Incident Reports

क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

2016-08-29

जिल्ला कारागार इलाममा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सरसफाई, खानेपानी तथा स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । १ सय जना पुरुष र २५ जना महिला गरी १ सय २५ जनाको क्षमता रहेको कारागारमा हाल २ सय ६८ जना कैदी बन्दी रहेका छन् । जसमध्ये २ सय ४० जना पुरुष, २४ जना महिला र आश्रति बालबालिका चार जना रहेका छन् । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा शौचालय प्रयोग गर्न र सरसफाईमा निकै समस्या रहेको कारागार प्रमुख सिर्जना लुईंटेलले बताइन् । सुधार गृहका रूपमा इलामको कारागारलाई विकास गरिए पनि क्षमता अनुसार कैदीबन्दी नहुँदा व्यवस्थापनमा समस्या परेको कारागार प्रमुख लुइँटेलको भनाइ छ । कारागारमै कैदीबन्दीको उपचार गर्दै आएका हेल्थ असिष्टेण्ट पङ्कज पोख्रेलले क्षमता भन्दा बढी कैदीबन्दी हुँदा स्वास्थ्य उपचारमा पनि कठिनाइ रहेको जानकारी दिए । कारागार भित्र उपचार गर्न कठिन भएका जटिल बिरामीहरूलाई जिल्ला अस्पताल भन्दा बाहिर लैजान यातायातको समस्या रहेको छ । कैदीबन्दीहरूमा उच्च रक्तचाप र मानसिक रोगका बिरामी धेरै रहेको हेल्थ असिस्टेन्ट पोख्रेलले जानकारी दिए । यस्ता बिरामीलाई थप उपचारमा बाहिर लानुपर्ने हुँदा एम्बुलेन्स भनेको समयमा नपाइने भएकाले समस्या हुने गरेको पोख्रेलले बताए ।

0 Comments