Incident Reports

भद्रपुरमा कोभिड अस्पताल निर्माणमा स्थानीयको विरोध

2020-05-25

Province 1, Jhapa, Bhadrapur, Ward 8

बिर्तामोड — झापाको भद्रपुर नगरपालिकामा कोभिड अस्पताल बनाउने विषयमा स्थानीयले विरोध जनाएका छन् । मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन लागेको भन्दै आसपासका बासिन्दाले विरोध जनाएका हुन् ।भद्रपुर ८ स्थित निर्माणाधीन भवन मेची अस्पताल नजिकै पर्छ । भद्रपुर ५ र ८ का जनप्रतिनिधिसहित स्थानीयले उक्त स्थानमा कोभिड अस्पताल नबनाउन आग्रह गरेका छन् । कोभिड अस्पताल बनाउँदा आसपासका स्थानीयलाई संक्रमणको जोखिम हुने उनीहरुको भनाइ छ । उक्त स्थानमा कोभिड अस्पताल बनाउन नदिने भन्दै सोमबार दुवै वडाका जनप्रतिनिधिसहितको एउटा समिति समेत गठन गरिएको छ ।  

‘बस्तीको बीचमा हुने भएकाले निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन उपयुक्त छैन भनेर हामीले भनिरहेका छौं,’भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्कीले भने । उक्त भवनमा कोभिड अस्पताल निर्माण गरिए जिल्लाको एक मात्र सरकारी अस्पताल मेची अस्पतालबाट सेवा लिने सेवाग्राही प्रभावित हुने कार्कीको भनाइ छ ।  

‘कोभिड अस्पताल बनाउने भनिएको भवनबाट ५० मिटर आसपासमा मेची अस्पताल, प्रसूति गृह, क्षयरोग निवारण केन्द्र छ,’ कार्कीले भने,‘यति नजिकमा अन्य बिरामीले कसरी सेवा लिन सक्छन् ?’झापामा कोभिड अस्पताल निर्माण गर्ने निर्णय स्वागतयोग्य भएपनि स्थान छनोट उचित नभएको उनको जिकिर छ ।भद्रपुर ८ का वडाध्यक्ष मनोज सुब्बाले स्थानीय जनप्रतिनिधिसंग समन्वय नै नगरि निर्णय गरेकाले विवाद सिर्जना भएको तर्क गरे । उनले स्थानीयको विरोधकाबीच मेची अस्पतालमा कोभिड अस्पताल बनाउन नहुने सुझाए । असन्तुष्ट स्थानीयको सोमबार बिहान भएको छलफलबाट जिल्ला सम्वन्य समिति, जिल्ला प्रशासनलगायतसंग संवाद गर्न स्थानीय भक्त खवासको संयोजकत्वमा एक समिति गठन गरेको सुब्बाले बताए ।  

जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले कोभिड अस्पतालका लागि मेची अस्पतालको निर्माणाधीन भवन उपयुक्त स्थान भएको दाबी गरे । उनले कोरोना संक्रमण भएकाको उपचार गर्ने अस्पताल बनाउन लागेकाले अस्पतालबाटै अन्यलाई संक्रमण फैलिन्छ भन्ने तर्क उचित नभएको बताए ।  

‘अस्पतालबाट अन्यलाई संक्रमण फैलिन्छ भन्ने तर्क आधारहीन छ । अस्पतालका लागि चाहिने पूर्वाधार निर्माणाधीन भवनमा पर्याप्त छ,’पोर्तेलले भने,‘यत्तिको पूर्वाधार अर्को ठाउँमा छैन । सम्भावित सबै ठाउँको स्थलगत अवलोकनपछि नै उक्त स्थान छनोट गरेका हौं ।’ उनले असन्तुष्ट पक्षसंग छलफलमार्फत समस्या समाधान गर्ने बताए ।समन्वय समितिको नेतृत्वमा मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो । प्रदेश सरकारको लगानीमा उक्त भवनमा १० वटा भेन्टिलेटरसहित एक सय शय्याको कोभिड अस्पताल बनाउने प्रक्रिया अघि बढाएको संयोजक पोर्तेलले जानकारी दिए । मेची अस्पताल नजिकैको जिल्ला स्वास्थ्य कार्यालयको तालिम केन्द्रमा पीसीआर परीक्षण गर्ने प्रयोगशाला पनि बनाउने निर्णय भएको पोर्तेलले बताए । पीसीआर प्रयोगशालासहितको कोभिड अस्पताल जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरि प्रक्रिया अघि बढाएको उनले बताए ।  

जिल्लाको चार वटा पालिकामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सोमबार अपरान्हसम्म जिल्लामा ३७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या प्रदेश १ मै सबैभन्दा बढी हो ।  

कचनकवल गाउँपालिकामा ३३, बाह्रदशी गाउँपालिकामा २ तथा दमक नगरपालिका र झापा गाउँपालिकामा एक/एक जनामा संक्रमण पुष्टि भएको हो । दमक र बाह्रदशीका गरि दुई जना उपचारपछि घर फर्किसकेका छन् भने अन्यका बिराटनगर र धरानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments