Incident Reports

द्वन्द्वकालमा ‘बलात्कृत’ महिलाको उजुरी प्रहरीले दर्ता गरेन ।

2018-02-02

३६ वर्षीया महिलाले आफूलाई सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मीले आफ्नै घरमा नियन्त्रणमा लिई बलात्कार गरेको भन्दै न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा माघ १९ गते दिएको निवेदनलाई प्रहरीले दर्ता नगरी फिर्ता पठाएको छ । प्रहरीले घटनाको उजुरी दिने हदम्याद मुलुकी ऐनको जबरजस्ती करणी महलको दफा ११ मा उल्लेखित कानुनी ब्यवस्था अनुसार उक्त उजुरीको कानुनी हदम्याद समाप्त भइसकेको हुँदा दर्ता गर्न नसकिने भन्दै प्रहरीले माघ १९ गते नै फिर्ता पठाएको हो । अहिलेको कानुनी व्यवस्था अनुसार जबरजस्ती करणीको उजुरी दर्ता गर्ने हद म्याद ६ महिना रहेको छ । पीडित महिलाको तर्फबाट द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले दिएको उजुरीमा ती महिलालाई सुरक्षाकर्मीले २०५९ कातिक २३ गते सुरक्षाकर्मी (सेना)ले बलात्कार गरेको उल्लेख छ । पीडित महिलाले आफूलाई बलात्कार गर्ने ‘पीडक’ सुरक्षाकर्मीको नामथर र दर्जा केही थाहा नभएको बताउँदै आएकी छिन् । पीडित महिलाका अनुसार २०५९ कार्तिक २३ गते ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू गाउँमा ‘सर्च’मा आएको र बलात्कारको घटनामा प्रत्यक्ष रूपमा एक जनाको संलग्नता रहेको थियो । पीडित महिलाको घरमा तीनजना सुरक्षाकर्मी आएको र तिमध्ये दुई जनाले पीडितका पतिलाई नियन्त्रणमा लिई घरदेखि केही पर बम विष्फोट भएको ठाउँमा कुटपिट गर्दै लगेका थिए । ‘एक जना सुरक्षाकर्मीले घर भित्र युनिफर्ममै र हतियार भिरेकै अवस्थामा बलात्कार गरेका थिए ।’-पीडित महिलाले घटनाका बारेमा बताउँदै भनिन्-‘सशस्त्र द्वन्द्व चर्किएको अवस्था थियो । उक्त दिन घर नजिकै बाटोमा माओवादीले सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी एम्बुस पड्काइसकेपछि सुरक्षाकर्मीहरु गाउँका घरघरमा पसी सर्च गर्ने र स्थानीयलाई कुटपिट गर्न थालेका थिए । ‘एकजना सुरक्षाकर्मीले घरमा खानतलासी गर्ने भन्दै घर भित्र प्रवेश गरेर घरमा को को छ ? भनेर सोधे । खानतलासी गर्ने भनेपछि पीडित पनि सेनासँगै घरमा प्रवेश गरिन् । घरको एउटा कोठामा गएर शारीरिक सम्पर्क राख्न दिए तेरो पतिलाई बचाइदिन्छु, होइन भने मारिदिन्छु भने ।’-पीडितले भनिन् । पीडितले त्यसो नगर्न भने पनि ती सेनाले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बलात्कृत भइसकेपछि उनी घर बाहिर निस्केर १० महिनाको छोरालाई काखमा लिई पतिलाई लगेको बम विष्फोट भएको ठाउँमा आफूलाई बलात्कार गर्ने सुरक्षाकर्मीको पछिपछि लागेर गएको उनको भनाइ छ । ‘त्यहाँ पतिलाई लाठीले कुटपिट गरिरहेका थिए । त्यहाँ पुग्दा अर्का एक सुरक्षाकर्मीले तँ किन यहाँ आएको जा तेरो घरमा भने । त्यतिबेला पतिलाई दुईजना सेनाले बम विष्फोट भएको खाल्डोमा कुटपिट गरिरहेका थिए ।’-उनले भनिन् । प्रहरीले उजुरी दर्ता नगरेपछि उनी उच्च अदालत नेपालगञ्जमा उत्प्रेषणको आदेश माग गर्दै निवेदन दिन जाने तयारीमा रहेको द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले बताए ।

0 Comments

Related Reports