Incident Reports

No translation available.

2018-08-05

Nepal

सरकारले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा फरार रहेका रुद्रप्रसाद आचार्यलाई बेलायतबाट नेपाल फर्काउने प्रक्रिया सुरु गरेको छ। चितवन जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेपनि सरकारले चितवनको रत्ननगर–१० का आचार्यको नाममा इन्टरपोलमा नोटिस रहेकाले नेपाल झिकाई मुद्दाको किनारा लगाउन बेलायत प्रहरीलाई पत्र पठाएको हो। उनको नाममा नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले करिब २ वर्ष अगाडि नै ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो। उक्त नोटिस अनुसार आचार्यलाई नेपाल फर्काइदिन बेलायत प्रहरीलाई परराष्ट्र मन्त्रालयले पत्र लेखेको हो। कानुन मन्त्रालयले तयार पारेको पत्रमा जिल्ला अदालत चितवनमा दर्ता भएको आरोपपत्र र आदेशसमेत संलग्न रहेको छ। आचार्य लामो समयदेखि बेलायतमा लुकेर बसेको र नेपालमा मुद्दा किनारा लगाउन समस्या भएको भन्दै सरकारले खोजी गरी नेपाल पठाइदिन बेलायत प्रहरीलाई पत्र लेखेको हो। छोरा कृष्णप्रसाद अधिकारीको हत्या आरोपीलाई कारबाहीको माग गर्दै अनसनमा बसेकी गंगामाया अधिकारीसँग भएको सम्झौता अनुसार सरकारले आचार्यलाई नेपाल झिकाउने लागेको हो। अधिकारीको अनसन अन्त्य गराउँदा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तमाङले पाँच बुँदे सहमति गरेका थिए। उक्त सहमतिअनुसार घटनाको अनुगमन समिति यसअघि नै निर्माण भइसकेको छ। वीर अस्पतालमा अनसन बसेकी गंगायायासँग कानुनमन्त्री तमाङले मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई साक्षी राख्दै असार २९ गते सहमति गरेका थिए। उक्त सहमतिमा आचार्यलाई नेपाल झिकाई मुद्दाको किनारा लगाउन मद्दत गर्ने उल्लेख थियो। सोही हत्या आरोपमा फरार रहेका अर्का आरोपित छविलाल पौडेलले भने यसअघि नै सर्वोच्चसमक्ष आत्मसर्मपण गरिसकेका छन्। सरकारले २०७२ असोजमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अधिकारीले अनसन तोडेकी थिइन्। १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई आजीवन काराबासको सजाय माग गर्दै उनी गत जेठ १५ गतेदेखि अनसन बसेकी थिइन्। अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते मृत्यु भएको थियो। युद्धकालमा छोरा र अनसनकै क्रममा पति गुमाएपछि गंगामायाले माग पूरा नभएसम्म अनसन नतोड्ने अडान राखेकी थिइन्। चितवनको जयमंगलास्थित हजुरबुबाको घर आएका बेला २०६१ जेठ २४ गते रत्ननगरको बकुल्लर चोकमा कृष्णप्रसादको गोली हानी हत्या गरिएको थियो। मृतकका दाजु नुरप्रसादले दिएको किटानी जाहेरी अनुसार १३ जना प्रतिवादी रहेको यस मुद्दामा हालसम्म ११ जना अदालतमा पेस भइसकेका छन्। तीमध्ये सीता अधिकारी र जानुका पौडेल सादा तारेखमा र अन्य धरौटीमा रिहा भएका थिए। म्याद तामेली भइसक्दा पनि प्रतिवादी रुद्र आचार्य र सुभद्रा अधिकारी भने अदालतमा उपस्थित भएका छैनन्। हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै उनका बाबु नन्दप्रसाद र आमा गंगामाया पटक–पटक अनसनमा बस्दै आएका थिए। अनसनकै क्रममा ज्यान गुमाएका नन्दप्रसादको परिवारले हालसम्म पनि शव बुझ्न मानेका छैनन्। उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। फुजेल हत्या प्रकरण हाल जिल्ला अदालत चितवनमा फैसलाको चरणमा रहेको छ।
National/Online Media

0 Comments

Related Reports