Incident Reports

हत्याको आरोपमा झुटो जाहेरी दिने विरुद्ध सार्वजनिक मुद्दा दर्ता l

2014-04-21

Province 1, Okhaldhunga, Champadevi

Shiva Prasad Dhungana ओखलढुङ्गा । ०७० वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले झुटो जाहेरी दिने विरुद्ध वैशाख ८ गते सार्वजनिक मुद्दा दर्ता गरेको छ । ज्ञानबहादुर माझीको हत्या आरोपका पीडितले दिएको जाहेरीका आधारमा सार्वजनिक मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भगीरथ रेग्मीले जानकारी दिए । पलापु गाविस-८ का ज्ञानबहादुर माझीलाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी गर्ने, मारेको बयान गर्ने र योजना बनाउने १९ जना विरुद्ध किटानी जाहेरी आएको प्रहरीले बतायो । आफू विरुद्ध झुटो आरोपमा किटानी जाहेरी दिने र यातना दिएर अभियोग स्वीकार गर्न लगाउने विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको पीडित मदन माझीले बताए । उजुरीमा झुटो जाहेरी दिने भूपाल माझी, अपहरण योजना बनाउने स्थानीय शिक्षक हरिप्रसाद भण्डारी, भागेर पाँच महिना बेपत्ता भएका ज्ञानबहादुर माझी, यातना दिएर अभियोग स्वीकार गर्न लगाउने पेशल मगर, तिलक घिमिरे, विनिता माझी, चण्डीका माझी, च्याउँकी माझी, शोभा माझी, गोमा माझी, चिनी माझीलाई विपक्षी बनाइएको छ । आरोपितहरुले अपहरणपछि हत्या गरेको षड्यान्त्रपूर्ण योजना बनाएर पीडितहरुलाई कुटपिट गरी अभियोग स्वीकार गर्न लगाएका थिए । त्यस्तै उक्त घटनामा संलग्न रहेका गणेश माझी, शंकर माझी, डम्बरबहादुर सुनुवार, चन्द्रबहादुर माझी, शंकर माझी र शुकवीर माझीलाई विपक्षी बनाएर जाहेरी दिएको पीडित कमल माझीले जानकारी दिए । अपहरण तथा हत्याको नाटकीय योजना बनाएर प्रहरी र स्थानीयलाई फसाउने विरुद्ध अन्य कानुनी कारबाही गर्न सकिने प्रावधान नभएपछि सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माझीको हत्या गरेको भन्दै परेको जाहेरीका आधारमा प्रहरीले पलापु गाविसका चित्रबहादुर माझी, कमल माझी, मदन माझी र सुरेन्द्र माझी विरुद्ध ज्यान मार्ने अभियोगमा ०७० माघ २८ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । जिल्ला अदालतले फागुन ४ गते पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेपछि उनीहरुमध्ये चित्रबहादुर, कमल र सुरेन्द्र थुनामा थिए । उक्त घटनामा मारिएका भनिएका ज्ञानबहादुर ०७० चैत ३० गते सकुशल घर फर्किएपछि आरोपित निर्दोष भएको खुलेको थियो । अपहरण गरेर मारेको भनिएका व्यक्ति स्वयम् उपस्थित भएपछि जिल्ला अदालतले आरोपितहरुलाई वैशाख ३ गते तारेखमा छोडेको थियो । शिवप्रसाद ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis