Incident Reports

सुरु भयो कास्कीमा निषेधाज्ञा

2021-04-28

समाधान संवाददाता, पोखरा

कोरोना संक्रमण बढेपछि कास्कीमा निषेधाज्ञा सुरु भएको छ । २१ वैशाख राति १२ बजेसम्म रहने गरी बुधबार बिहान ६ बजेदेखि कास्कीमा निषेधाज्ञा लागु भएको हो ।

यो अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर हिँड्डुल गर्न पाइँदैन । एम्बुलेन्स, दमकल, खाद्यान्न, दूध, तरकारी, निर्माण सामग्री बोक्ने गाडीसहित अत्यावश्यक सवारी चलाउन पाइन्छ । सार्वजनिक तथा निजी सवारी जोरबिजोर (जोर गते जोर र बिजोरमा बिजोर) मात्र चलाउन पाइनेछ ।

फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन । औषधी पसल भने २४ सै घन्टा खोल्न पाइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन् । खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ बजेदेखि राति ८ बजेसम्ममात्रै खोल्न पाइनेछ ।

होटल तथा रेस्टुरेन्टले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ‘टेक अवे’ सुविधामात्रै सञ्चालन गर्न पाउने प्रजिअ गौतमले बताए । बैंक तथा वित्तीय संस्थाले पनि नेपाल राष्ट्र बैंकसँग सहकार्य गरीसिमितकर्मचारीको उपस्थितिमा सेवा प्रवाह गर्न पाउने छन् ।

घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

कास्कीमा पछिल्लो २ सातायता कोरोना संक्रमण ह्वात्तै बढेको छ । अहिले कास्कीमा ७ सय २७ सक्रिय संक्रमित छन् । कास्कीमा कुल ९ हजार ३ सय ७ जना संक्रमितमध्ये १ सय २० जनाको मृत्यु भएको छ ।

अदालत आशिंकरुपमा खुल्ने

कास्की जिल्ला अदालतले आशिंक सेवा दिने भएको छ । बुधबारबाट लागू निषेधाज्ञामा अदालत ‘आशिंक’ रुपमा सञ्चालन गरिनेछ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार आशिंक रुपमा अदालत सञ्चालन गर्न लागिएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए ।

अदालतले निषेधाज्ञाको अवधिभर बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाई, बाल सुधार गृहका बालबालिका जिम्मा लिने निवेदनमाथिको कारबाही, पक्राउ पुर्जी अनुमति, म्याद थप, अभियोगपत्र दर्ता, बयान र थुनछेक बहस गर्नेछ ।

सक्रिय संक्रमित हजार नाघे

गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । मंगलबार १ सय १३ जना थपिएसँगै सक्रिय संक्रमित संख्या १ हजार ९ पुगेको छ ।

सबैभन्दा धेरै कास्कीमा ७ सय २७ सक्रिय संक्रमित छन् । कुल सक्रिय संक्रमितमध्ये ८ सय ८२ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मंगलबार कास्कीका ९७, बागलुङका ४, तनहुँ र नवलपुरका ३÷३, स्याङ्जा र पर्वतका २÷२, लमजुङ र म्याग्दीका १÷१ जनामा कोरोनो पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसहित गण्डकीमा संक्रमित संख्या १७ हजार ९ सय ५१ पुगको छ । तीमध्ये १६ हजार ७ सय २५ जना निको भएका छन् ।

प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार तनहुँ र गोरखाका १÷१ संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका ९ का ८३ वर्षीय पुरुष र गोरखाको पालुङटार नगरपालिका ५ की ६७ वर्षीय महिला छन् । योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ ।

Update

कास्कीमा वैशाख ३१ सम्मका लागि निषेधाज्ञा घोषणा

पोखरा । कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कास्की जिल्ला भर दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि सूचना जारी गर्दै बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा गरिएको उल्लेख गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकलाई रोक लगाइएको छ । 

जिल्लाभित्र एक सातादेखि जोरबिजोर प्रणाली लागू गरिएकोमा त्यसलाई रोकी सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी सञ्चालनमा समेत रोक लगाइएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । यस्तै अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सञ्चारकर्मीका सवारी साधन, फोहरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कार लगायतका सवारी साधन सञ्चालन गर्न भने पाइने छ । 

कुनैपनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न र सभा जुलुस गर्न रोक लगाइएको छ । यस्तै परम्परागत रुपमा भइआएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक कुनै पनि धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट गर्न रोक लगाइएको छ ।

कुनै पनि प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ । होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने छ । त्यो सम्भव नभए न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्न पाइने छ। स्वाथ्य संस्था तथा औषधि पसल २४ घण्टा खोल्न पाइने छ भने खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु (माछामासु,फलफूल, तरकारी, खाद्यान्न) लगायतका व्यवसायीक प्रतिष्ठान विहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ ।

अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र भौतिक दूरी कायम गर्नुपर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुनअनुसार कारवाही हुने जनाइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments