Incident Reports

हरेक तिहारले रुवाउँछ सपनालाई

2017-10-24

Nepal

चौध वर्ष बितेर गएको छ उनले मखमली फूलको माला नगाँसेको र तिहारमा टीका नलगाएको । चौध वर्षको छँदा दाजुले सप्तरंगी टीका लगाएको सम्झना सपना सुवर्णकारलाई अहिले पनि उत्तिकै छ । त्यसपछि सेनाबाट बेपत्ता पारिएका उनका दाजु अशोक अकेला कुमार फर्किएर कहिल्यै आएनन् । ‘त्यसबेलादेखि मेरो निधार जहिल्यै खाली भयो,’ सपना भन्छिन्, ‘हरेक वर्षको तिहारमा दाजुको अभाव झन् बढी गहिरो हुन्छ ।’ गोरखाको बोर्लाङमा जन्मेहुर्केका २३ वर्षीय उनका दाजु २०६० मंसिर ६ देखि काठमाडौंबाट सम्पर्कविहीन भएका थिए । ‘उहाँ माओवादीमा लाग्नुभएको थियो र उपत्यकाको दलित राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो,’ सपना भन्छिन्, ‘भैरव दल गणका सेनाले उहाँलाई समाते रे भनेर बालाई फोन आएको थियो, त्यसपछि हामीले कति खोज्यौं तर कतै फेला पार्न सकिएन ।’ पाँच बहिनीका एक मात्र दाजु अशोक बेपत्ता भएदेखि सपनाको घरमा दसैंतिहारको रौनक फर्किएको छैन । ‘अघिपछि पनि उत्तिकै छटपटी हुन्छ तर पनि दसैंमा बाआमा ज्यादा रुनुहुन्छ, तिहारमा हामी पाँचै बहिनी,’ सपना भन्छिन्, ‘दाजुको सम्झनाले कुनै चाडबाड मान्नै मन लाग्दैन ।’ माओवादीमा लागेर दलित संगठनमा सक्रिय भएबापत पहिले पनि १४ महिना पक्राउ परेपछि सर्वाेच्च अदालतको बन्दि प्रत्यक्षीकरणको आदेशमा २०५९ सालमा अशोक छुटेका थिए । यसरी पक्राउ परेर छुटेको विगतका कारण सपनाको परिवारले पहिले त पछिसम्म उनी फर्केर आउलान् भन्ने ठानेको थियो । त्यही आसले उनीहरू सर्वाेच्चमा रिट दायर गर्नेदेखि भद्रकाली अगाडि १९ दिनसम्म आमरण अनशन बस्नेसम्मका गतिविधिमा अन्य पीडितसँगै सहभागी भए । ‘त्यतिले नपुगेर आईसीआरसी र मानव अधिकार आयोगमा समेत उजुरी गर्‍यौं,’ सपना भन्छिन्, ‘तर पनि दाजुको पत्तो लागेन ।’ पछि रिहा भएका हिमाल शर्मा, कृष्ण केसीलगायतले भैरवनाथ गणबाट शिवपुरी लगेर हत्या गरिएका ४९ जनाको सूचीमा अशोक पनि थिए भनेर खुलासा गरेपछि आफ्नो मन भरंग भएको सपनाले बताइन् । ‘त्यसपछि हामीले दाजुको आस मार्‍यौं,’ उनी भन्छिन्, ‘उहाँलाई पक्कै पनि मारिसकिएको छ, अब हामी दोषीमाथि कारबाही होस् भन्ने मागमा छौं ।’ घटनाको सत्यतथ्य खोजबिन गरी हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने आफू र आफूजस्ता अन्य पीडितको माग कसैबाट सुुनुवाइ नभएकामा भने उनी आक्रोशित छिन् । ‘बेपत्ता आयोगले पोहोर उजुरी मागेपछि त केही होला भन्ने ठानेकी थिएँ,’ उनी भन्छिन्, ‘तर आजका मितिसम्म केही भएन, साह्रै दु:ख लागेर आउँछ ।’

0 Comments

Related Reports