Incident Reports

जुम्लामा अन्तरजातीय विवाहपछि दलित युवकको घरमा आगजनी

2023-07-02

Karnali, Jumla, Tatopani, Ward 4

सुर्खेत । जुम्लामा अन्तरजातीय बिहेको विषयलाई लिएर दलित युवकको घरमा आगजनी गरेको भन्दै मुद्दा दर्ता भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय जुम्लाले मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तातोपानी गाउँपालिकाका २१ वर्षीय मुकुन्द नेपालीले स्थानीय एक किशोरीलाई भगाएपछि विवाद उत्पन्न भएको हो । मुकुन्दले उच्च जातकी स्थानीय नाबालिग किशोरीलाई भगाएको प्रहरीको भनाइ छ । सोही घटनापछि किशोरीका दाजुसहित परिवारका सदस्यले उनको घरमा आगो लगाएका हुन् ।

आगजनीको विषयमा तातोपानी गाउँपालिका–४ का स्थानीय तीन जना विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मुद्दा दर्ता गरिएकाहरुमा किशोरीका दाजु, काका र बुबा छन् ।

किशोरीका दाजु गत शनिबार साँझ काठमाडौँबाट गाउँमा पुगेका थिए । उनीसहितकाले आइतबार बिहान ४ बजेतिर नेपालीको घरमा आगो लगाएको भन्दै उजुरी परेपछि मुद्दा दर्ता भएको हो ।

मुकुन्दका दाजु भरत नेपालीले आफ्नो भाइले बिहे गरेको केटीकै परिवारको संलग्नतामा घरमा आगो लगाइएको भन्दै तीन जनाविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

जुम्लाका प्रहरी सहायक निरीक्षक राजु सार्कीले केटी पक्षका तीन जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको बताए । साथै किशोरीका दाजुले आवेगमा आएर घरमा आगजनी गरेको स्वीकार गरिसकेको र मुद्दा दर्तापश्चात अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को उपदफा ३(घ) र उपदफा ४ बमोजिम तथा मुलुकी अपराध संहिता २०७४ को दफा १६६ को उपदफा १ र उपदफा २(१) बमोजिमको सजायको माग गरी मुद्दा दर्ता गरिएको छ ।

मुकुन्द र ती किशोरी एउटै गाउँका बासिन्दा हुन् । मुकुन्द कक्षा १२ पास । सदरमुकाम खलंगामा बसेर उनी पढाइ गर्थे । किशोरी भने गाउँमै थिइन् । उनीहरु बीच दुई वर्ष अघिदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ ।

असार ११ गते मुकुन्दले ती किशोरीलाई बिहे गर्ने भन्दै भगाए । घरबाट भागेका उनीहरु कहाँ छन् भन्ने पत्तो छैन ।

किशोरीका परिवारले नाबालिगलाई विभिन्न प्रलोभनमा पारी भगाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सोही क्रममा मुकुन्दको घरमा आगजनी गरिएको किशोरीका दाजुले नै प्रहरीसमक्ष स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए ।

‘मैले रिसको झोकमा आगो लगाएको हो,’ प्रहरी समक्ष किशोरीका दाजुले दिएको बयान उद्धृत गर्दै जुम्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीले केटी पक्षका परिवारले असार १३ गते नै जिल्ला प्रहरी कार्यालयमा खोजतलास सम्बन्धी निवेदन दिएको जानकारी गराए । यद्यपि उक्त विषय बाहिर आएको थिएन ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Others types of mob justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments