Incident Reports

जिसस सभापतिले लगाए नगरपालिकामा ताला

2020-11-03

Madhes, Sarlahi, Malangawa

मलंगवा नगरपालिकामा मेयर–उपमेयरको उग्र विवाद मलंगवा नगरपालिकाका प्रमुख निरसल साह र उपप्रमुख शवनम मिकरानीबीचको विवाद बढ्दै जाँदा मंगलबार नगरपालिकाको कार्यालयमै तालाबन्दी भएको छ । जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले नगरपालिकामा तालाबन्दी गरेका हुन् । नगरप्रमुख साहले अपारदर्शी गतिविधि गरेको, विकासका काममा मनोमानी गरेको, आफ्नो भूमिकामा समेत हस्तक्षेप गरेको भन्दै सोमबार उपप्रमुख मिकरानीले

नगरपालिकाको लेखा शाखामा तालाबन्दी गरेकी थिइन् । उपप्रमुखले लगाएको ताला नगरप्रमुखले फोडेपछि अवस्था थप तनावपूर्ण बनेको थियो । नगरप्रमुखले ताला फोडेको खबर पाएपछि उपप्रमुख मिकरानी पुनः जुलुससहित तालाचाबी बोकेर नगरपालिका कार्यलय पुगेकी थिइन् । त्यसपछि विवाद उत्कर्षमा पुगेको थियो ।

मंगलबार बिहान पनि नगरपालिका कार्यालय परिसरमा नारा, जुलुस र धर्ना भएको थियो । अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । उपप्रमुख पुनः तालाबन्दीको तयारीमा रहेको र नगरप्रमुख दलबलसहित पुनः फोड्ने तयारीमा रहेको अवस्थामा पुगेर जिसस सभापति आफैँले कार्यालयमा ताला लगाएका हुन् । 

द्वन्द्व अन्त्य गर्न ताला लगाएँ : जिसस सभापति

दुवै पक्षबीच छलफल गरेर समस्या समाधान गरेपछि आफैँले ताला खोलिदिने जिसस सभापति चौधरीले बताए । ‘नगरप्रमुख पक्ष र उपप्रमुख पक्षबीचको विवादले द्वन्द्वको रूप लिएपछि विवाद मिलाउन कार्यालयमा तालाबन्दी गर्नुपरेको हो,’ जिसस सभापति चौधरीले नयाँ पत्रिकासँग भने, ‘दुवै पक्षलाई छलफलमा राखेर समस्या समाधान गरेपछि ताला खोलिनेछ ।’ 

यसअघि विवाद समाधानका लागि पटकपटक दुवै पक्षबीच छलफल गराएको उनले जानकारी दिए । ‘विवाद समाधान गर्न लामो समय छलफल गराएको हुँ । तर, दुवै पक्ष टसमस नभएपछि दुवैको रोहबरमै अनिश्चितकालीन तालाबन्दी गरेको हुँ,’ उनले भने । समस्या समाधानका लागि तत्काल छलफलमा बस्न उनले आग्रह गरेका छन् । 

उपप्रमुखको माग : कोरोना खर्च पारदर्शी होस्

उपप्रमुख मिकरानीले नगरप्रमुखका गलत क्रियाकलापका कारण वर्तमान अवस्था आएको बताइन् । प्रशासकीय अधिकृत होमनाथ सुवेदीसँग मिलेर नगरप्रमुख साहले परिषद्को निर्णयविपरीत कार्य सम्पादन गरेको उनको आरोप छ । ‘परिषद्का निर्णयविपरीतका काम भएका छन् । मनपरी ढंगले कर्मचारी राख्ने–निकाल्ने गरिएको छ । सफाइ कर्मचारीलगायतको तलब–भत्ता दिइएको छैन,’ उपप्रमुखले आफ्नो दाबी प्रस्तुत गर्दै भनिन्, ‘विकासको काममा अनियमितता गरिएको छ । विरोध गर्दा उल्टै ममाथि आरोप–प्रत्यारोप गरिएपछि तालाबन्दी गरेकी हुँ ।’ उनले कोरोना नियन्त्रणमा भएको खर्च तथा कृषि सिँचाइको हिसाव पारदर्शी ढंगले सार्वजनिक गर्न माग गरेकी छिन् । 

नगरप्रमुख भन्छन् : आरोप झुटा हुन्

नगरप्रमुख साहले भने केही वडाध्यक्षको साथ लिएर उपप्रमुख आफ्नोविरुद्धमा लागेको आरोप लगाए । आर्थिक अनियमिततालगायत आरोपमा कुनै सत्यता नभएको भन्दै उनले नयाँ पत्रिकासँग भने, ‘ममाथि लगाइएका सबै आरोप झुटा हुन् । उपप्रमुखले आफ्नो स्वार्थपूर्ति गर्न केही वडाध्यक्षको सहयोग लिएर मेरो बदनाम गर्न खोजेको हो । नीति–नियमविपरीत कुनै काम गरेको प्रमाणित भए दण्ड सहन तयार छु ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments