Incident Reports

Farmers on protest after their tomatoes were unsold

2018-07-24

Province 1, Panchthar, Hilihang

Farmers of Panchthar district are in protest after their tomatoes were unsold by throwing the tomatoes in the street. The same tomatoes got sold for 20 Rs. per kg last year. However, the story was completely different this year. Also, the farmers are sad because the tomatoes have started getting rotten. They are worried because their hard work and investment went in vain. Farmers protested after they didn't find any alternative to this problem. As they threw all the tomatoes in the road, the road became fully red. लागतअनुसार मूल्य नपाएपछि चितवनका किसानले सडकमै दूध पोखिदिएका थिए । आज पाँचथरका किसानहरू गोलभेंडा नबिकेपछि सडकमै फालेका छन् । यी दुई प्रतिनिधि घटना मात्रै हुन् । सरकारको प्राथमिकतामा किसान कहिले नपरेको पुष्टि गर्न यी घटना पर्याप्त हुन सक्छन् । गुनासो गर्दा पनि उनीहरूको आवाज सुनिन्न । पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकाका किसान गोलभेंडा सडकमा फाल्दै । तस्बिर : कान्तिपुर हिलिहाङ गाउँपालिका २ की आइतरानी योङहाङले गत वर्ष यही सिजनमा प्रतिकिलो २० रुपैयाँले गोलभेंडा बेचेकी थिइन् । २२ रोपनीमा लगाएको गोलभेंडाले राम्रो आम्दानी दिएपछि यो वर्ष थप विस्तार गरिन् । त्यहीअनुरूप लगानी पनि गरेकी थिइन् । अहिले भने गोलभेंडा बिक्री हुनै छाडेको छ । बारीमा कुहिन थालेपछि उनी निराश छिन् । उनले उत्पादन गरेको गोलभेंडा झापाको बिर्तामोडबाट आउने ठेकेदारहरूले खरिद गर्थे । तिनीहरू आउनै छाडेपछि गोलभेंडा बारीमा कुहिन थालेको छ । फेरि त्यतिका क्षेत्रफलमा लगाएको गोलभेंडा स्थानीयस्तरमा खपत हुने कुरै भएन । श्रम र लगानी खेर गएको भन्दै उनी चिन्तित छिन् । योङहाङ मात्रै हैन हिलिहाङ र याङपकका धेरै कृषकको समस्या उस्तै छ । यी दुई गाउँपालिका गोलभेंडाका लागि पाँचथरका पकेट क्षेत्र हुन् । तत्कालीन कृषि विकास कार्यालयले पकेट क्षेत्र घोषणा गरेसँगै पछिल्लो समय यहाँका अधिकांश किसानले गोलभेंडा लगाएका छन् । कतिपयले टनेल लगाएर र केहीले खुला आकाशमुनि खेती गरेका छन् । यहाँ उत्पादित गोलभेंडा गत वर्षसम्म झापाको चारआली, बिर्तामोड, काँकरभिट्टा हुँदै भारतको पानीटयांकी, सिलिगुडी निर्यात भएको थियो । यो वर्षको सुरुको सिजनमा पनि केही व्यापारी आएका थिए । तर, अहिले बिक्री नै ठप्प भएको छ । आइतरानीजस्ता किसानलाई किन बिक्री भएन पत्तो छैन । सरकारी अधिकारीले यसरी रोकियो, यसरी जोगाउनुहोस् भनेर सिकाउन आएका पनि छैनन् । तर, बारीको कमाइ भने दिनानुदिन कुहिरहेको छ । गोलभेंडा कुहिन थालेपछि र बिक्रीको विकल्प कसैले नदिएपछि किसान भने आन्दोलित भएका छन् । उनीहरूले आफ्ना उत्पादनहरू नजिकैको मेची राजमार्गमा लगेर फालिदिएका छन् । किसानको