Incident Reports

ह्विलचेयर नगुड्ने फुटपाथ चाहिँदैन भन्दै चलाइयो गैंती

2019-03-28

Bagmati, Kathmandu, Kathmandu

सार्वजनिक सडक तथा संरचना अपांगतामैत्री बनाउन माग राख्दै आएकाहरूले चाबहिल-साँखु सडकखण्डको निर्माणाधीन फुटपाथ अपांगमैत्री नभएको भन्दै विरोध गरेका छन्।

बिहीबार बिहान ८ बजे अपांगतामैत्री संरचना निर्माण समितिका सदस्यहरूले बनिरहेको फुटपाथका ब्लक हतौडा-गैंती लगायत ‍औजारले भत्काएका हुन्।

जीर्ण भएको झन्डै पाँच वर्षपछि बन्न थालेको चाबहिल-साँखु सडकखण्डमा नीतिअनुरूप फुटपाथ नबनेको समितिको आरोप छ।

'सरकारले अब बन्ने सबै सार्वजनिक संरचना अपांगतामैत्री हुनुपर्ने नीति राखेको छ,' समितिका संयोजक ऋषि ढकालले सेतोपाटीसँग भने, 'तर यो सडकमा बनिरहेको फुटपाथ कुनै हिसाबले अपांगतामैत्री भएन। त्यसैले हामीले विरोध गरेका हौं।'

यसअघि समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्माणस्थलमै बोलाएर संरचना अपांगतामैत्री नभएको जानकारी गराउँदै विरोध गरेका थिए। विरोधपछि मन्त्री महासेठले ह्विलचेयर सहजै गुड्न र दृष्टिविहीनलाई पनि सहज हुने सडक बनाउन निर्देशन दिएका थिए।

यहाँ मुख्य सडक चिल्लो बनाइएको भए पनि फुटपाथ अपांगतामैत्री डिजाइनमा बनेन। यसबारे सडक विभाग, महानगरपालिकादेखि मन्त्रालयमै गुनासो लिएर जाँदा पनि सुनुवाइ नभएकाले सडकमै ओर्लनुपरेको ढकालको भनाइ छ।

समितिका करिब ६०-७० जनाको टोलीले बिहीबार बिहान ९ देखि १० बजेसम्म चाबहिल-साँखु सडकअन्तर्गत जोरपाटी खण्ड अवरूद्ध गरेको थियो।

'हामीले सुरूआतदेखि नै यो सडकखण्ड ह्विचलचेयर गुड्न सक्ने र अन्य किसिमका अपांगतामैत्री हुनुपर्छ भन्दै आएका हौं,' ढकालले भने, 'सम्बन्धित निकायले हुन्छ भनेको थियो, तर बन्ने बेलामा बनेन। हामीसँग अर्को विकल्प रहेन। भत्काएरै विरोध गर्यौं।'

बिग्रिएर जीर्ण भएपछि २०७२ सालमा सरकारले चाबहिलबाट साँखुसम्म चार लेनको सडक बनाउने योजना ल्याएको थियो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २२ मिटर चौडा पार्न त्यसै वर्ष असोजमा विभिन्न १० वटा कम्पनीसँग छुट्टाछुट्टै ठेक्का सम्झौता गरेको थियो।

ठेकेदारले म्याद गुज्रँदा पनि सडक निर्माण पूरा नगरी सम्झौता थप्दै बसेकोमा बल्ल कामले गति लिन थालेको छ।

यसबीच यहाँका स्थानीय र यही बाटो आउजाउ गर्नेले निकै सास्ती खेपे। अहिले पनि अवस्था सुधारिइसकेको छैन। झन् अपांगता भएकाहरूको विजोग नै भएको ढकाल बताउँछन्।

अपांगता भएका धेरै जनाले यो बाटो प्रयोग गर्छन्। जोरपाटीमा रहेको अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा जटिल अपांगता भएकाहरूको बसोबास रहेको ढकाल बताउँछन्।

'यही कारणले पनि यो बाटो अपांगतामैत्री हुनु जरूरी छ। हामी कहिलेसम्म जीउलाई सास्ती दिँदै ह्विलचेयर गुडाइरहने? हामी आफैं पसलसम्म आउनजान पनि कठिन बनाइदिएर त हुन्न नि,' उनले भने, 'सरकारले आफ्नै नीति भुल्न भएन। बाटोमा हामीले पनि सहजै हिँड्न पाउने गरी सुविधा हुनुपर्छ भन्ने मात्र हाम्रो माग हो।'

समितिकै पहलमा दुई वर्षअघि अपांगता संघको गेटबाट नारायणटार चोकसम्म करिब दुई सय मिटर अपांगतामैत्री नमूना सडक बनाइएको पनि उनले जानकारी थिए। यो सडकले उनीहरूलाई धेरै सहज भएको छ। यो देखेर पनि सरकारले आफूहरूको आवश्यकतामा ध्यान नदिएको उनीहरूको आरोप छ।

'हामीले सरकारी नीतिअनुसारै माग गरेका हौं। अब आज कसैले केही प्रतिक्रिया दिनुभएन। भोलि फेरि मन्त्रालय गएर कुरा गर्ने योजना छ,' ढकालले भने, 'अपांगतामैत्री संरचना नबनुन्जेल हामी विरोध गरिरहन्छौं।'

विश्व सम्पदा सूचीको बौद्ध र स्वस्थानी ब्रतसँग जोडिएको साँखु जोड्ने यो व्यस्त सडक अस्तव्यस्त हुँदा चाबहिलदेखि, जोरपाटी हुँदै साँखुसम्म बस्ने सबैले दुःख पाएका छन्। झन् ह्विलचेयरमा गुड्नुपर्ने र लौरोको सहायतामा बाटो ठम्याउनुपर्नेहरूलाई कति सास्ती हुँदो हो?

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments