Cadres of opposition party CPN UML staged demonstration in Nepalgunj on Sunday against the statute amendment proposal registered by the government in the parliament. The demonstration rally which started from the party office in Pasanglhamumarg passed through Surkhetroad, BPchowk, Dhambojji and converged into a corner assembly at Pushpalalchowk. Madhesi, Tharu, Muslim, and Janajati wings of the party also participated in the program.
प्रदेश ५ बाट पहाडी जिल्ला हटाउनेगरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको विरोध गर्दै प्रतिपक्ष एमालेले आइतबार नेपालगन्जमा प्रदर्शन गरेको छ ।
पासाङल्यामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस सुर्खेतरोड, वीपीचोक, धम्बोझीचोकहुँदै पुष्पलालचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध जुलुसमा एमाले अगुवा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो । मधेसी, थारु र मुस्लिम तथा जनजाति भातृसंगठनका नेता कार्यकर्ता पनि संशोधन प्रस्तावको विरोधमा सहभागी थिए ।
विरोधसभालाई सम्बोधन गर्दै एमाले वैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले सरकारले जन चाहनाविपरितको संशोधन प्रस्ताव ल्याएर द्वन्द्व निम्त्याउन खोजेको बताए ।
‘यो संविधान संशोधन हैन, कार्यान्वयन गर्ने समय हो’ उनले भने, ‘शान्त रहेको प्रदेश ५ लाई चलाएर सरकारले द्वन्द्व निम्त्याउने र निर्वाचन टार्ने षडयन्त्र गरेको छ ।’
बाँके–४ का सांसद दलबहादुर सुनारले तराई र पहाड जोड्न हुन्न भन्ने अतिवाद राष्ट्रिय हितमा नभएकैले एमाले विरोधमा उत्रिएको दाबी गरे । उनले संविधान संशोधनको प्रस्ताव सरकारले छिमेकी दूतावासको दबाबमा ल्याएकाले फिर्ता गर्नुमा नै बुद्धिमानी हुने बताए ।