Incident Reports

द्वन्द्वकालीन घटनाको सत्य अन्वेषणका लागि उजुरी दिन आयोगको अनुरोध

2016-06-19

द्वन्द्वकालीन घटनाको सत्य अन्वेषण गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिन राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वपीडितलाई अनुरोध गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्ज र मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस)द्वारा असार ३ गते खलङ्गामा आयोजित स्थानीय शान्ति समितिका पदाधिकारी र सरोकारवाला निकायबीच द्वन्द्व रूपान्तरण सङ्क्रमणकालीन न्याय प्रक्रिया र समितिको भूमिका विषयक कार्यशालमा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले उक्त अनुरोध गरेका हुन् । सत्यनिरूपण तथा मेलमिलाप आयोगले साउन २ गतेभित्र द्वन्द्वकालीन घटनाको छानबिन तथा घटना अनुसन्धान गर्ने भन्दै स्थानीय शान्ति समितिको कार्यालयमार्फत उजुरी दर्ताका लागि आह्वान गरेको छ । गम्भीर प्रकृतिका घटना तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी महासन्धीविरूद्वका घटनाका दोषीलाई कारबाहीको लागि सिफारिस गर्न आयोगले आह्वान गरेको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक खरेलले जानकारी दिए । अन्तर्राष्ट्रिय कानुन बमोजिम नेपाल सरकारले सत्यको अन्वेषण र समाजमा मेलमिलाप गराउन अनिवार्य रहेको निर्देशक खरेलले बताए । स्थानीय शान्ति समिति प्यूठानका अनुसार हालसम्म ५ सय ६१ उजुरी दर्ता भएका छन् । जिल्लामा कूल ७ सय २७ जना द्वन्द्वपीडितको तथ्याङ्क रहेको स्थानीय शान्ति समितिका कार्यालय सचिव कमल थपलियाले बताए । इन्सेकको अभिलेख अनुसार प्युठानमा सशस्त्र द्वन्द्वको क्रममा १ सय १० जनाको हत्या भएको छ ।

0 Comments

Related Reports