Incident Reports

शिक्षक र कर्मचारीले लगाए प्याव्सन, एन्प्याव्सन र युनिप्सको कार्यालयमा ताला

2020-07-21

लकडाउनपछिको सम्पूर्ण तलब पाउनुपर्ने भन्दै आन्दोलित नीजि तथा सामुदायिक स्कुलका शिक्षक/कर्मचारीले नीजि विद्यालयहरुको साझा संस्था प्याव्सन, एन्प्याव्सन र युनिप्सको जिल्ला स्तरीय कार्यालयमा तालाबन्दी गरेका छन्। नीजि तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन (प्याब्सीयू) ले मंगलबार प्याव्सन, एन्प्याव्सन र युनिप्सको कास्की जिल्ला शाखा कार्यालयमा तालाबन्दी गरेका हुन्। उनले कास्कीबाट शुरुवात भएको भन्दै यो अभियान देशव्यापी रुपमा जाने बताए।

शुरुमा सरकार र नीजि विद्यालयका साझा संस्थाहरुलाई ज्ञापन पत्र बुझाएको प्याब्सीयूले सोमबार शान्तिपूर्ण र्‍याली निकालेको थियो। र्‍याली पश्चात कोणसभासमेत गरेको प्याब्सीयूले मंगलबार भने कार्यालयमा ताला लगाएको हो। आफूहरुको माग सुनुवाई नभएकाले प्याव्सन, एन्प्याव्सन र युनिप्सको जिल्ला स्तरीय कार्यालयमा ताला लगाएको प्याब्सीयूका केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्यायले बताए।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनपछि नीजि विद्यालयहरुले तलब नदिएकाले सो तलब शिक्षक तथा कर्मचारीलाई दिलाउनका लागि ‘हामी पनि बाँच्न पाउँ, हाम्रो पेट खाली छ’ भन्ने मूल नारासहित आफूहरु आन्दोलनमा उत्रिएको उपाध्यक्ष उपाध्यायले बताए। चैतदेखि असारसम्मको तलब मात्र नभई विद्यालयले सम्बन्धन लिदा गरेका सम्पूर्ण शर्तहरुको पालना, योगदानमा आधारित सामाजिक सुरक्षामा जानुपर्नेलगायतका मागहरुपनि रहेको उनको भनाई छ।

उनले शिक्षक÷कर्मचारीलाई तलब नदिने निर्णय कुनैपनि हालतमा मान्य नहुने बताउँदै भने, ‘गोरुले असारमा मात्र जोत्छ भनेर असारमा मात्र घाँस हाल्दा हुन्छ? सँधैभरी घाँस हाल्नुपर्छ नि ! हो त्यसरी नै शिक्षकलाईपनि बाह्रैमास तलब उपलब्ध गराउनुपर्छ।’ उनले बेतलवी बिदादेखि आधा तलबसमेत मान्य नहुने बताए।

प्याब्सीयूले माग सम्बोधन नभए पालिका र पालिकाको शिक्षा महाशाखामा तालाबन्दी गर्ने, जिल्लास्थित शिक्षा समन्वय शाखामा तालाबन्दी गर्ने, खुलेका विद्यालयको मूल गेटमा तालाबन्दी गर्नेलगायतका आन्दोलन गर्ने उपाध्यक्ष उपाध्यायले चेतावनी दिए। उनले पोखरा महानगरपालिकाको मूल गेटमा बुधबार धर्ना दिने कार्यक्रम रहेको र त्यसपश्चात महानगरपालिकाका प्रमुखसँग वार्ता गर्ने तय भएको जानकारी दिए। उनले यति गर्दापनि विद्यालय सञ्चालकहरु टसकोमस नभए आमरण अनसनसमेत थाल्ने चेतावनी दिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments