Incident Reports

भद्रपुर नाका खुलाउनु पर्ने माग राख्दै नगरपालिका कार्यालय घेराउ

2021-02-14

Province 1, Jhapa, Bhadrapur

झापा : पूर्वी नेपालको झापास्थित भद्रपुर नाका खुलाउन गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले आइतबार बिहान भद्रपुर नगरपालिकाको कार्यालय घेराउ गरेका छन्।

कोभिड १९ का कारण बन्द गरिएको भद्रपुर नाका ११ महिना बित्न लाग्दा समेत खुलाउन सरकार गम्भीर नदेखिएको भन्दै नेपाली कांग्रेस वडा नम्बर ५ समितिले नगरपालिका कार्यालय घेराउ गर्दै चर्को नाराबाजी गरेका छन्।

कार्यकर्ताले सीमा नाका खुला गर, बेरोजगारलाई रोजगार दे, लोकतन्त्र जिन्दावाद भन्ने नारा लगाएका थिए। नाराबाजीपछि कांग्रेस वडा समितिले तुरुन्त नाका खुलाउनु पर्ने माग राख्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। वडा समितिका सभापति रमेशचन्द्र झाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन्।

‘भद्रपुर नाका बन्द भएको कारणले यस क्षेत्रका बासिन्दालाई भारत जान काँकडभिट्टा नाका प्रयोग गर्न बाध्य पारिएको छ। सीमा नाकासँग जोडिएको यस क्षेत्रका कतिपय नागरिक सीमा पारी नाता आफन्त भेटघाटमा असहजता पुग्नुका साथै रोटी बेटीको सम्बन्ध भए पनि बिहाबारी र औषधि उपचार गराउन समेत समस्या उत्पन्न भइरहेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘कोरोना संक्रमणका कारण लगाइएको लकडाउन महिनौँ पहिले सरकारले हटाइसकेको छ। सामाजिक भेटघाट मात्र नभई सम्मेलन गर्न समेत कुनै रोकटोक नरहेको तथा कोरोनाविरुद्धको भ्याक्सिन पनि लगाउन थालिसकेको अवस्थामा भद्रपुरसहित अन्य नाका बन्द राख्नु कुनै औचित्य देखिएन।’

दुवै देशका नागरिकको असहजतालाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मेची पुलबाटै आवतजावत सञ्चालन गराउन सरकारलगायत सम्बद्ध पक्ष समक्ष कांग्रेसले गम्भीर ध्यानाकर्षण गराएको छ।

यता ज्ञापनपत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भद्रपुर नाका खुलाउने विषयमा सरकारलाई पहल गर्ने भनी नगर कार्यपालिका बैठकमा निर्णय भइसकेको बताए। सोही निर्णय बमोजिम नगरपालिकाले सरकारलाई पत्र पठाइसकेको र थप पहल गर्न निम्ति नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई कांग्रेसले बुझाएको ज्ञापनपत्रबारे जानकारी गराउने उनले बताए।

सरकारले कोरोना भाइरसको महामारीपछि देशभरका नाका बन्द गराएको थियो। पछिल्लो समयमा कोरोना महामारी नियन्त्रण हुँदै गएपछि सरकारले ३० वटा नाका अति आवश्यक र घरायसी प्रयोजनका लागि खुला गरेको छ। सरकारले झापाको काँकडभिट्टा र गौरीगञ्जको खजुरगाछी नाका खुला गरेको छ। मूल भन्सार रहेको जिल्लाकै दोस्रो ठूलो नाका भद्रपुर नखुलाएपछि यहाँ स्थानीय आक्रोशित बनेका छन्। मेची पुल बन्द गरे पनि नदी तथा खेतबाट नियमित रुपमा दुवै देशका नागरिक सहज रुपमा आवतजावत गरिरहेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments