Incident Reports

भैरवनाथ गण प्रकरण : पूर्वराजा, ओली र देउवाविरुद्ध कारवाही माग

2016-06-14

Bagmati, Kathmandu, Kathmandu

सत्य निरुपण तथा मेलमिलाप आयोगमा तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा लगायतलाई कारवाही माग गर्दै उजुरी परेको छ। सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएका दमक–१ का पुष्पराज तथा धिरेन्द्र बस्नेतका परिवारले सोमबार दर्ता गराएको उजुरीमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा, गृहमन्त्री कमल थापा, तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललाई पनि विपक्षी बनाइएको छ। २०६० मंसिरमा सादा पोशाक सुरक्षाकर्मीले कालिमाटी र कलंकीबाट पक्राउ गरी उनीहरुलाई महाराजगञ्जस्थित तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गणमा लगेर यातना दिएको र त्यहीँबाट बेपत्ता पारेको उजुरीमा उल्लेख छ। सत्य निरुपणमा दर्ता गराएको निवेदनमा तत्कालीन प्रधानसेनापति प्याराजंग थापा, भैरवनाथ गणका तत्कालीन लेफ्टिनेन्ट कर्नेल राजु बस्नेत, मेजर विवेक विष्ट, क्याप्टेन इण्डिदवर राणा लगायत दोषी औंल्याउँदै हदैसम्मको सजाय माग गरिएको छ। सेनाले बेपत्ता पारेका पुष्पराज र धिरेन्द्र दाजुभाइ हुन्। उनीहरुका पिता भीमबहादुरले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका हुन्। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले सन् २००६ मा प्रकाशित गरेको प्रतिवेदनमा धीरेन्द्र र पुष्पराज भैरवनाथ गणमै भएको उल्लेख गरेको थियो। प्रतिवेदनले भैरवनाथ गणमा थुनामा राखिएका १५ जनासँग बयानको आधारमो पुष्पराजलाई सोही स्थानमा भएको किटान गरेको थियो। 'पुष्पराज बस्नेतसँगै राखिएका विभिन्न १५ जनाव्यक्तिहरुले आयोगमा बयान गरी निज पुष्पराज बस्नेतलाई भैरवनाथगण काठमाडौंमा आफुहरुसँगै थुनामा राखिएको अवस्थामा भेटेको भनी बयान दिएको पाइयो', उच्चायुक्तको प्रतिवेदनले औंल्याएको थियो। भैरवनाथ गणमै धीरेन्द्र र पुष्पराजका आफ्नै भाइ वीरेन्द्रलाई पनि सँगै राखिएका थिए। त्यहाँ हुँदा आफ्ना भाइहरुलाई भेटेको वीरेन्द्रले बताउँदै आएका छन्। यसैगरी सोही स्थानमा सेनाले थुनेर राखेका कृष्ण केसी, बिना मगर, रमेश गुरागाइँ लगायतले बाहिर आएपछि पुष्पराजलाई प्रत्यक्ष देखेको उल्लेख गर्ने गरेका छन्।

0 Comments

Related Reports