Incident Reports

खोला सफाई गर्दा अत्याधुनिक हतियारका गोली भेटियो

2016-06-11

Gandaki, Kaski, Pokhara Lekhnath

फेवाताललाई फोहोर हुनबाट बचाउने उद्देश्यसाथ फिर्के खोला सरसफाई गर्ने क्रममा शनिवार अत्याधुनिक हतियारको गोली फेला परेको छ । पोखरा ८ को फिर्के तमु समाजले सरसफाई गर्ने क्रममा एसएलआरमा प्रयोग हुने ७.६२ एमएमको २४ राउन्ड र ब्राउनिङ पेस्तोलमा प्रयोग हुने ९ एमएमको २ राउन्ड गोली भेटिएको हो । 'निलो कपडाको थैलीमा गोली फेला परेको हो,' कास्की प्रहरीका प्रवक्ता निरीक्षक गणेश बमले भने । गोली भेटिएपछि स्थानीयले नजिकैको सशस्त्र प्रहरीको कालीका गणमा खबर गरेका थिए । पछि नेपाल प्रहरीलाई खबर भएपछि वडा प्रहरी कार्यालय बैदामको टोली पुगेर गोली नियन्त्रणमा लिएको थियो । कास्की प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले फोहोरसंगै गोली भेटिएको तर कसले किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । 'कतैबाट खोलाले बगाएर ल्याएको हुनसक्छ । कसैले लुकाएको पनि हुनसक्छ,' उनले भने, 'प्रहरीको यस्तो प्रकारको गोली हराएको भन्ने जानकारी छैन । अनुसन्धानपछि थप कुरा खुल्ला ।'

0 Comments