पीडा सरकारले सुनोस् भनेर सडकमा मिल्काएको हिलिहाङ १ का किसान प्रकाश उप्रेतीले बताए । हिलिहाङ १ को भालुचोक, मुकुबुङ, याङवरकको सुनुवारघुम्ती, गणेशचोक र हिलिहाङ चोकमा गोलभेंडा फालेका हुन् । उनीहरूले क्यारेट, डोको र डालोमा ल्याएको गोलभेंडा सडकमा फालिदिँदा सडक राताम्मे भएको छ । लाखौंका कृषि उपज खेर जाँदा सरकार मौन भएपछि र कूटनीतिक पहल नगरेपछि सडकमा मिल्काउनुको विकल्प नभएको उनीहरू बताउँछन् । उनीहरूले गोलभेंडा बिग्रने वस्तु भएकाले तत्काल समाधानका लागि पहल गरिदिन सरकारसँग अनुरोध गरेका छन् । अर्का किसान लीला ढकालले भने, ‘खाइनखाई गरेर झरीबादल नभनी खेती गरियो अहिले विषादी छर्ने आम्दानीसम्म नहुँदा सरकार मुकदर्शक भएर बस्छ भने हामी पनि चुप लागेर कसरी बस्ने ?’ निर्यात ठप्प भएको महिनादिनसम्म स्थानीय प्रदेश र केन्द्र कुनै तहका सरकारले पनि विकल्पका विषयमा ध्यान नदिएको गुनासो किसानको छ । विगतमा लगानी उठ्ने गरी निर्यात हुन थालेपछि यहाँका किसानले धान, कोदो, मकैलगायतका अन्नबाली छाडेर गोलभेंडा खेतीमा लागेका थिए । यहाँ उत्पादित गोलभेंडाले २० देखि ६० रुपैयाँ प्रतिकिलो घरमै आम्दानी गरेको थियो । कतिपयले गोलभेंडा खेतीका लागि बैंक, वित्तीय संस्था र सहकारीबाट ऋणसमेत लिएको नागीका तारा भारती बताउँछन् । सबै खेर गए किसानका थाप्लामा थप ऋण थुप्रिने गुनासो पनि किसानहरूको छ । असार तेस्रो सातादेखि यहाँको गोलभेंडा निर्यात ठप्प छ । भारतले नेपालबाट आयात गर्ने सामग्रीको सूचीमा गोलभेंडाको सूची नरहेको भन्दै भन्सारबाटै फकाइदिनेगरेको छ ।तत्कालीन जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्यांकअनुसार गत वर्ष यी दुईवटा गाउँपालिकाबाट मात्रै ३ करोड २८ लाख रुपैयाँ बराबरको गोलभेंडा बाहिरिएको थियो । यो वर्ष भने गोलभेंडाको मुख्य सिजनमै बिक्री नहुँदा जिल्लामा भित्रिने रकम प्रभावित भएको छ । update................................... संघीय सरकार, प्रदेश १ सरकार र स्थानीय प्रशासनको पहलमा विगत एक महिनादेखि रोकिएको टमाटर (गोलभेँडा)को भारत निकासी खुलेको छ । निकासी हुने कृषि उपजको सूचिमा नरहेको भन्दै भारतले टमाटर निकासी रोकेपछि पाँचथरको हिलिहाङ र याङवरक गाँउपालिकामा उत्पादित करोडौँ मूल्यको टमाटर बोटमै कुहिने अवस्था सिर्जना भएको थियो । संघीय सरकार र प्रदेश सरकारको निरन्तरको पहलबाट टमाटर निकासी तत्कालका लागि खुलेको प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । “टमाटर नेपालबाट भारत निकासी हुने कृषि उपजको सूचिमा नपरेकै रहेछ” मन्त्री आङ्बोले मेची पोष्टसँग भने “भारतमा प्रशस्तै उत्पादन भएको सिजनमा टमाटर निकासी हुने सूचिमा छैन भनेर निकासीमा अवरोध गरिँदै आएको रहेछ ।” भारतले स्वदेशी उत्पादनले नपुग्ने भएको अवस्थामा विना रोकटोक टमाटर आयात गर्दै आएको पाइएको मन्त्री आङ्बोले जानकारी दिए । यस वर्ष भारतमा प्रशस्तै टमाटर उत्पादन भएको तथा माग पूरा गर्ने टमाटर भारतमै उत्पादन हुँदा भारतीय टमाटरको मूल्य कम भएकाले समेत नेपाली टमाटर निकासीमा अवरोध सिर्जना गरिएको पाइएको छ । एक महिनादेखि ठप्प भएको टमाटरको निकासी खोल्न नेपाल र भारतको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयवीच सम्वाद भएको थियो । सम्वादपछि भारत निकासी खोल्न तयार भएको मन्त्री आङ्बोले जानकारी दिए । टमाटर लगायत नेपाली कृषि उपजहरुको भारत निकासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न संघीय सरकारका सहसचिवको नेतृत्वमा कार्यदल समेत गठन भएको छ । कार्यदलले निकासी हुने कृषि उपजहरुको सूचि समेत बनाउनेछ । “कार्यदलले सिफारिस गरेपछि दुई देशका बाणिज्य मन्त्रालयवीच निकासीको समस्या समाधान गर्ने समझदारी हुनेछ” मन्त्री आङ्बोले भने “यस पछि नेपालका कृषि उपजको निकासीमा रहेका समस्या समाधान हुनेछन् ।” प्रदेश सरकारले नेपाली उत्पादनको स्वदेशीमै खपत हुने अवस्था सिर्जना गर्न पहल थालेको मन्त्री आङ्बोको भनाई छ । “स्वदेशमै खपत बढाउनुपर्ने आवश्यकता छ” मन्त्री आङ्बोले भने “यसका लागि बजारिकरण र प्रशोधनको व्यवस्था गर्नुपर्छ । प्रदेश सरकारले बजारिकरण र प्रशोधनको व्यवस्था मिलाउन पहल थालेको छ ।” टमाटरको निकासी खुलाउन पहल गरेको कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले टमाटरको भारत निकासी खुलेको जानकारी दिए । “निकासी खुलेपछि कृषकको पसिना टमाटरको बोटमै कुहिनबाट बचेको र आम्दानी सुरु भएको छ” पोखरेलले भने । यद्यपी विगतमा जस्तै भारतीय भन्सारका कर्मचारी घुस खुवाएर मात्रै टमाटर निकासी गर्न सम्भव भएको उनले वताए । पाँचथरको हिलिहाङ गाँउपालिका र याङवरक गाँउपालिकामा बर्षेनि करोडौँ मूल्य बराबरको टमाटर उत्पादन हुने गरेको छ । टमाटरको निकासी रोकिँदा यस क्षेत्रका कृषक मारमा परेका थिए । कृषकहरुले केही समय अघि विरोध स्वरुप विक्री हुन नसकेको टमाटर सडकमा फालेर विरोध समेत जनाएका थिए । यस्तै व्यापार प्रवद्र्धन केन्द्रका उपनिर्देशक सहितको टोलीले कृषकको समस्या स्थानीय स्तरमै पुगेर बुझेको थियो । पूर्वी पहाडमा उत्पादित कृषिजन्य उत्पादन झापाको कृषि थोक बजार हुँदै पश्चिम बंगालको सिलिगुडी निर्यात हुने गरेको छ । पाँचथर हिलिहाङ गाउँपालिका १, २, ३, ४, ६ र ७ नम्वर वडा तथा याङवरक गाउँपालिकाका वडा नं. ५ र ६ मा करिव १२ हजार किसानले व्यवसायिक रुपमा टमाटर उत्पादन गर्ने गरेका छन् । १० वर्ष अघिवाट व्यवसायिक रुप लिएको त्यस क्षेत्रको टमाटरवाट गत साल मात्रै रु. १५ करोड वढीको आम्दानी भित्रिएको कृषकहरुको भनाई छ । तर, यस वर्ष निकासीमा विभिन्न कारण देखाई भएको अवरोधपछि करिब रु. एक करोड रुपैँया मूल्यको टमाटर विक्री भएको उनीहरु वताउँछन् । हिलिहाङ र याङवरक गाँउपालिकामा मात्रै करिव १५ सय घरधुरी किसानहरुले अन्य वालीको विकल्पमा टमाटर उत्पादन गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Panchthar

0 Comments