Incident Reports

‘अझै आउँछन् कि जस्तो लाग्छ’ ।

2016-08-31

Lumbini, Dang, Ghorahi

 घोराही २ पचुर्खाका रामप्रसाद चौधरीलाई छोरी रामकली अझै फर्कन्छिन् कि झैं लाग्छ । २०५९ वैशाख ३ गते घोराहीस्थित जिल्ला अस्पतालमा उपचार गर्न गएकी २६ वर्षीया छोरी उपचार गर्न नपाउँदै सुरक्षा फौजको नियन्त्रणमा परिन् । छोरी खोज्न गएका रामप्रसाद उल्टै दुई दिन थुनिए । तर छोरी भेटाउन सकेनन् । अहिलेसम्म पनि उनी छोरीको आशमा बसिरहेका छन् । ‘मैले आजसम्म कति खोजें तर केही पत्तो छैन । खोजी गर्द उल्टै मैले यातना भोगें,’ उनले भने, ‘अहिले पनि आयोगमा उजुरी दिएको छु । कतै भेटिइहाल्छे कि भन्ने आस छ । लास नभेटिँदासम्म आस भइरहने रहेछ ।’ मंगलबार विश्वभर बेपत्ता पार्ने कार्यविरुद्धको दिवस मनाइरहँदा रामप्रसाद र उनकी श्रीमती तुलसा छोरी हराएको पीडाले साह्रै दुस्खी थिए । ‘अझै मन मरेको छैन । अब भेटिँदैन भन्ने लाग्दैन । कतै धेरै वर्षपछि फर्केर आएका घटना सुनिन्छन्,’ उनले भनिन्, ‘मेरी छोरी पनि कतैबाट टुप्लुक्क आइपुग्छिन् कि जस्तो लाग्छ । झल्को लागिरहन्छ ।’ रामकलीसँगै पक्राउ परेका गाउँकै चारमध्ये अन्य तीन जना छुटे । तर उनी फर्किन सकिनन् । प्रत्यक्ष राजनीतिमा सक्रिय नभए पनि तत्कालीन माओवादी जनसरकार प्रमुख इन्द्रजित थारूसँग विवाह गरेकी रामकली सुरक्षा फौजको फन्दामा परेपछि छुट्न पाइनन् । पचुर्खाकै २३ वर्षीय बिर्जु चौधरी मजदुरीका क्रममा सदरमुकाम घोराही गएकामा घर फर्कन सकेनन् । २०५८ चैत १९ मा बेपत्ता भएका चौधरीको कतै केही पत्तो लागेन । श्रीमती कृष्णा, बुबा लबरु र आमा जिउनी बिर्जुको खोजीमा धेरै पर्ष भौंतारिए । ‘लास भए पनि भेटिन्छ कि भनेर खोला, जंगल सबैतिर खोज्यौं तर केही पत्ता लागेन,’ श्रीमती कृष्णाले भनिन्, ‘बिनाकारण बेपत्ता पारियो । न कुनै राजनीति गरेको, न कुनै दोषी रु अहिलेसम्म कतै भेटिएलान् कि झैं लाग्छ ।’ बुबा लबरु पनि छोराको चिन्ताले सिकिस्त भइरहेका छन् । छोरी पार्वतीले पनि बुबाको काखमा खेल्ने चाहना पूरा गर्न पाइनन् । बाल्यकालमै बुबा हराएपछि उनको बाल मस्तिष्कमा नराम्रो प्रभाव परेको छ । ‘किन हराएको होला रु मानिसलाई यसरी कता लगेर राखेका होलान् भन्ने लाग्छ,’ ९ कक्षामा अध्ययनरत पार्वतीले भनिन्, ‘किन यस्तो अन्याय हुन्छ रु निर्दोष मान्छेलाई यसरी सजाय दिन पाइन्छ र रु’ इन्सेकअनुसार दाङमा ७२ जना बेपत्ता भएका छन् । स्थानीय शान्ति समितिले भने १ सय १३ जना बेपत्ता भएको भन्दै राहतका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सिफारिस गरेको थियो । अहिले बेपत्ता छानबिन अयोगमा १ सय २९ जनाको उजुरी परेको शान्ति समितिले जनाएको छ ।
National/Online Media

0 Comments

Related Reports