Incident Reports

मुसहरहरुको घर निर्माणमा भारतीय एसएसबीको अवरोध

2020-06-01

Madhes, Mahottari, Manra Siswa, Ward 10

जनकपुरधाम : नेपाल-भारत दशगजा क्षेत्रमा अति विपन्न मुसहर समुदायका लागि प्रदेश सरकारबाट भइरहेको घर निर्माण कार्य भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी) ले रोकाएका छन् ।

महोत्तरीको मनरासीसवा नगरपालिका—१० मधवा गाउँमा संघ सरकारको सशर्त अनुदानमा प्रदेश सरकार मार्फत् संचालित जनता आवास कार्यक्रम अन्तर्गत ४७ वटा घर निर्माण कार्य सुरु भएको थियो ।

दुईकोठे पक्की घर निर्माणका लागि प्रतिघर ३ लाख ३६ हजार रुपैयाँ बजेट छुट्याइएको थियो । तर, भारतीय पक्षको अवरोधले मुसहरको पक्की घर निर्माणको काम अन्योलमय बनेको छ ।

वर्षौँदेखि माटोको झुपडीमा जीवन काटिरहेका विपन्न मुसहरहरुलाई यस आर्थिक वर्षमा दुईकोठे पक्की घर बनाएर दिने प्रदेश सरकारको योजना भए पनि भारतीय एसएसबीको अवरोधले काम रोकेपछि काम अघि बढेको छैन ।

दशगजामै रहेको मुसहर बस्तीमा ४७ जना मुसहरहरुले लालपूर्जा देखाएपछि उनीहरुको घर निर्माणको गर्ने निधो गरिएको थियो । सिमानाका पिलरहरु भन्दा ४० फिट टाढा पर्ने जग्गाहरुमा मात्रै निर्माण गर्ने गरी जग खनेर १५ दिन अगाडि सो क्षेत्रकी निर्वाचित सांसद रानी शर्मा तिवारीले शिलान्यास पनि गरेकी थिइन् ।

तर, निर्माण सुरु हुन नपाउँदै भारतीय एसएसबीले अवरोध गरेपछि आफूहरुको सपना अधुरो रहेको मुसहरीका बेचन सदाले बताए । ‘दशगजा क्षेत्रमा कुनै पनि निर्माण गर्ने कानूनी प्रावधान छैन् भन्दै काम रोकाएका हुन् । अब यो हावाहुरी र वर्षातको बेला पक्की घरको आशमा भएको घर पनि भत्कायौँ अब ओत लाग्ने ठाउँ पनि छैन्,’ बेचनले बताए ।

नेपालकै जग्गामा आफ्ना नागरिकको लागि घर निर्माण गर्दा भारतीय एसएसबीले अनावश्यक विवाद सृजना गरेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका डिभिजनल ईन्जिनियर विनोद यादवले बताए ।

‘वर्षौँदेखि दशगजाको नेपाली भू भागमा यी मुसहर परिवारहरु बस्दैआएका छन् । गाउँब्लकमा पर्ने सो जग्गामा मुसहरहरुकै स्वामित्व रहेको भन्दै स्थानीय निकायले हामीलाई सिफारिस गरेपछि निर्माणको अनुमति दिएका थियौं तर, अहिले काम रोकिएको छ,’ इन्जिनियर यादवले बताए ।

विवादको टुंगो लगाउन मंगलबार सीमा नापी गर्ने अमिनलाई बोलाई नेपाल र भारतीय पक्षबीच छलफल डाकिएको यादवले जानकारी गराए । तीनवटा घरको कुर्सी निर्माण भइसकेको र अन्यका लागि निर्माण सामग्रीहरु खसालिसक्दा बीचमै काम रोकिएको छ ।

पुस्तौँदेखि सोही जग्गामा बस्दैआएका मुसहरहरुलाई अन्यत्र कतै सार्नसक्ने अवस्था पनि नभएको सांसद तिवारी भन्छिन् । यद्यपि आफुले उनीहरुो बासस्थानका लागि पहल गरिरहेको बताएकी छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Foreign State
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media

0 Comments