Incident Reports

महोत्तरीका सिडिओले देखाए तानाशाही प्रवृत्ति, विरोध गर्नेलाई थुने

2021-09-20

महोत्तरी । इञ्जिनियर कलेज बनाउने भन्दै जनताको उर्वर जमिन लिइन्छ । जग्गा परेका हरेक घरका एक जनालाई निशुल्क इञ्जिनियर पढाउने बचन पनि दिइन्छ । छोराछोरी इञ्जिनियर बन्ने लोभमा मनग्ये धान फल्ने उर्वर जमिन कलेजलाई सुम्पन्छन् गाउँलेले । तर न कलेज नै बन्छ नत आफ्ना छोराछोरीहरुको इञ्जिनियर बन्ने सपनाको संकेतहरु नै देखिन्छन् । उल्टै वर्षौंदेखि त्यतिकै राखेको जमिनको माटो ठूलो खाल्डो खनेर जिल्ला प्रशासन कार्यालयको जमिन पुर्न उठाइन्छ । कलेज पनि नबनेपछि चित्त दुखाएका जमिनवालाहरु माटो उठाएपछि विरोधमा उत्रन्छन् । तर सिडिओ साब अर्थात प्रमुख जिल्ला अधिकारीको आदेशमा विरोधमा उत्रिएका केहीलाई समातेर थुनिन्छ । जिल्लामा चल्ने सिडिओ साबकै हो । देशमा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि जनताको नभइ जिल्लामा अझै पनि सिडिओ साबकै राज चल्दै आएको चर्चा यो घटना पनि महोत्तरीमा सर्वत्र बनेको छ । गणतन्त्रको यो कालमा पनि जिल्लामा सिडियो र एसपीको नै राज चल्छ । उनीहरुले जिल्लामा आफूले भनेकै कुरा कानून हो र आफूले गरेको कुरा नै सही हो भन्ने भावना र अहम अझै उस्तै छ । उनीहरुले गरेको कामकाजको विरोध गर्नेलाई हप्काउने, गालीगर्ने र थुनामा समेत राख्ने गरेको पाइएको छ । पछिल्लो पटक महोत्तरीको सिडियो तीर्थराज भट्टराईले गरेको एउटा कार्य निक्कै निन्दनीय बनेको छ । महोत्तरीका सिडियो तीर्थराज भट्टराईले आईतवार सदरमुकाम जलेश्वरमा अवस्थित मणिपाल कलेजको ३६ विगाह भन्दा बढी जग्गाबाट जथाभावी माटो उत्खनन गर्दा विरोध गर्ने दुई स्थानीयवासीले पक्राउ गरि थुनामा राखेका छन् । करिब ३० वर्ष अघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरीसहितका गाउँलेहरुको अन्नको भण्डारको रुपमा रहेका करोडौ मूल्यको ३६ विगहा बढी जग्गा किसानहरुले मणिपाललाई ईन्जिनियरिङ्ग कलेज निर्माणका लागि दिएका थिए । प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क ईञ्जिनियरिङ्ग पढाउने सर्तमा मणिपालले किसानहरुको जग्गामात्र १० हजार प्रतिकट्ठाका दरले लिएको थियो । तर अहिलेसम्म मणिपालले त्यहाँ कलेज निर्माण गरेका छैन भने किसानहरुको बहुमूल्य जग्गा बञ्जर बन्दै गएको छ । मणिपालले धेरैजसो संरचना समेत निर्माण गरिसकेको, जग्गाहरुमा माटो पुरिसकेको र खालीजग्गामा २÷३ गाउँका बासिन्दाहरुले वस्तुभाऊ चराउने जस्ता कामहरु गर्दै आएका छन् । किसानहरु अझै पनि मणिपालले कलेज निर्माण गर्ने र आफ्ना छोराछोरीहरु ईन्जिनियर बन्ने आशा बोकेका छन् । यसैबीच महोत्तरीका सिडिओ भट्टराईले जग्गादाता किसान, नगर प्रमुख अथवा कोही कसैसँग कुनै सोधपुछ वा समन्वय नै नगरी जथाभावी रुपमा ठूलो खाल्डो खनेका छन् । सिद्धबाबा कन्स्ट्रक्सनलाई भट्टराईले माटो खन्न लगाएका छन् । सिडिओ भट्टराईले गहिरो र लामो खाल्डो खनाएकाकारण सो स्थानमा ३÷४ गाउँबाट दैनिक रुपमा वस्तुभाऊ चराउनका लागि आउने बालबालिका र सर्व साधारण डुब्ने खतरा बढेको छ । आईतवार वडा नं. ८ बजराहीगाउँका किसान तथा जग्गादाताहरु गएर माटो खन्ने विरोध गर्दा प्रहरी खटाएर उनीहरुलाई लखेटिएको छ । विरोध गर्ने स्थानीय सञ्जीत पाठक र सुवास झालाई पक्राऊ गरी जिल्ला प्रहरी कार्यालयको थुनामा राखिएको थियो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको अवस्थामा कुनै गलत कामको विरोध गर्ने जनताको अधिकारको सिडिओ भट्टराईले आफ्नो तानाशाह प्रवृति देखाउँदै हनन गरेको आरोप स्थानीयको छ । माटो उत्खनन स्थलमा खटिएका सिद्धबाबाका कामदारले आफूहरु सिडिओ र जलेश्वरका मेयर बीचको समन्वय पश्चात यहाँबाट माटो उत्खनन गरेको बताए । तर यस विषयमा जलेश्वरका मेयर रामशंकर मिश्रले भने माटो उत्खनन कार्य आफ्नो अधिकार क्षेत्रको नभएको बताएका छ्न । उता सिडियो भट्टराईले भने गरेको कामको विरोध गर्नेलाई थुनामा राख्ने अधिकार पनि आफुसंग रहेको बताए । क्यामरामा बोल्न अस्वीकार गरेका सिडिओ भट्टराईले विकास निर्माणको काममा विरोध उचित नहुने दावी समेत गरे ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments