Incident Reports

महिनामा ४/५ पटक ट्राफिकलाई जरिवाना तिर्छिन् नागरिकता नपाएकी नितु

2019-01-29

Nepal

धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलकी नितु कर्णलाई अफिसको कामका लागि ओहोरदोहोर गर्न ६ महिनाअघि एकदमै समस्या हुन्थ्यो।

समस्या सुल्झाउन उनले स्कुटी किनिन्। अफिस जान आउन सजिलो त भयो तर त्यस दौरान उनले खेप्नुपर्ने दुख झन् थपिए।  

अचेल उनी पटक/ पटक जरिवानामा तिर्नुपर्ने चालकमा दर्ज भएकी छन्।

विगत ६ महिनादेखि स्कुटी चलाउँदै आएकी नितु महिनामा लगभग ४ देखि ५ पटकसम्म ट्राफिकलाई जरिवाना तिरेकै हुन्छिन्।

किन भने उनको लाइसेन्स छैन।

लाइसेन्स नभएकै कारणले उनले यो ६ महिनामा ट्राफिकलाई २० हजार जरिवान बुझाइन्। नितुले लाइसेन्सको परीक्षा जानिजानि नदिएर २० हजार जरिवाना तिरेको भने होइनन्।

त्यो परीक्षामा सामेल हुनै पाउँदिनन्। किनभने उनको नागरिकता छैन। आफ्नै देशमा नागरिकता नपाउनुको सजाय मध्ये पटकपटक ट्राफिकलाई तिरिरहनुपर्ने जरिवाना एक हो।

‘यो त समस्याको एक पाटो मात्रै हो नागरिकता नभएर न त मैले धेरै पढ्न सक्छु न त  सरकारी जागिरका लागि प्रयास नै गर्न सक्छु,’ नितुले सेतोपाटीसँग भनिन्।

२१ वर्षीया नितु नागरिकताको प्रमाणपत्रका लागि सरोकारवाला निकाय धाउँदा धाउँदै दिक्क भैसकिन्। नागरिकताको प्रमाणपत्र बनाउन जाँदा  उनले जिल्ला प्रशासन कार्यालय धनुषाबाट एउटै जवाफ पाउँछिन्-  तिमीले नागरिकता पाउन सक्दैनौँ।’

किन भने उनी नेपाली आमाकी सन्तान हुन्। उनलाई हुर्काएको बढाएको उनैले हो। तिनै आमाको नागरिकता लिएर उनी आफ्नो नागरिकता बनाउन जाँदा प्रशासन बाट यस्तो जवाफ पाउँछिन्।

उनलाई प्रशासनले केही समय कुर्न भनेको छ। आमाको नामबाट मात्र पनि नागरिकता पाइने व्यवस्था भएको विधेयक संसदबाट पास नभएकाले अहिलै पाइँदैन केही समयपछि पाइन्छ भन्ने प्रशासनको जवाफ हुन्छ। सिडिओले त उनलाई आफ्ना सांसदकहाँ जान पनि सुझाए।

‘अहिलेसम्म ४ देखि ५ पटकसम्म सिडियो समक्ष आफ्नो कुरा राखिसकेकी छु तर उहाँको जवाफ एउटै हुन्छ-मलाई के भन्छौ जाउ तिम्रो जिल्लाबाट जितेर गएका सांसदहरूलाई गएर भन नियम कानुन बनाउन,’ नितुले भनिन्।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आमाको नाममा नागरिकता हुने व्यवस्थासम्बन्धी विधेयक संसदमा टेबुल भएकाले पास भएपछि नागरिकता प्रदान गरिने बताए।

‘यदि आमा वा बुवा विदेशी छन् भने उक्त नागरिकका सन्तानले अंगिकृत नागरिकता पाउने छन् तर विधेयक अहिलेसम्म संसदबाट पारित भएको छैन चाँडै नै पास हुन्छ भन्ने जानकारी हामीले पाएका छौं, त्यसैले नागरिकता नभएकाहरू केहीदिनमै यस समस्याबाट छुटकारा पाउनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं।’

आमा नेपाली नागरिक भएर पनि आफूले नागरिकता पाउन नसकेकोमा नितु आक्रोशित छिन्। आफू अनागरिक हुनु परेका कारण आत्मसम्मान र स्वाभिमानमा चोट पुगेको बताउँछिन्।

'लोकतन्त्रमा नागरिक अधिकारलाई सर्वोपरी मानिन्छ। म भने एउटा लाइसेन्स बनाउन, मोबाइल सिम लिन र बैंकमा खाता खोल्न समेत नसक्ने अवस्थामा छु,' नितुले भनिन्।

संविधानले आमा वा बुवा नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता पाउन सकिने व्यवस्था गरे पनि आमाको नामबाट नागकिता लिन अझै असहज छ ।

अधिवक्ता राजकुमार महासेठ कानुनले पितृसत्ता हटाउनेखाले व्यवस्था ल्याए पनि कर्मचारीतन्त्रबाट यस्तो मानसिकता हट्न नसकेका कारण समस्या भएको बताउँछन्।

‘आमाको नामबाट नागरिकता नदिनुको कारण पनि यही हो,’ उनले भने।

सर्वोच्च अदालतले बुवाको पहिचान नखुलेकै आधारमा नेपाली आमाका सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने यस अघि नै ठहर गरिसकेको छ। तर व्यवहारमा भने लागु हुन सकेको छैन। कानुन नै बनिनसकेकाले यस्ता समस्याहरू आएको अधिवक्ता महासेठ बताउँछन्।

नागरिकता नहुँदा स्कुल तहसम्मको मात्रै शिक्षामा सीमित हुनुपर्ने, अंश नपाउने, सीप हुँदाहुँदै पनि जागिर नपाउने, पाइहाले पनि कार्यालयले नागरिकता बिना नियुक्ति दिन नमान्नेजस्ता समस्याबाट नितु जस्तै धेरै पीडित छन् ।

National/Online Media

0 Comments

Related Trend Analysis