Incident Reports

न्यायको निरन्तर नशा : १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुग्यो, कहिले मिल्ला न्याय ?

2019-02-18

Nepal

सशस्त्र द्वन्द्वको समयमा काभ्रेपलाञ्चोककी १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुगेको छ। हत्यामा संलग्नलाई कारबाही माग गर्दै मैनाकी आमा देवी न्यायको खोजीमा हिँडेको दशक बढी भइसकेको छ। अहिलेसम्म न्याय नपाए पनि उनले आस मारेकी छैनन्।

‘हामीले न्याय पाउँदा देशमा विधिको शासन कायम हुन्छ, पीडकले सजाय, पीडितले न्याय पाउँछन्’, देवीले भनिन्, ‘जे नहुनु थियो भइसक्यो। म जस्ता धेरै पीडितले न्याय पाउन बाँकी छ।’उनी विश्वस्त छिन् एक न एक दिन न्याय पाइनेछ। छोरीका हत्यारालाई कारबाही माग गर्ने क्रममा अनेक हन्डर खानुपरे पनि न्याय मिल्ने उनको विश्वास छ। न्यायका लागि उनी स्वदेशका विभिन्न निकायदेखि अदालतसम्म पुगेकी छिन्। राष्ट्रसंघको मानवअधिकार समितिमा पनि उनले उजुरी दिएकी छिन्। ‘दुःखपीडाका कुरै नगरौं। सम्पत्तिको नाममा दुइटा छोरा मात्र छन्। छोरीकै न्यायका लागि धाउँदाधाउँदै पीडाले श्रीमान् बित्नुभयो, घरै छोड्नुपर्‍यो।’ मुद्दा राजनीतिक दलले नै टुंग्याउनुपर्ने उनको धारणा छ। ‘हामी चुप लागेर बस्दैनौं। देशको जिम्मेवारी लिएर महत्वपूर्ण ठाउँमा बसेकाले नै मुद्दा टुंग्याउनुपर्छ।’

काभ्रे जिल्ला अदालतबाट अपराध ठहर गरी दोषीलाई जन्मकैद सजाय सुनाएको निर्णय कार्यान्वयन नहुनुलाई विडम्बना मान्छिन उनी। ‘अदालतको फैसला गलत भयो भनेर, कारबाही बढी भयो भनेर मुद्दा हाल्नु गलत थियो’, सुनारले भनिन्, ‘अन्तर्राष्ट्रिय अदालतमा समेत मुद्दा दर्ता भएको छ। एक दिन सत्यको विजय हुन्छ। मैले धैर्य भएर कुर्नैपर्छ।’

काठमाडौंमा बुधबार रिना–मैना स्मृति दिवस मनाइएको छ। कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाबाट मैनासँगै मारिएकी रिना रसाइली (सामूहिक बलात्कार गरेर हत्या गरिएकी) र सुभद्रा चौलागाईं (गोली हानेर हत्या गरिएकी) तथा पीडा र वेदनाका साथ लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेका सशस्त्र द्वन्द्व पीडितहरूलाई सम्झियो।

२०६० फागुन ५ मा काभ्रे पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका सैनिकले १५ वर्षे मैनालाई घरमै गएर पक्राउ गरी बेपत्ता पारेका थिए। मैनाका आमाबाबुले उनको खोजी गर्न विभिन्न निकायमा निवेदन दिएका थिए। मैनालाई केन्द्रमै हत्या गरिएको आमा देवीको दाबी छ। तत्कालीन शाही नेपाली सेनाले एक वर्षपछि २०६१ वैशाख ५ मा मैनाका परिवारलाई उनको मृत्यु भएको खबर दिएको थियो। २०६२ मंसिर २१ मा मैनाकी आमा देवीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा चारजनाविरुद्ध जाहेरी दिएकी थिइन्। जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले तीनजना सैनिक अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम २० वर्ष जन्मकैद सजाय सुनाएको थियो। तत्कालीन माओवादीमा लागेको आरोपमा निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। अदालतले एक सैनिक अधिकृत निरञ्जन बस्नेतलाई सफाइ दिएको थियो। तर फैसला भएको दुई वर्ष बित्दासमेत सो कार्यान्वयन भएको छैन। मैनाको परिवार फैसला कार्यान्वयनको मागसहित न्यायको प्रतीक्षामा छ। जिल्ला अदालतले दोषी ठहर गरेका सैनिक अधिकृत पक्राउ परेका छैनन्। उल्टै नेपाली सेनाले २०७४ भदौ २३ मा जिल्ला अदालतको फैसला खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो। सो मुद्दा सर्वोच्चमा विचाराधीन छ।

‘संक्रमणकालीन न्याय प्रक्रिया सच्याउँदै मानवअधिकार तथा विधिको शासनप्रति आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्न हामी सरकारसमक्ष माग गर्छौं’, मैना बाल विकास समितिकी अध्यक्षसमेत रहेकी देवीद्वारा आइतबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अदालतको आदेश सम्मान गर्दै दोषी सैनिक अधिकृतलाई तत्काल पक्राउ गर्न र सर्वोच्च अदालतसमक्ष सेनाले दिएको निवेदन फिर्ता गराउन माग गरिएको छ। दस वर्षे सशस्त्र द्वन्द्वका क्रममा १० हजार ८ सय ८१ व्यक्ति हत्याका उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगमा परेका छन्।-नागरिक

0 Comments

Related Reports