Incident Reports

चक्काजाम अाह्वानविरुद्ध गृहको कडा चेतावनी

2016-05-25

Bagmati, Kathmandu, Kathmandu

ट्राफिक नियम मिचेको जरिवाना रकम बढाएको विरोधमा चक्काजाम गर्ने घोषणा गरेका यातायात व्यवसायी तथा मजदूर संगठनहरुको घोषित कार्यक्रमविरुद्ध मंगलबार गृह मन्त्रालयले कडा चेतावनी दिएको छ। गृह मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन र विरोधको नाममा संविधान र प्रचलित कानुनविरुद्ध जानेलाई कडा कारवाही गर्ने जनाएको हो। जेठ १३ गते देशव्यापी चक्काजाम गर्ने भनी व्यवसायी तथा यातायात मजदूर संगठनको नाममा गरिएको घोषणाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सर्वसाधारणलाई मर्कामा पार्ने गरी अान्दोलन घोषणा गर्नेलाई कारवाही हुने उल्लेख गरेको हो। 'यस्ता आन्दोलन तथा विरोधका कार्यक्रम गर्दा आम नागरिकका निर्वाध रुपमा उपभोग गर्न पाउने मौलिक हक कुन्ठित हुन नदिनेतर्फ सजग रहन सबैमा जानकारी गराइन्छ', विज्ञप्तिमा भनिएको छ, 'आन्दोलन र विरोधका नाउँमा संविधान तथा प्रचलित कानुनविपरितका क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कारवाही हुनेछ।' सडकमा मनपरी सवारी हुइँक्याइरहेका चालक तथा यातायात व्यवसायी सडक नियम व्यवस्थित गर्न सरकारले नयाँ कानुन ल्याएको थियो। त्यो विरुद्ध यातायात व्यवसायी तथा मजदूरहरु आन्दोलनमा उत्रिएका हुन्। सिन्डिकेटका बलमा सडक अनुशासन मिच्दै आएका व्यवसायी तथा मजदुर संगठनले संशोधित कानुन खारेजी माग गर्दै सोमबारबाट १३ गतेसम्म पहिलो चरण आन्दोलन घोषणा गरेका छन्। यातायातसम्बद्ध व्यवसायी र मजदुरका आठ संगठनले नियम मिच्न पाउनुपर्ने आशयका माग अघि सार्दै यात्रुलाई मर्का पर्ने गरी देशव्यापी चक्काजामसम्मका कार्यक्रम तय गरेको सन्दर्भमा गृह मन्त्रालयले मंगलबार कडा चेतावनी दिएको हो।

0 Comments