त्रिभुवन विश्वविद्यालय अन्गर्तत कार्यरत आंशिक प्राध्यापकहरूको केन्द्रीय छाता संगठन नेपाल आंशिक प्राध्यापक संघले आफ्ना मागहरू सम्बोधन नभएको महसुस गर्दै शनिबार विरोध प्रदर्शन गरेका छन्।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत नेपाल आंशिक प्राध्यापक संघले देशभरका आंशिक प्राध्यापकलाई मासिक ज्यालादारीमा नियुक्त गर्न माग गर्दै माइतीघर मण्डलमा कालो ब्यानर लगाएर सरकार प्रमुख, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको बिरोध गरेका हुन्।
विरोधसभामा बोल्दै आंशिक प्राध्यापक संघ नेपालका अध्यक्ष शशी कुमार शर्माले सरकार र शिक्षा मन्त्रालय आंशिक प्राध्यापकहरुलाई चरम शोषण गरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, त्रिभुवन विश्वविद्यालय ८५ प्रतिशत आंशिक प्राध्यापकको प्राध्यापनले चलेको छ। तर उसैलाई त्रिवि र सरकार र यसका निकायहरुले हेला गरिरहेका छन्। हामी सडकमा बाध्य भएर विरोध प्रदर्शनमा उत्रिनु परेकोछ।'
उहाँले शिक्षा जस्तो अति आवश्यक पूर्वाधार बनाउने प्राध्यापकमाथि यस्तो शोषणले भविष्यमा नराम्रो असर पुर्याउने भन्दै यसलाई चाँडोभन्दा चाडो समाधानमा सरकारले ध्यान दिनु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'आंशिक प्राध्यापकको समस्या समाधान गर्न त्रिवि गम्भीर नै छैन। कानमा तेल हालेर बसेको छ। पटक पटक ज्ञापनपत्र बुजाउँदा पनि कुनै सुनुवाइ नगर्दा आन्दोलनमा उत्रिनु परिरहेको छ।'
त्रिविले २०४६ सालको परिवर्तनपछि आंशिक प्राध्यापकहरुको समस्याप्रति कुनै चासो नदिएको भन्दै उहाँले अहिलेसम्मको सरकारले समेत धोका दिएको आरोप लगाउनुभयो।
यसअघि सरकारले आंशिक प्राध्यापकहरुसँग २०६३/०५/०६, २०६५/०६/२१ २०६६/०५/ र २०६/ २/३२ गरी पटक पटक सम्झौता गर्दै लत्याउँदै आएको छ।