Incident Reports

सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा चक्काजाम

2019-03-26

Province 1, Udayapur, Triyuga

उदयपुर - सदरमुकाम गाईघाट बजारमा निर्माणाधीन चार लेन सडकको काम ढिला भएको भन्दै स्थानीयले चक्काजाम गरेका छन्।

त्रियुगा नगरपालिका ११ गाईघाट मुख्य चोकदेखि १२ नं.  त्रियुगा बसपार्कसम्मको ९ सय ४० मिटर सडकको काम तोकिएको समयभन्दा धेरै ढिला भएको भन्दै स्थानीय बजारबासीले मंगलबार दिउसो १ घण्टा चक्काजाम गरे। 

दिउँसो पाँच देखि ६ बजेसम्म सडकमा ढाट र ढुंगा राखेर बजारबासीले सवारी आवागमन रोकेका कारण १ घण्टासम्म गाईघाट–कदमाहा सडक खण्डमा सवारी आउजाउ पूर्णतः रोकिन पुग्यो। गएको कात्तिकमै सम्पन्न गरिसक्नुपर्ने सडकको काम भर्खर नाला निर्माण गरेर स्ल्याब हाल्ने क्रम चलिरहेको छ। निर्धारित समय सकिएको ४÷५ महिना बितिसक्दासम्म पनि निर्माण कम्पनीले काममा ढिलाइ गरेको भन्दै केही समयअघिदेखि स्थानीयले ठेकेदार कम्पनीलाई गुनासो गरेका थिए। 

तर, पटक पटकको स्थानीयबासीको गुनासो र आग्रहलाई बेवास्ता गरेका कारण बाध्य भएर चक्काजाम गर्नुपरेको उपभोक्ता सिर्जन राईले बताए। ‘हामीले बारम्बार ठेकेदारलाई काम चाँडो गर्नु भनेर झक्झकायौं’, राईले भने, ‘तर, ठेकदारले हाम्रो कुरा वास्तै गरेन। नगरपालिका, सडक कार्यालय र प्रशासनमा भन्दा पनि चासो नदिएपछि चक्काजाम गर्न बाध्य भएका हौं।’ 

बजारक्षेत्रको सडक ४ लेन फराकिलो पार्ने योजनाअन्तरगत गाईघाट–दिक्तेल सडक आयोजना कार्यालयले त्रियुगा नदीको पुलस्थित मुख्य चोक ट्राफिक आइलनसम्मको खण्डमा काम भइरहेको छ। तर धेरै ढिला गरेको हुनाले हिउँदभरि धुलो खान बाध्य भएको र अब बर्खा लागेपछि हिलोले थप असजिलो पार्ने भन्दै बजारबासी उपभोक्ताले निर्माण कम्पनी र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा चासो नदिएको उनीहरुको गुनासो छ। 

९ करोड ९८ लाख मूल्यमा भइरहेको कामको जिम्मा सूर्य कन्स्ट्रक्सनले लिएको भए पनि उनले प्रदिप कार्कीलाई ‘उपठेकेदार’ तोकेर काम गर्ने जिम्मा दिएकाले काममा ढिलाइ भएको गाईघाट–दिक्तेल सडक कार्यालय गाईघाटले जनाएको छ। सदरमुकाम प्रवेशको मुख्य नाका मार्ग भएकाले सो सडक चाँडो र गुणस्तरीय काम हुनुपर्ने माग उपभोक्ताको छ।

त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीले सडक चाँडो निर्माण नहुँदा बजारको आर्थिक गतिविधिमा बाधा आइपरेको तथा बजारबासीको स्वास्थ्यमा समस्या आउनसक्ने खतरा रहेको बताए। 

उनका अनुसार बजारक्षेत्रको सडक भएकाले बाक्लो आवादी र अति व्यस्त हुने हुनाले नियमित पानी छ्याप्नुपर्नेमा त्यसो पनि नगर्दा यात्रु र स्थानीयबासी धुलो खान बाध्य हुनपर्ने समस्या छ। निर्माण कम्पनीले तत्काल काम अघि नबढाए थप संघर्ष गर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै स्थानीयले ठेकेदार कम्पनीलाई चेतावनी दिएका छन्। उपभोक्ताले सडक चक्काजाम गरेपछि त्रियुगा नगरपालिका र सडक कार्यालयले निर्माण प्रतिनिधिलाई बोलाएर चाँडो काम गर्न सुझाएको बताइएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments