्प्रेरक बन्नेछ । कामदारको शोषण गरेर विश्वकप आयोजना गरिने छैन्,’ कमिटीको विज्ञप्तीमा भनिएको छ, ‘कतार विश्वकप आयोजना गर्न योग्य छैन् भन्ने मान्यता हामी अस्वीकृत गछौ ।’ कतार सरकारले एम्नेस्टीको प्रतिवेदनमा उल्लेख भएको विभिन्न आरोपप्रति ध्यानाकर्षण भएको भन्दै त्यस विषयमा अनुसन्धान गर्ने जनाएको छ । फिफाले कतारमा भइरहेको कामदारको शोषणको विषयमा पूर्णरुपमा जानकार भएको प्रतिक्रिया दिएको छ । तर, उसले भनेको छ, ‘अर्थपूर्ण परिवर्तनको लागि विश्वकप बलियो उत्प्रेरक हो ।’

0 Comments