Incident Reports

'बुबा ल्याइदिनु भन्छे, मैले कहाँबाट ल्याइदिनू' ।

2016-08-28

Lumbini, Bardiya, Rajapur

, श्रीमान् बेपत्ता हुँदा गर्भमा रहेकी कान्छी छोरी अहिले कक्षा ७ मा पढैछिन् तर बर्दिया राजापुरकी शिवा थारूका पति फुलारामको अत्तोपत्तो छैन । छोरी देखाउँदै शिवाले भनिन्, 'यही छोरी पेटमा थिई । सेनाले यसका बाबुलाई घरबाटै लगेको हो । अहिलेसम्म कुनै खबर छैन ।' यसो भन्दा बर्दियाको राजापुर १६ मानपुरटपराकी शिवाका आँखा आँसुले भरिएका थिए । उनले भावुक हुँदै भनिन्, 'छोरी सोध्छे– अरूका बाबा छन्, मेरा बाबाचाहिँ खोइ ? मेरा बाबालाई खोजेर ल्याइदिनुस् । मैले कहाँबाट लगिदिऊँ ? मैले उसलाई के भनेर मनाऊँ ? ' शिवाका पति फुलारामलाई तत्कालीन शाही नेपाली सेनाले २०५९ साल कात्तिकमा पक्राउ गरेर लागेको थियो । 'सेना घरभित्र पस्यो र गर्भवती मलाई कुनै संवेदनाबिना धकेलेर लडाइदियो । त्यसपछि श्रीमान्‌लाई लिएर गयो । सेनाले धकेलिदिँदा मेरो पाठेघरमा चोट पनि लगेको थियो । धन्न छोरीलाई केही भएनछ', शिवाले विगत सुनाउँदै भनिन् । श्रीमान्‌लाई सेनाले बेपत्ता पारेपछि मजदुरी गरेर ५ वटी छोरी हुकाएकी छन् शिवाले । जग्गाजमिन धेरै छैन । कमाएर खुवाउने मान्छेलाई नै बेपत्ता बनाइदिएपछि मैले धेरै दुःख गरेर छोरीहरू हुर्काएकी छु', शिवा भन्छिन्, 'लेभरको काम गर्छु । घर फोर्ने, इँट धुने, घन हान्नेसम्मका काम गर्छु ।' श्रीमान् नभएका कारण समाजबाट अपहेलित हुनुपरेको पीडा शिवाले सुनाइन् । जिल्ला प्रशासन कार्यालयमा छोरीको नागरिकता बनाउन जाँदासमेत अपहेलित भएको उनले बताइन् । 'मृत्युदर्ता चाहियो, कि त बाबु नभएको प्रमाण चाहियो भन्छन् । मैले तपाईं नै खोजिदिनुस्, मेरो श्रीमान्‌लाई बेपत्ता बनाएको १५ वर्षभन्दा बढी भइसक्यो भनेर झगडा गरेपछि बल्लतल्ल बनाइदिए', शिवाले दुखेसो पोखिन् । श्रीमान्‌को खोजीमा राज्यले कुनै चासो नदिएको उनको गुनासो छ । श्रीमान्‌को लास वा सास दिनसमेत उनले सरकारसँग माग गरिन् । 'कहिलेसम्म यो पीडा सहेर बस्ने ? कि लास उपलब्ध गराइदिनुपर्‌यो कि सास', शिवाले भनिन् । यस्तै सुर्खेत मालारानी ६ की ६० वर्षीया पुर्नी घर्तीका श्रीमान् बेपत्ता भएको १५ वर्ष भइसकेको छ । तर पनि कुनै सरकारबाट आजसम्म सहयोग नपाएको गुनासो उनको छ । पुर्नीका अनुसार उनका श्रीमान्‌लाई २०५८ जेठ २७ गते तत्कालीन माओवादीले बेपत्ता बनाएको थियो । 'सबै जग्गाजमिन श्रीमान्कै नाममा छ । न सरकारले खोजिदिन्छ । अहिलेसम्म केही पाएको छैन । जग्गा बेचेर केही गर्न पनि पाइएन', उनले भनिन् । उनले श्रीमान्को यथार्थ अवस्था पत्ता लगाइदिन सरकारसँग माग गरेकी छन् । कैलाली धनगढी ८ धनगढी गाउँकी बजारी चौधरीको विद्यालय गएको छोरा नफर्केको १२ वर्ष भइसक्यो । बजारीको १४ वर्षीय छोरो खुसीराम चौधरी २०६१ मंसिर ३ गतेदेखि बेपत्ता भएका हुन् । उनले भनिन्, 'स्कुल गएको छोरो आजसम्म फर्किएको छैन । बिहान स्कुल भएको थियो, बेलुकासम्म आएन । धेरै खोजियो तर अहिलेसम्म न लास नै पाइएको छ, न त सास नै । तत्कालै रेडियो नेपालको समाचारमा खुसीराम चौधरी चिन्टु दोहोरो भिडन्तमा मारियो भन्ने खबर आयो भनेर छिमेकीले सुनाए तर अहिलेसम्म लास पाइएको छैन । अझै ज्युँदै छजस्तो लाग्छ ।' उनले क्षतिपूर्ति र राहतभन्दा आफ्नो छोराको लास वा सास उपलब्ध गराइदिन सरकारसँग माग गरिन् । मुक्त कमैया परिवारकी बजारीको एकमात्र छोरो बेपत्ता भएकाले भविष्यको सहारा नै हराएको छ । बर्दिया बबई नगरपालिका ८ भुरीगाउँकी सावित्री थापाका श्रीमान् श्यामबहादुर थापालाई २०५५ सालमा प्रहरीले पक्राउ गरेर बेपत्ता बनाएको हो । बाढीका कारण विस्थापित भएर सुकुमबासीबस्तीमा बसेको अवस्थामा श्रीमान्‌लाई प्रहरीले बेपत्ता बताएको उनले बताइन् । बाबुलाई प्रहरीले पक्राउ गरेपछि छोराले राम्रोसँग पढ्न नपाएको गुनासो सावित्रीले गरिन् । उनले छोरालाई गहना बेचेर पढाएकोसमेत बताइन् । आईसीआरसी नेपाल नियोग प्रमुख आन्द्रे पाकेले बेपत्ता परिवारको अवस्था अत्यन्त दयनीय रहेको बताए । उनले भने, 'बेपत्ताका परिवार द्विविधामा बाँचिरहेका छन् । उनीहरूको अवस्था दयनीय छ । उनीहरूलाई आफ्नो परिवारका सदस्य जिउँदै छन् कि मरिसके भन्नेसम्म थाहा छैन । मरेका भए त्यसको अवशेष कहाँ छ, त्यो पनि थाहा छैन ।'
National/Online Media

0 Comments

Related Reports