Incident Reports

फुजेलमा अधिकारकर्मीको संयुक्त अनुगमन l

2013-09-20

Sudip Kaini जिल्ला स्थित अधिकारकर्मीहरुले फुजेल गाविस-७ चमती र आसपासको क्षेत्रको मानवअधिकारको अवस्थाको संयुक्त अनुगमन गरेका छन् । मानवअधिकारवादी सस्था र पत्रकारहरुको टोली असोज ४ गते सदरमुकामबाट अनुगमनका लागि फुजेल पुगेको हो । कृष्णप्रसाद अधिकारीको सशस्त्र द्वन्द्वको समयमा चितवनमा भएको हत्या, हत्यापछि उनका आमाबुवा गंगामाया र नन्दप्रसादले न्यायको लागि बसेको अनशन र सरकार र पीडित परिवारबीच भएको सहमति पछि टोलीले सो ठाँउको अनुगमन गरेको हो । विस्थापित अधिकारी परिवारलाई गाँउमा पुनस्थापनाका लागि पहल गर्न, सामाजिक अवस्था, स्थानीयवासीको धारणा र मानवअधिकारको अनुगमन गर्न टोली फुजेल पुगको थियो । अधिकारी परिवारको घर, जग्गा जमिनको जानकारी लिएसँगै स्थानीयको धारणा बुझेपछि अनुगमनमा सहभागीहरुले फुजेलको अवस्था सन्तोषजनक नभएको बताएका छन् । द्वन्द्वको घाउहरु अझै बाँकी रहेको अनुगमनका सहभागीहरुले जानकारी दिए । अनुगमनमा सहभागी सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष किशोरजङ्ग थापाले भने 'द्वन्द्व अन्त्य गर्न र अधिकारी परिवारलाई गाँउमा स्थापित गर्न पुनः मेलमिलाप र स्थानीय प्रतिबद्धताको खाँचो छ ।' एक पक्षले अर्को पक्षलाई आरोपप्रत्यारोप गर्ने, शङ्का गर्ने, दोष लगाउने प्रवृत्ति अझै कायम रहेको स्थानीय स्वास्थ्य कार्यकर्ता इश्वरीप्रसाद अधिकारीले जानकारी दिए । गाँउबाट विस्थापित भएपछि अधिकारी परिवारको घर झाडीले घेरिएर जिर्ण भएको छ । घर पुनमर्मत नगरी बस्न सक्ने अवस्था नभएको बार एसोसिएसनका अध्यक्ष स्थानेश्वर दुवाडीले बताए । गाँउमा विजुली बत्ति विस्तार गर्ने क्रममा बिबाद भएपछि ०६४ पुस १० गते स्थानीय माओवादी कार्यकर्ताले कुटपिट गरेपछि नन्दप्रसाद र गंगामाया गाँउबाट विस्थापित भएका थिए । उनीहरु घर छाडेर हिँडेपछि गोठमा रहेका गाई, भैँसी, बाख्रा पनि थलामा नै मरेको नुरप्रसादकी दिदी सुभद्रा तिवारीले जानकारी दिईन् । स्थानीयबासीले भने अधिकारी दम्पतिलाई घर फर्कन आग्रह गरेका छन् । इन्सेक गोरखा, बार एसोसिएसन गोरखा, पत्रकार महासंघ गोरखा, मानवअधिकार तथा शान्ति समाज गोरखा, एम्नेष्टि इन्टरनेशनल महिला समूह गोरखा, मानवअधिकार संगठन गोरखा, मानवअधिकार सरोकार केन्द्र गोरखा, काहुराष्ट्र गोरखा लगायतका संस्थाहरुबाट १८ जनाको अनुगमनमा सहभागिता रहेको थियो । सुदिप कैनी

0 Comments