Incident Reports

राहत सामग्री खरिदमा वीरगन्ज महानगरको ‘मनोमानी’

2020-04-24

Madhes, Parsa, Birgunj, Ward 13

वीरगन्ज महानगरपालिकाले लकडाउनका बेला विपन्न वर्गलाई राहत दिएको चामल फरक–फरक मूल्यमा खरिद गरेको पाइएको छ । महानगरक्षेत्रभित्र बाँडिएको चामल प्रतिकिलो ३९.१६ रुपैयाँदेखि ५६ रुपैयाँसम्म खरिद गरिएको हो ।

१३ नम्बर वडा कार्यालयले चैत १९ मा बाराको प्रसौनीस्थित एक उद्योगबाट प्रतिकिलो ३९.१६ रुपैयाँका दरले १ हजार ७ सय ४० किलो चामल किनेर बाँडेको थियो । त्यही गुणस्तरको चामल महानगर कार्यालयले चैत २८ मा पर्साको बहुअर्वाभाटास्थित दुई उद्योगबाट ४२ रुपैयाँ प्रतिकिलोको दरले किनेको छ । ३५ लाख २८ हजार रुपैयाँमा ८४ हजार किलो चामल खरिद गरिएको हो ।

त्यस्तै लकडाउनको पहिलो हप्तामै महानगरले प्रतिकिलो ५६ रुपैयाँमा १० हजार किलो चामलसमेत खरिद गरेको खुलेको छ । लकडाउनको तेस्रो दिनदेखि नै महानगरले राहत वितरण थालेको थियो । चैत १६ र १७ मा पेस भएको बिलअनुसार महानगरले वीरगन्ज १७ अलौँस्थित मोहित एग्रो इन्डस्ट्रिज प्रालिबाट ५६ रुपैयाँ प्रतिकिलोमा ५ लाख ६० हजारको १० हजार किलो जिरा चामल खरिद गरेको देखिन्छ । महानगरपालिका स्रोतका अनुसार सुरुआती चरणमै ४८ रुपैयाँ प्रतिकिलो पर्ने ‘हाफ ब्वाइल’ चामलसमेत ठूलो परिमाण खरिद भएको थियो ।

आपत्कालीन अवस्थामा खाद्यान्न खरिद गर्नुपरेकाले त्यस बेला उपलब्ध दर–रेटअनुसार चामल खरिद गरिएको मेयर विजयकुमार सरावगीको दाबी छ । ‘विपद्मा एउटा प्रक्रिया के हुन्छ भने तीन दिनका लागि न्यूनतम प्रस्ताव आह्वान गरिन्छ । हामीले पनि आफ्नो वेबसाइट, फेसबुक पेजमा सूचना आह्वान गरेर कोटेसन माग गरेका थियौँ,’ उनले भने, ‘पेस भएको प्रस्तावमा जसले कम दर–रेट पेस गरेको थियो, त्यसमा पनि घटाएर खरिद गरेका हौँ ।’ सरावगीका अनुसार लकडाउनको सुरुमा जब अन्तरिम राहत बाँड्ने अवस्था आयो, त्यति बेला जहाँ सुलभ भयो त्यहीँबाट खरिद गरेर वितरण गरिएको थियो ।

वडा कार्यालयले एउटै गुणस्तरको चामल महानगर कार्यालयले भन्दा सस्तोमा किनेको जिज्ञासामा उनले भने, ‘महानगरपालिकाले खरिद गरेको चामल हाफ ब्वाइल हो, वडा कार्यालयले बिना ब्वाइलको चामल खरिद गरेको हो, हामीले खरिद गरेको चामल ७ रुपैयाँ महँगो हो । क्वालिटीमा फरक भएपछि स्वाभाविक रूपमा मूल्यमा फरक आइहाल्छ नि ।’ वडा कार्यालयको बिलमा अरवा सोना चामल र महानगरको बिलमा सोना चामल उल्लेख गरिएको छ । वीरगन्ज रानीघाटका एक व्यवसायीका अनुसार यी दुवै चामल एउटै गुणस्तरका हुन् ।

महानगरले लकडाउनको सुरुवाती चरणमै दरभाउ नलिई महँगो दररेटमा चामल खरिद गरेको भन्दै कार्यपालिका सदस्यले नै आपत्ति प्रकट गरेका छन् । ‘बाढी, भूकम्प, आगलागीजस्ता कुनै दैवी प्रकोप आएको होइन ताकि सुरुमै खाद्यान्न अभाव भई मूल्यवृद्धि होस्,’ एक कार्यपालिका सदस्य भन्छन्, ‘आपत्कालीन अवस्था देखाएर मनोमानी खरिद गरिएको छ ।’ राहत वितरणका नाममा बढी कमिसनको लोभमा दरभाउ नलिई महँगोमा चामल खरिद गरिएको ती कार्यपालिका सदस्यले आरोप लगाए । खाद्यान्न व्यवसायीका अनुसार स्टिम र जिरा मसिनो चामल खरिद गर्ने समयमा सोना मन्सुली सजिलै उपलब्ध भइरहेको थियो । खाद्यान्न व्यवसायी तथा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता नेपालमा बढी अरवा (स्टिम नगरेको) सोना मन्सुली चामल नै खपत हुने गरेको बताउँछन् । ‘स्टिम गर्दा खर्च बढ्छ,’ उनले भने ।

सोना मन्सुली भनेर खरिद गरिएका बोरामा कनिका र मोटा चामलसमेत फेला परेको छ । गत आइतबार वडा ११ मा वितरणका लागि आएको चामलमा कनिका मात्र फेला परेपछि वडाध्यक्ष प्रद्युम्न सेढाईंले फर्काइदिएका थिए । ‘वितरणका लागि महानगरपालिकाले पठाएको बोरा खोलेर हेर्दा कनिका बढी भेटियो,’ उनले भने, ‘वितरण नगरी फिर्ता पठाइदियौँ, मंगलबार सोना मन्सुली पठाएका छन्, वितरण गरिरहेका छौँ ।’

मेयर सरावगीका अनुसार सोमबारसम्म ३२ हजार ४ सय ६९ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । जसमा ४ लाख २९ हजार एक सय ९६ केजी चामल, ४४ हजार केजी दाल, ३० हजार ९ सय ७ लिटर तेल, ५२ हजार १ सय ८० गोटा साबुन, २५ हजार ३५ प्याकेट नुन, १६ हजार एक सय ५० किलो आलु, १ हजार ३ सय ५६ प्याकेट चाउचाउ र ६ सय ७८ वटा बिस्कुट छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments