Incident Reports

गोरखा अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार

2020-12-05

Gandaki, Gorkha, Gorkha

२१ मंसिर, गोरखा । बिरामीका आफन्तसँगको विवादको विषयलाई लिएर आइतबार गोरखा अस्पतालका स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा बन्द गराएका छन् ।

शुक्रबार विहान सुत्केरी भएकी गोरखा नगरपालिका–३ घलाङकी महिलाका श्रीमान र आफन्तले आफूहरुमाथि दुर्व्यवहार र हातपात गरेको चिकित्सक डा. सन्दीप श्रेष्ठले बताए ।

प्रसुति वार्डमा सुत्केरी लडेको विषयलाई लिएर उनका श्रीमान र चिकित्सक श्रेष्ठबीच शनिबार विवाद सुरु भएको थियो । त्यही विषयलाई लिएर उनीहरुबीच विवाद बढेको र चिकित्सकले पूर्ण रुपमा निको नभइसकेकी सुुत्केरीलाई डिस्चार्ज गरिदिएको आफन्तको दावी छ ।

‘सुत्केरी बाथरुम जाने क्रममा लड्नुभएछ, सिनियर डाक्टर र म राउण्डको क्रममा त्यहाँ पुगेपछि देख्यौ र बिरामीका आफन्त र हामी मिलेर उहाँलाई वेडमा ल्याएर उपचार गर्न थाल्यौं,’ अस्पतालका डा. सन्दीप श्रेष्ठले भने, ‘त्यही बेला बिरामीका दुई जना मान्छे भित्र आउन खोज्नुभयो, हामीले दिएनौं, अर्काे ढोकाबाट जवर्जस्ती पस्नुभएछ, हामीले किन आउनुभएको भन्दा हामीलाइ कुट्छु भन्दै गाली गर्नुभयो ।’

बिरामीको आफन्तले गाली गरेपछि आफूहरुले बिरामी डिस्चार्ज गरिदिएको श्रेष्ठले बताए । ‘कुट्छु भन्दै गाली गर्न थालेपछि हामीले इनसेक्युअर फिल (असुरक्षित महसुस) गर्‍यौं, अनि बिरामीको मान्छेसँग छलफल गरेर यस्तो वातावरणमा हामी फर्दर (थप) उपचार दिन सक्दैनौं भनेर रिफर कागज बनाएर म खाना खान गएँ,’ डा. श्रेष्ठले भने ।

खाना खाएर इमरजेन्सी वार्डमा फर्कने क्रममा सुत्केरीका श्रीमानसहित केही व्यक्तिहरु जम्मा भएको र आफूलाई मुख छाडेको उनले बताए । ‘बिरामीका आफन्तले धेरै मान्छे जम्मा गरिसक्नुभएको रहेछ, हुलमुल थियो, त्यही हुलबाट मलाई हात छाडे तर सिनियर डाक्टर गणेशलाई लाग्यो,’ श्रेष्ठले भने ।

सुत्केरी महिलाका श्रीमान देवेन्द्रजंग कुवँरले भने चिकित्सकले आफूमाथि अभद्र व्यवहार गरेको बताएका छन् । ‘मैले ढोकाबाहिरैबाट हेरिरहेको थिएँ, एक्कासी डाक्टरले घरीघरी यताउता गरेर डिस्टर्ब गरेको, कस्ता कस्ता मान्छे आउछन् छ्या भन्नुभयो, मैले भित्र जान पाइदैन भन्नू म जान्न तर यसरी भन्ने होइन मात्र भनेको थिएँ, तुरुन्त बिरामी लैजा भनेर डिस्चार्ज पेपर लेख्नुभयो,’ कुवँरले भने ।

आफूहरुले चिकित्सकको व्यवहार सच्याउन आग्रह गर्दा नमानेको उनले बताए । घटनाको छानविन गरी कारवाही गर्न माग गर्दै कुँवरले अस्पतालमा निवेदन पनि दिएका छन् ।

छानबिन समिति गठन

घटनाको छानबिनका लागि अस्पताल विकास समितिले समिति गठन गरेको छ । आइतबार समितिको बैठकले भाइचन्द्र श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिले एक हप्तामा प्रतिवेदन बुझाउने अस्पताल विकास समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले बताए ।

चिकित्सक श्रेष्ठमाथि कारबाही गर्न माग

गोरखा अस्पतालमा सुत्केरी महिला र कुरुवालाई डा. सन्दीप श्रेष्ठले दुर्व्यवहार गरेको भन्दै कारवाही गर्न नेपाल विद्यार्थी संघ गोरखाले माग गरेको छ । शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै कारवाही नगरे सशक्त आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।

त्यस्तै अस्पताल विकास समिति कर्मचारी यूनियन इकाइ गोरखा अस्पताल इकाइ समितिले चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media

0 Comments