Incident Reports

कालिकोटका २ गाविसमा रुघाखोकीको संक्रमण

2015-04-22

Karnali, Kalikot, Pachaljharana

 जिल्लाका २ गाविसमा फैलिएको रुघाखोकीले डेढ सयभन्दा बढी बिरामी परेका छन्। मेहेलमुडी ५ तिकुवा तथा राम्नोकोट ७, ८ र ९ मा पर्ने खार्दु गाउँमा संक्रमण फैलेको हो। सदरमुकाम मान्मबाट तिकुवा करिब ८ घण्टा र खार्दु एक दिनको पैदल दूरीमा छन्। रुघाखोकीपछि निमोनियाँ हुँदा राम्नाकोट ७ का कृपा कठायतकी ३ वर्षीया छोरी रीनाको मृत्यु भएको छ। खार्दु पहिरोको उच्च जोखिममा रहेको बस्ती पनि हो। खार्दुका हरेक घरमा बिरामी रहेको स्थानीय शिक्षक मोहनवीर कठायतले बताए। 'गाउँमा सद्धे कोही छैन,' कठायतले भने, 'मेरो परिवारका सबै १८ जना बिरामी छन्।' गाउँमा औषधि नपुगेको उनले बताए, कसैको खकार र रगत परीक्षण हुन सकेको छैन। अधिकांश शिक्षक, विद्यार्थी पनि बिरामी परेकाले विद्यालय आउन नसकेको खार्दुस्थित जनता माविकी शिक्षक राधिका बराल न्यौपानेले बताइन्। 'म पनि बिरामी छु,' उनले टेलिफोनमा भनिन्, 'कुनै घरमा त सबै थला परेका छन्।' गत चैत दोस्रो सातादेखि संक्रमण सुरु भएको उनले जानकारी दिइन्। टाउको दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने र जोर्नी दुख्ने लक्षण देखिएको छ। 'परीक्षण गर्ने ठाउँ छैन,' मेहेलमुडी ५ का वीरबहादुर बोहराले भने, 'भारतबाट आएका व्यक्ति बिरामी परेपछि गाउँभरि फैलिएको हो।' उनका अनुसार ३२ वषर्ीय मोहन ऐडी सुरुमा बिरामी परे, उनको परिवारका सबैमा संक्रमण देखियो। त्यसपछि गाउँभर फैलिएको हो। उनी गत चैत २४ मा घर आइपुगेका थिए। सोमबार २ स्वास्थ्यकर्मीले गाउँमा आएर केही बिरामीलाई औषधि वितरण गरेको उनले जानकारी दिए। बालबालिका, वृद्धवृद्धा र महिला बढी प्रभावित छन्। अधिकांश विद्यार्थी बिरामी परेपछि स्थानीय जनज्योति निमावि सोमबारदेखि बन्द छ। राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गर्न तिकुवा पुगेका सभासद महेन्द्रबहादुर शाहीले त्यसबारे जिल्ला प्रशासनमा जानकारी दिएका थिए। 'बिरामी र औषधिबारे सोधीखोजी गरेर व्यवस्थापन गर्न जिल्ला स्वास्थ्यलाई लिखित निर्देशन दिएका छौं,' प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले भने, 'स्वास्थ्य सेवा विभाग र मन्त्रालयमा पनि खबर गरेका छौं।' सोमबार ७१ जनाको स्वास्थ्य परीक्षण गरिएकामा १२ मा भाइरल ज्वरो, ५ मा दम र अन्यलाई सामान्य रुघाखोकी लागेको पाइएको मुम्रा प्रहरी चौ कीलाई उद्धृत गर्दै प्रजिअ श्रेष्ठले बताए। तीमध्ये ३ जना सिकिस्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। निमित्त जिल्ला स्वास्थ्य प्रमुख हरिबहादुर छेत्रीका अनुसार सदरमुकामबाट औषधि र कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. ललितजंग शाही मंगलबार साँझसम्ममा तिकुवा पुग्दैछन्। खार्दुमा १५/२० जना मात्र बिरामी रहेको उनको भनाइ छ। खार्दुमा धौलागोह र खिनको एकीकृत घुम्ती शिविरमा गएको जिल्ला स्वास्थ्य प्रमुखसहितको टोली उपचारका लागि जाँदै गरेको उनले जानकारी दिए। जिल्ला अस्पताललगायत स्वास्थ्य संस्थालाई सतर्कता अपनाउन परिपत्र गरिएको र स्थानीय एफएममार्फत सूचना प्रसारण गरिरहेको उनले बताए।

0 Comments