Incident Reports

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आधा घण्टा ताला

2021-03-26

Province 1, Khotang, Sakela

खानेपानी योजनामा अनियमितता भएको भन्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले खोटाङको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन्।साकेला गाउँपालिका–३ खिदिमा मुहान भएको सौरे घट्टेखोला खानेपानी योजनाको पारदर्शीतामाथि प्रश्न उठाउँदै कांग्रेस क्षेत्रीय सभापति तिर्थराज भट्टराई नेतृत्वको टोलीले शक्रबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत रबिन मगरको कार्यकक्षमा ताला लगाएका हुन्।

साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङस्थित हुपापु र नौलाखर्कका उपभोक्ताका लागि सञ्चालन गरिएको खानेपानी योजनामा पारदर्शीता कायम नभएको पाइएकाले दिउँसो २.१० बजेदेखि २.४० बजेसम्म ताला लगाइएको कांग्रेस क्षेत्रीय सभापति भट्टराईले बताए। कार्यकक्षमा ताला लगाउनेक्रममा प्रमुख प्रशासकीय अधिकृत मगर भने कार्यालयमा थिएनन्।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमार्फत आर्थिक वर्ष २०७६/०७७ मा प्राप्त भएको ७६ लाख १६ हजार ८५६ मध्ये ६६ लाख ३४ हजार १८३ रुपैयाँ निकासा भएको योजनामा लाखौं भ्रष्टाचार भएको ताला छेउमा टाँसिएको विज्ञाप्तीमा उल्लेख छ। अनियमितताका विषयमा प्रमुख जिल्ला अधिकारीलाई स्मरण–पत्र बुझाउँदा समेत बेवास्ता गरिएकाले पहिलो चरणको आन्दोलन स्वरुप प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आधा घण्टा तालाबन्दी गरेर सांकेतिक विरोध सुरु गरिएको सभापति भट्टराईले बताए।

योजना सञ्चालनका लागि ७५ एमएम र ६३ एमएमको ९ हजार ७९ मिटर पाईप प्रयोग हुने स्टीमेट भए पनि ३ हजार ७७० मिटर मात्र प्रयोग भएको र बाँकी ५ हजार ३०९ मिटर पाईप बेपत्ता बनाइएको कांग्रेसको आरोप छ। कांग्रेसले १५ दिनभित्र सम्वन्धित निकायबाट छानविन गरी भ्रष्टाचारीलाई कारबाही र क्षतीपुर्ती समेत असुल उपर गर्न माग गरेको छ। कांग्रेसले वडा कार्यालय मात्तिम मानेभञ्ज्याङलाई जानकारी नदिइ मनोमानी ढंगले उपभोक्ता समिति गठन गरिएको, योजना सञ्चालन सुरु गर्दा र फरफराक गर्दा वडा कार्यालयको सिफारिस नलिइएको, सार्वजनिक सुनुवाई नगरिएको, आयोजनासँग सम्वन्धित होर्डिङबोर्ड नराखेको, अनुगमन समितिको सिफारिस बिनै बजेट निकासा गरी मिलेमतो गरेर फरफारक गरेको भन्दै छानविन गर्न माग गरेको छ। गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का संयोजकत्वको अनुगमन समितिले गत माघ २३ गते गाउँपालिका समक्ष बुझाएको प्रतिबेदनमा पनि गलत प्रकृया अपनाएर योजनाको काम गरिएको उल्लेख छ। पाँच पृष्ठ लामो प्रतिबेदनमा आयोजना सञ्चालनका क्रममा ७ बुँदे कमजोरी भएको र ५ बुँदे सुझाव समेटिएको छ। यद्यपी सो प्रतिबेदनमा आर्थिक अनियमितता भएको बुँदा भने उल्लेख छैन।

साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले भने राजनैतिक ‘इस्यू’का लागि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको प्रतिक्रिया दिएका छन्। ‘यो गाउँपालिकाको बजेट होईन। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको बजेट हो। उपभोक्ता समिति गठन गर्ने, सम्झौता गर्ने र फरफारक गर्ने उसकै काम हो। हामीले प्राविधिक मूल्यांकनको आधारमा फस्र्यौट गरिदिन भनेर सिफारिस दिएका हौँ,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘यो योजना गाउँपालिकासँग टच नै छैन। काम गर्नेक्रममा सम्वन्धित कार्यालय प्रकृयामा चुकेको देखिन्छ तर बदनियतपुर्ण तरिकाले गाउँपालिकामा ताला हाल्ने काम भएको छ। यसमा राजनिती घुसेको छ। ताला हाल्नु राम्रो होईन।’

चालु आर्थिक वर्ष सोही योजनाका लागि थप ३९ लाख १७ हजार ३६८ बजेट प्राप्त भएको छ। क्रमागत योजना भएकाले खानेपानी आयोजनाको बाँकी काम सोही बजेटबाट पुरा गरिने जनाइएको छ। स्थानीयले खानेपानी आयोजनामा पारदर्शीताको प्रश्न उठाएपछि तत्कालिन निर्माण उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष बिक्रम चौंलागाईको ठाउँमा भीमबहादुर खड्कालाई राखिएको गाउँपालिका अध्यक्ष खड्काले बताए। यस विषयमा प्रतिक्रिया लिनका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनलाई सम्पर्क गर्दा फोन उठेन।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments