Incident Reports

सार्वजनिक चउर र घाट प्रयोगलाई लिएर झडप

2020-07-18

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 15

पोखराको पृथ्वी चोकस्थित ‘ट्रुथ एसेम्ब्ली चर्च’ मा एक साताअघि ६५ वर्षीय वृद्धको निधन भयो। क्रिश्चियन परम्पराअनुसार उनको शव पोखरा-१५, पटनेरीस्थित सेती नदी किनारको घाटमा गाड्न लगियो।

खाल्डो खन्दै गर्दा केही स्थानीयले विरोध गरे। भनाभनमै यो घटना टुंगो लाग्यो, तर विवाद टुंगिएन।

हिन्दु र क्रिश्चियन दुवै धर्मावलम्बीले यही घाट प्रयोग गर्दै आएका छन्। आ–आफ्नो परम्पराअनुसार घाटमा हिन्दुले शव जलाउँछन् भने नजिकै क्रिश्चियनले शव गाड्छन्। एकअर्काको घाट प्रयोग गरेको भन्दै विवाद हुँदै आएको दुवै पक्षले स्वीकार गरेका छन्।

यही विवादले उग्र रूप लिँदा शनिबार दुई पक्षबीच झडप भएको छ। केही घाइते भएका छन्। प्रहरीले विवादलाई उत्कर्षमा पुग्न नदिए पनि कसैलाई पक्राउ गरेको छैन।

घाट र घाटमाथिको सार्वजनिक चउर प्रयोगमा विवाद हुँदा झडपको स्थिति आएको उनीहरूले बताएका छन्।

हिन्दु धर्मका पक्षपातीले उक्त घाट संरक्षण गर्न भन्दै ‘सिद्धेश्वर भवन मण्डल तथा संरक्षण समिति’ बनाएका छन्। ‘हामीले गत वर्ष नै घाटमा वृक्षारोपण गरेका थियौं,' समितिका उपाध्यक्ष चित्रबहादुर भण्डारीले सेतोपाटीसँग भने, 'अहिले बिरुवालाई बार हालेर संरक्षण गर्न खोज्दा आक्रमण गरे।’

हिन्दुहरूले पुर्खौंदेखि प्रयोग गरेको घाटमा चार वर्षयता क्रिश्चिनहरूले शव गाड्न थालेको उनको दाबी छ। घाटनजिकै गत वर्ष क्रिश्चियनले शव गाड्न प्रयोग गरेको ठाउँमा तारबार गरेको र उक्त तारबार गाउँलेले फालिदिएको उनले बताए।

क्रिश्चियन पक्षले भने सिद्धेश्वर भवन मण्डल तथा संरक्षण समितिले आपसमा मिलेर अघि बढ्न नखोजेको दाबी गरेको छ।

पृथ्वी चोकस्थित चर्चका संस्थापक मुक्तिनाथ गुरूङले उक्त घाट क्रिश्चियन समुदायले २८ वर्षदेखि प्रयोग गरेको दाबी गरे। आफूहरूले वडा कर्यालयमा कुरा गर्दा त्यहाँ शव गाड्न पाउने बताएको तर भजन मण्डलले दिन्न भनेर विवाद झिकेको उनले बताए।

यो विवाद समाधानका लागि क्रिश्चियनलाई शव गाड्न अर्को घाटको व्यवस्था गर्नुपर्ने माग उपाध्यक्ष भण्डारीले गरेका छन्।

‘घाट विवादको स्थायी समाधान स्थानीय सरकारले दिनुपर्छ,' उनले भने, 'सेती नदीमा शव गाडेर त भएन। सेतीको बहाव थाहै हुँदैन, कहिले यता, कहिले उता हुन्छ।’

उनले यो घटनामा कुनै व्यक्तिगत र धार्मिक रिसिबी नरहेको बताए। उक्त विवाद वडा कार्यालयले नै जन्माएको उनले आरोपसमेत लगाए। घाट प्रयोगको विवादलाई लिएर पटक-पटक पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेललाई पत्र लेख्दा पनि चासो नदिइएको उनको भनाइ छ।

चर्चका संस्थापक गुरूङ पनि घाट र घाटमाथिको चउर प्रयोगबारे स्थानीय सरकारले कुनै समाधान नदिएको बताउँछन्। वडाध्यक्षले एक महिनाभित्र वार्ता गरेर समाधान दिन्छु भने पनि नदिएको उनको आरोप छ।

वडाध्यक्ष पौडेलले भने घाटमाथिको चउरलाई पार्क बनाउने विषयमा विवाद भएको र अहिले कोरोना महामारीबीच काम अघि नबढाउन दुवै पक्षलाई आग्रह गरेको बताए। त्यही आग्रह नमान्दा शनिबार तनावपूर्ण अवस्था आएको उनको भनाइ छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Religious sectarianism
Secondary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Christian
Actor 2 - Youth na
Total damaged Buildings n/a
National/Online Media

0 Comments