Incident Reports

शिक्षकलाई तलब खुवाउने विषयमा विवाद : वडाध्यक्षले कुटे प्रशासकीय अधिकृत

2021-03-10

Madhes, Sarlahi, Barahathawa

शिक्षकलाई तलब खुवाउने विषयमा विवाद हुँदा बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल, शिक्षा शाखाका कर्मचारी भूपनारायण अधिकारी (राय) माथि कुटपिट भएको छ । बरहथवा नगरपालिका–१७ का वडाध्यक्ष रामविश्वास राय, दुर्गा सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण राय र सोही विद्यालयका प्रधानाध्यापक फेकु रायलगायतले कर्मचारीमाथि कुटपिट गरेका हुन् ।

जनप्रतिनिधि र उनीनिकट व्यक्तिले कुटपिट र दुर्व्यवहार गरेको भन्दै बरहथवा नगरपालिकाका कर्मचारी अनिश्चितकालीन धर्नामा बसेका छन् । कर्मचारीमाथि गालीगलोज र हातपात गर्नेमाथि कारबाहीको माग राख्दै कर्मचारी बुधबार कार्यालयको मूलगेटमा धर्ना बसेका हुन् । 

वडाध्यक्षसहित आएको टोलीले एक्कासि गालीगलोज गर्दै टेबल, कुर्सी र मुक्का प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताए । वडाध्यक्ष राय र शिक्षा शाखाका कर्मचारी अधिकारीबीच कुटाकुट भएको नगर शिक्षा शाखा प्रमुख अनिलकुमार साहले बताए । जिल्लाबाट पठाइएका केही शिक्षकलाई तलब खुवाउने विषयमा अधिकारीमाथि कुटपिट भएको उनको भनाइ छ ।

‘जिल्लाले पठाएका शिक्षकहरूको अझै विभागबाट तलब आएको छैन,’ उनले भने, ‘उहाँहरूले अबको चौमासिक तलबभत्ता आउँदा सबैलाई आउनुपर्छ भन्नुभयो, हामीले विभागबाट नआई हामी तलब खुवाउन सक्दैनाैँ भन्यौँ, उहाँहरू एक्कासि गालीगलोजसहित हातपातमा उत्रिनुभयो ।’ जनप्रतिनिधिकै अगुवाइमा कर्मचारीको मनोबल कमजोर बनाउने काम भएको उनकोे गुनासो छ । 

वडाध्यक्ष रायले गत वर्ष पनि नगरमा यस्तै उत्पात मच्चाएको तर कारबाही नहुँदा उनको मनोबल बढेको नगरका स्वास्थ्य संयोजक सत्यनारायण रायको आरोप छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेश राउत र सहायक लेखापाल रामबाबु रायमाथि वडाध्यक्ष रायले दुर्व्यवहार गरेका थिए । ‘उनलाई कुनै कारबाही भएन, त्यसैले उनले आफूले भनेको भएन भनी कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरिरहेका छन्,’ स्वास्थ्य संयोजक रायले भने ।

आन्दोलित कर्मचारीले वडाध्यक्षमाथि कारबाहीको मागसहित नगर प्रमुख देवानन्द महतोलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । पटक–पटक कर्मचारीमाथि हातपात गर्दै आएका वडाध्यक्ष रायलाई कानुनी कारबाही नगरेसम्म कार्यालयको कामकाज ठप्प पारी अनिश्चितकालीन धर्नामा बस्ने प्रमुख प्रशासकीय अधिकृत भुजेलको भनाइ छ । ‘यसरी कार्यालयको कार्यकक्षमै दुर्व्यवहार गर्नेमाथि कारबाही हुनुपर्‍यो,’ उनले भने, ‘जनप्रतिनिधिबाटै यस्तो गतिविधि भएपछि कसरी कार्यसम्पादन गर्नू ?’ 

वडाध्यक्ष रायले भने कर्मचारीमाथि दुव्र्यवहार नगरेको दाबी गरे । आफूले अलपत्र अवस्थामा छाडिएको गाउँको सडकका कारण स्थानीयलाई सास्ती भएको कुरा जानकारी मात्र गराएको उनको दाबी छ । वडाध्यक्ष रायले जनताले गुनासो गरिरहेकोबारे ध्यानाकर्षण गराउने क्रममा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य चर्काचर्की मात्रै भएको बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments