Incident Reports

जितपुरसिमरावासीले ४ घण्टा सडक अवरुद्ध पारे, धुलाे नियन्त्रण गर्न माग

2021-04-04

Madhes, Bara, Jitpur Simara

बाराको जितपुरसिमराका बासिन्दाले सडक अवरुद्ध गरेका छन् । वीरगञ्ज–पथलैया सडकखण्डको बजनीमा उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।व्यापारिक मार्ग विस्तार योजनाअन्तर्गत सडक निर्माणमा देखिएको ढिलासुस्ती र लापरबाहीका कारण धुलो उडेर जनजीवन कष्टकर भएपछि स्थानीयले विरोधमा सडक अवरुद्ध पारेका थिए । आफूहरुले बिहान ८ बजेदेखि सवा १२ बजेसम्म सडक अवरुद्ध पारेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले भने ४५ मिनेट मात्रै सडक अवरुद्ध भएको दाबी गरेको छ । बजनीमा सडक अवरुद्ध हुँदा आर्थिक नगरी वीरगञ्ज हुँदै देशका विभिन्न ठाउँमा छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन, मालबाहक सवारी तथा निजी सवारीको लामो लाम लागेको थियो । सडक निर्माणमा भइरहेको ढिलासुस्तीबाट आजित बनेका सवारी चालकहरुले समेत स्थानीयको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।

स्थानीय सुनिल गुप्ताका अनुसार सडकको धुलो नियन्त्रण नगरिदिँदा निकै सास्ती भइरहेको छ । ‘सीसा लगाएको घरमासमेत सडकबाट उडेको धुलो छिरिरहेको छ । खाने थाल, सुत्ने ओछ्यान जता गएपनि धुलो नै धुलो हुन्छ । हामीले कहिलेसम्म यस्तो सास्ती बेहोर्ने रु’ उनले भने, ‘त्यसैले सडक अवरुद्ध पारेर विरोध प्रदर्शन गरेका हौं ।’

सडकको धुलो बस्तीमा पुगेर घरघरमा मानिसहरु बिरामी पर्न थालेपछि स्थानीयले स्वतःस्फूर्त रुपमा सडक अवरुद्ध गरेको जितपुरसिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष जगरनाथ घिमिरेले बताए ।

‘कच्ची सडकमा पानी हालिएन, सवारी साधन गुड्दा अत्याधिक धुलो उड्यो, पीडित भयौं भनेर स्थानीय स्वतःस्फूर्त रुपमा सडकमा आएका हुन्,’ उनले भने, ‘छिटो बाटो बनाऊ, धुलो उड्ने सडकमा पानी हाल भनेर पटकपटक आग्रह गर्दा पनि टेर्दैनन् ।’

उनले निर्माण कम्पनी, आयोजना कार्यालय, उद्योग वाणिज्य संघ, इलाका प्रशासन लगायत सरोकारवाला बसेर तीन पटक सडक बनाउन आग्रह गरिसकेको भएपनि निर्माण कम्पनीले अटरी गरेर दुःख दिएको बताए । सिमरास्थित सूर्य टोबाको कम्पनीदेखि जितपुरस्थित आर्मी क्याम्पसम्मको सडक निर्माणको जिम्मा शर्मा, युनाइटेड बिल्डर्स, दिवा निर्माण सेवा जेभीले लिएका छन् । काम जेभीले लिएपनि युनाइटेड फिल्डमा छ । २०७३ साल असार २९ गते ठेक्का सकार गरेको कम्पनीले अहिलेसम्म ४७ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

सडक खुलाउन ४ बुँदे सहमति

उनीहरुले व्यापारिक मार्ग आयोजनाका प्रमुख, ठेकेदार कम्पनीका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग मात्रै वार्तामा बस्ने अडान लिएका थिए । तर प्रहरीले सडक खोलेर वार्ता मार्फत समस्याको समाधानका लागि आग्रह गरेको थियो । धुलो नउड्ने वातावरण बनाइदिने आश्वासन दिएर वार्तामा बसाइएको थियो ।

इलाका प्रशासन, आयोजना कार्यालय, निर्माण कम्पनीका प्रतिनिधि, जनप्रतिनिधिलगायत सरोकारवालाबीच भएको वार्तामा ४ बुँदे सहमति भएको छ । सडक निर्माणको गतिमा तीव्रता दिने, धुलो उड्न नदिन नियमित पानी हाल्ने व्यवस्था ठेकेदार कम्पनीले मिलाउने, पाक्षिक रुपमा समीक्षा बैठक बसेर निर्माण कम्पनीलाई सुझाव दिने र चित्तबुझ्दो काम नगरे सडक विभागमा ठेक्का रद्द गर्नका लागि आयोजना कार्यालयमार्फत सिफारिस गर्ने सहमति भएको छ । बैठकमा सहभागी कृष्ण खनालले सडक एकतर्फी मात्रै सञ्चालन गरेर निर्माणको काममा गति दिने सहमति भएको र त्यसो नभएमा पुनः जनता सडकमा उत्रने बताए ।

‘धुलोले गर्दा सास्ती भएपछि जनता सडकमा आएका हुन्, काममा तीव्रता दिनु भन्नुको अर्थ गुणस्तरमा ध्यान नदिनु भनेको हैन,’ उनले भने, ‘पाक्षिक रुपमा बस्ने बैठकमा सुझाव दिने कुरा छ, चित्तबुझ्दो काम नगरे ठेक्का रद्द गर्न दबाब दिन्छौं ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments