Incident Reports

मगरको घरभित्र पसेको निहुँमा दलित युवालाई १५ सय जरिवाना

2020-05-04

Lumbini, Gulmi, Kaligandaki, Ward 5

गुल्मीकाे कालिगण्डकी गाउँपालिका– ५ फोक्सिङका एक दलित युवालाई गैरदलितको घरमा पसेको भन्दै स्थानीय गैरदलितले १५ सय रुपैयाँ जरिवाना तिराएका छन्। 

फोक्सिङ रिमका नेत्र काउचा (मगर) को घरमा पसेको भन्दै सोही ठाउँका श्यामबहादुर परियार (दलित)लाई स्थानीयले सजायस्वरूप १५ सय रुपैयाँ जरिवाना गरेका हुन्।

मगरको घरभित्र दलित पसेपछि घर अपवित्र भएको भन्दै पूजापाठ लगाउन भनेर आफूसँग जरिवान असुलिएको पीडित श्याम परियारले बताए। कसैलाई जातीय छुवाछुतको आरोपमा जरिवाना गर्नु गम्भीर मानव अधिकारी उल्लंघनको विषय हो।

घटना २२ वैशाखको हो। स्थानीय माया परियारको मृत्यु भएपछि श्याम उनकै दाहसंस्कारमा गएर घर फर्कँदै थिए। बाटोमा ठूलो हावाहुरीसहित पानी पर्‍याे। उनी ओत खोज्दै नेत्र काउचाको घर पुगे। एकछिन घरको बलेनीमा बसे। तर, हुण्डरीले बाहिर बस्ने अवस्था नभएपछि बाध्य भएर घरका मानिसलाई सोधेरै उनी घरभित्र छिरे। आफू ज्यान जोगाउन घरभित्र पसेको परियारको भनाइ छ।

हावाहुण्डरी र पानी पर्न रोकिएपछि उनी आफ्नो घर गए। तर, केहीबेरमै उनलाई गाउँका केही मगर समुदाय व्यक्तिले नेत्र काउचाको घरमा बोलाएर जबर्जस्ती कागज गराएर जरिवाना तिराएका हुन्।

श्याम परियार घरमा पसेपछि केहीबेरमै गाउँमा खैलाबैला मच्चियो। घरधनी नेत्र काउचाले दाजुभाइ जम्मा गरे। सबैको सल्लाहमै श्यामबहादुर परियारलाई जरिवाना गरिएको छिमेकी सन्तबहादुर काउचाले बताए।

‘कानुनी व्यवस्था जे भए पनि गाउँघरमा दलितले गैरदलितको घरमा पस्न पाइँदैन,’ सन्तबहादुरले भने, ‘गाउँको घटना गाउँमै मिलाउन हामीले दलित परिवारकै सहमतिमा थोरै जरिवाना तोकेका हौँ।’ पीडित परिवारले सात हजार जरिवाना लिन चाहेका भए पनि सन्तबहादु विपन्न भएकाले १५ सयमा कुरो मिलाएको उनको दाबी छ। ‘त्यो जरिवाना पनि घर शान्ति गर्न हो, अरू कामको लागि होइन, पूजापाठ गर्न हो,’ उनले भने।

जातीय छुवाछुतसहित जरिवाना गरिएका युवा गाउँ कार्यपालिका सदस्य कौशिला परियारका छोरासमेत हुन्। आफू माइली आमा बितेको शोकमा भएको वेला छोरालाई जातीय छुवाछुतसहित जरिवाना गरिएको गुनासो कौशिलाले गरिन्।

‘गाउँले सबै एकजुट भएर दबाब दिँदै जरिवाना गरेका छन्,’ उनले भनिन्, ‘त्यतिवेला म माइली आमाको काममा भएकाले केही गर्न सकिएन। हामीमाथि अन्याय भएको छ। अब न्यायको लागि पहल गर्छु।’

कालिगण्डकी गाउँपालिका– ५ का वडाध्यक्ष थम्मनसिंह आलेले त्यतिवेला आफूलाई घटनाको विषयमा कसैले जानकारी नदिएको बताए। उनले पीडित पक्षलाई भेटेर वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको जानकारी दिए। तर, अहिलेसम्म पीडित पक्षले कानुनी उपचारका लागि निवेदन दिएका छैनन्।

घटनाको विषयमा शुक्रबार विभिन्न मानव अधिकारवादी संस्थाका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई भेटेर ध्यानाकर्षण गराएका छन्।

उनीहरूले जातीय छुवाछुत गर्नेलाई कानुनी कारबाही गर्न माग गरेका छन्। प्रजिअ शर्माले घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
INSEC

0 Comments