Incident Reports

राहत माग्न गएका दलितलाई मेयरले कुटे

2020-06-02

Madhes, Mahottari, Bhangaha

जनकपुरधाम : कोरोना संक्रमण व्यवस्थापन तथा नियन्त्रणमा सरकारले गरेको लकडाउनमा भोकभोकै बस्न बाध्य दलितले राहत माग्न जादा मेयरबाट कुटिएका छन् । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले राहत माग्न गएका दलितहरूलाई कुटपिट गरेका हुन् ।  

महामारीले महिनौंदेखि काम गर्न नपाएका गरिब तथा विपन्न मुसहर समुदाय मेयर संजिव साहकहाँ राहत माग्न जाँदा कुटिएको उनीहरुले बताएका छन्। मेयरबाट कुटिएका भंगहा नगरपालिका ३ की रीता देबी सदाले भनिन, ‘लकडाउनमा काम गर्न नपाएको दुई महिना भैसक्यो, घरमा एक सुक्को चामल छैन, बालबच्चालाई कसरी पाल्नु भनेर मेयर संजिव साहसँग राहत माग्न गएँ तर मेयरले उल्टै हामीलाई कुटे ।’

भंगहा नगरपालिका ३ का रामपृत सदाले मेयरलाई राहतको लागि गुहार्न जाँदा मेयरका भाइ बिनोद साहसहित मोटसाइकलमा आएका एक हुल मानिसले कुटेको आरोप लगाए । कुटाइबाट आफू बेहोस भएपछि साथीहरुले उठाएर फुटेको कानमा टेप लगाएको देखाउँदै उनले भने, ‘मलाई पिटेर कान नै फुटाइदिए, कानबाट रगत बगेर अहिले सुन्निएको छ ।’ 

पहिलो चरणको राहत वितरणमा ८ किलो चामल, तीन पाउँ दाल, १ लिटर खाने तेल, १ किलो नुनले दैनिकी नचलेको भन्दै ५० किलो चामल, १० किलो दाल, ५ लिटर खाने तेल, ३ किलो नुन माग्न गएका थिए । त्यही बेलामा मेयरका भाइ विनोद साहले आफूलाई कुटेको उनले बताए ।

भारतबाट सीमासम्म आएर अलपत्र परेका छोरा र नातिको उद्धार गरिदिन गुहार माग्न गएकी रजिया देवी सदालाई मेयरको मान्छेले ५० किलो चामल माग्न दिन जसले उस्कायो, उसैलाई ल्याइदिन लाउनु भनेर फर्काएको गुनासो गरिन् । उनले भनिन, ‘मेयर र वडा अध्यक्षलाई एक हप्तादेखि महोत्तरीमा मटिहानी नाकामा छोरा र नाति फसेको सुनाउँन जाँदा तेरो लागि हामी केही गर्न सक्दैनौं, आन्दोलन गर्ने बेला कोसँग सोधर गरिस् भनेर फर्काइदिए ।’ 

नगरमा मेयरको भाइ विनोद साहको डरले हतपत्त स्थानीयवासीले मेयरविरुद्ध बोल्दैनन् । ‘अहिले तपाईंहरु हाम्रो नाम र भिडियो समाचारमा हाल्नुहुन्छ, पछि मेयरको मान्छे आएर फेरि हामीलाई डराउँछ धम्काउँछ, ताल पर्‍यो भने कुट्छ पनि, हामीलाई धेरै बोल्नु छैन ।’ भंगहा नगरपालिका ३ मा पसल सञ्चालन गरेर जिविकोपार्जन गर्दै आएका अशोक यादवले मेयर गुण र दोषको आधारमा जनतासँग व्यवहार गर्ने बताए । यादवले भने, ‘मलाई कसले भोट दियो, कसले दिएन भन्ने मानसिकताबाट उठ्न नसकेकोले पटक–पटक जनतामाथि आफूबाट होस् वा आफ्नो गुण्डा लगाएर होस् कुटपिट गर्न लाउँछन् ।’  

यता भंगहा नगरपालिकाका मेयर संजिव साहले नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताले आफू र पार्टीलाई बदनाम गर्न झुठा हल्ला फिजाएको आरोप लगाए । उनले भने, ‘मेरो श्रीमतीको अप्रेशनमा केही दिनदेखि व्यस्त छु, मलाई केही थाहा छैन।’ गत वर्ष भंगहा नगरपालिकाका मेयर संजिव साहले आफ्नै नगरपालिकाको लेखापाल पवनकुमार अधिकारीलाई कुटेका थिए । हिसाब नदिएको झोकमा १० असोज २०७५ मा कुटपिट गरेका थिए । पछि असोज १४ मा जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरमा उजुरी दर्ता भएको थियो । सो काण्डमा मेयर फरारको सुचिमा थिए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Government Relief
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments