Incident Reports

भूकम्पमका कारण ज्यान गुमाएका मृतकका परिवारले अझै राहत पाउन नसकेको गुनासो

2016-08-22

Bagmati, Sindhuli, Kamalamai

गत वर्ष वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएका परिवारले अझै राहत पाउन नसकेको एक कार्यक्रममा पीडितले गुनासो गरेका छन् । इन्सेक सिन्धुली र मानव अधिकार सञ्जाल सिन्धुलीले भदौ ६ गते सिन्धुलीमाढीमा आयोजना गरेको भूकम्पपीडितको राहत तथा पुनःनिर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले यस्तो गुनासो गरेका हुन् । कमलामाई नपा-६ पानीट्याङ्कीका हेमबहादुर भुजेलले भूकम्पका कारण ज्यान गुमाएकी आमाको नाममा आउने राहत रकम हालसम्म पनि नपाएको गुनासो गरे । प्रहरीले नबनाइदिएका कारण आफूले राहत नपाएको उनको गुनासो छ । भूकम्पका कारण घाइते भएकी ७० वर्षीया आमाको सिन्धुली अस्पताल र भरतपुर अस्पतालमा उपचार गरेको प्रमाण रहेको, उपचारका क्रममा ०७२ असार ११ गते मृत्यु भएको र सबै प्रमाण जुटाउँदा समेत राहत नपाएको बताए । ‘घर भत्केको छ, लाभग्राहीमा नाम परेन, भूकम्पकै कारण आमाको ज्यान गयो । तर, राहत पाएको छैन । मैले किन पाइन ? कारण चाहियो ।’-उनले भने-‘भूकम्पपीडितको कार्डमा घाइते लेखिएको छ, भूकम्पपीडित भनेर उपचार गरिएको छ तर प्रहरीले मुचुल्का बनाउँदैन ।’ कार्यक्रममा सहभागी भूकम्प पीडितहरूले घर पूर्ण रूपमा क्षति भए पनि लाभग्राहीको सूचीमा नपरेको र लामो समयदेखि गुनासो सङ्कलन गरेको भए पनि त्यसको सुनुवाइ हुने नहुने टुङ्गो नभएको बताए । उनीहरूले सुकुम्बासी भएकै कारण राहत नपाएको, निस्सा नम्बर, नाम, घरधुरी सर्वेक्षण नम्बर नमिलेका कारण राहत नपाएको भन्दै यसको निकासका बारेमा गुनासो राखेका थिए । कार्यक्रममा स्थानीय विकास अधिकारी इश्वरकुमार गिरीले मृतक परिवारले राहत पाउनु पर्ने भन्दै त्यसका लागि पहल गर्ने बताए । नागरिकहरूले उठाएको प्रश्नको जवाफ दिँदै स्थानीय विकास अधिकारी गिरीले प्राविधिक त्रुटिका कारण आएका समस्याका विषयमा प्राप्त गुनासो सम्बोधन गर्न पुनःनिर्माण प्राधिकरणमा सिफारिस गरिएको बताए । नागरिकबाट प्राप्त गुनासाको सम्बोधन हुने र आएका समस्या समाधान हुनेसमेत उनले बताए । यस्तै कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत जगतप्रसाद भुसालले भूकम्पपीडितलाई सहज तरिकाले अनुदान सम्झौता गर्न र गुनासो सम्बोधन गर्न नगरपालिका सधैं तयार रहेको बताए । कार्यक्रममा नागरिकको गुनासोको सम्बोधन गर्दै नापी कार्यालयका अधिकृत छत्र बहादुर लुङ्गेलीले गाउँ ब्लकमा परेका स्थानमा लालपुर्जा वितरण गरिएको र त्यस्ता ब्लकमा परेका भूकम्पपीडितलाई लालपूर्जा दिइने भएकाले ६० दिनभित्र चासो दिएर सम्पर्क गर्न सिन्धुलीबासीलाई आग्रह गरे । सिन्धुलीका ३१ गाविस र कमलामाई नगरपालिकामा ब्लकमा बसोबास गर्ने बासिन्दा भएको भए पनि जग्गा प्राप्तिका लागि स्थानीयले नै चासो नदिएको उनले बताए । उनले ब्लक जग्गामा बसोबास गरेका नागरिकले लालपुर्जा प्राप्त गर्नको लागि चासो देखाएमा आफूले लालपुर्जा बनाइदिन तयार रहेकोसमेत बताए । कार्यक्रममा जिल्ला वन कार्यालयका अधिकृत नविन गिरीले सामुदायिक वनबाट भूकम्पपीडितले घर बनाउन काठ निःशुल्क लिन सक्ने र काँचो काठ समेत काट्न सक्ने व्यवस्था रहेको बताए । त्यस्तै ०७३ चैत मसान्तसम्म जिल्ला बाहिर वा भित्र भूकम्पले भत्किएका घरका काठ ओसार पसार गर्न वन कार्यालयले अनुमति दिने समेत बताए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर सर्वश्रीलाल सिंहले भूकम्पमा परेर घाइते भएको र उपचारको क्रममा ज्यान गुमाएका परिवारले राहत पाउने र त्यसका लागि प्रहरीले गर्नुपर्ने सहयोगमा कमी नगर्ने बताए ।

0 Comments