Incident Reports

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा फेरि तोडफोड

2021-01-20

Province 1, Morang, Biratnagar

विराटनगर । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा मङ्गलबार दिउँसो पुनः तोडफोड भएको छ । यसअघि पुस १९ गते पनि उक्त कार्यालयमा तोडफोड भएको थियो ।

पहिलो पटक तोडफोड भएको तीन साता पुग्न नपाउँदै दोस्रो पटक ट्रेड युनियन दर्ता तथा नवीकरण प्रक्रियाका विषयमा भएको विवादलाई लिएर कार्यालयमा पुनः तोडफोड गरिएको हो ।

घटनामा संलग्न विराटनगरस्थित हुलास मोटर्समा कार्यरत दुई जना मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोडफोड गर्ने विराटनगर महानगरपालिका–१३ का ६६ वर्षीय जोगीलाल यादव र विराटनगर–१६ का ४७ वर्षीय अर्जुनप्रसाद यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

तोडफोडबाट कार्यालयको उत्तरतर्फको झ्यालको सिसा फुटेको छ । उद्योग तथा कलकारखानामा कार्यरत मजदूर आवद्ध रहने ट्रेड युनियन दर्ता र नवीकरण प्रक्रियाका विषयमा विवाद हुँदा मजदूरहरू तोडफोडमा उत्रिएको श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत रामप्रसाद तिमल्सिनाले बताए ।

मजदूरहरूले ट्रेड युनियन दर्ताका लागि कार्यालयमा निवेदन दिएको र त्यसकै प्रक्रिया अघि बढाउनेक्रममा सनाखतका लागि बोलाइएका मजदूरहरू नियमविपरीतको माग गर्दै तोडफोडमा उत्रिएको उनको भनाइ छ ।

उनका अनुसार मजदूरहरूले नेपालमा मजदूरी गर्दै आएका भारतीय नागरिकले पनि युनियनमा प्रवेश पाउनुपर्ने माग गरेका थिए । तर नियमले भारतीयलाई राख्न मिल्दैन भनेपछि उनीहरू तोडफोडमा उत्रिएको तिमल्सिनाले बताए ।

श्रमिकको हकअधिकार र श्रम ऐन कार्यान्वयनका लागि कुनै पनि स्थानमा कार्यरत मजदूरमध्ये कम्तीमा २५ प्रतिशतले ट्रेड युनियन दर्ता गर्न पाउने नियम छ । युनियन प्रत्येक दुई–दुई वर्षमा दर्ता र नवीकरण गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।

त्यस्तै यसअघि पनि पुस १९ गते कार्यालयमा सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर प्रालिमा कार्यरत रमेश थापा र सुशील गच्छदारले तोडफोड गरेका थिए । उनीहरू अझैसम्म पक्राउ परेका छैनन् ।

तोडफोड गर्नेमध्ये थापा नेपाल कारखाना श्रमिक सङ्घका प्रदेश १ अध्यक्ष र गच्छदार सुनसरी जिल्ला अध्यक्ष रहेको कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए ।

कार्यालयको सुरक्षार्थ हतियारसहितका प्रहरी कर्मचारी परिचालन गरिदिन आग्रह गरिए पनि अहिलेसम्म सुनुवाई नहुँदा फेरि तोडफोडको अर्को घटना भएको उनको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments