Incident Reports

कोराना कहर : मुगुमा पनि एक सातासम्म निषेधाज्ञा

2021-05-05

मुगु : हिमाली जिल्ला मुगुमा पनि निषेधाज्ञा लागु गरिएको छ। केहि दिनयता यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरूको संख्या बढ्न थालेपछि रोकथाम तथा नियन्त्रण निम्ति बुधवार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा एक सातासम्म लागू हुनेछ।

कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर सिवाकोटीले बताए। उनका अनुसार जिल्लाभर अति आवश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्नुका साथै सवारी साधनमा पूर्ण रोक लगाउने होटेल,खाद्यान्न तरकारी फलफूल, ग्यास पसल तथा व्यवसायहरू बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म मात्र खोल्न पाइने भएको निर्णय भएको छ।

त्यस्तै, निषेधाज्ञा अवधिभर बैक तथा वित्तीय संस्थाहरू र अत्यावश्यक काम पर्ने सार्वजनिक कार्यालयहरूले अफिसमा आलोपालो कर्मचारी खटाई स्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सेवा प्रवाह गरिने कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।

एक साताभित्र २४ जना संक्रमित

मुगुमा पछिल्लो एक साताभित्र २४ जना कोराना सङ्क्रमित फेला परेका छन्‌।

​जिल्लाका एक नगरपालिका र तीन गाउँपालिकामा एन्टिजेन परीक्षण गर्दा मंगलबारसम्म २४ जनामा कोराना संक्रमण पुष्टि भएको हो।

गत वर्ष चैत ११ गतेबाट साउनसम्म (४ महिनाभर) जिल्लाभर ३८ जना कोरोना संक्रमित भेटिएका थिए। तर, यो वर्ष हप्ता दिन मै २४ जना भेटिएका छन्‌।

कोरानाको जोखिम उच्च

कोरोनाको 'रेड जोन' मानिएको बाँके जिल्लासँग सीधा सम्पर्कमा रहेको विकट हिमाली जिल्ला मुगु पनि कोराना संक्रमण उच्च जोखिममा छ।

बाँकेस्थित नेपालगञ्‍जको राँझा विमानस्थलबाट मुगुको रारा विमानस्थलसम्म सीधा हवाई उडान हुँदै आएको छ। यहाँका स्थानीयहरू प्राय बाँकेका विभिन्न स्थानहरूमा बसोबास गदै आएको र उनीहरू गर्मीको बेला घर फर्कने भएकाले मुगु जिल्ला कोरोनाको उच्च जोखिममा रहेको सरोकारवालाहरू बताउँछन्।

प्रदेश राजधानी सुर्खेत भएपनि बाँकेमै बढी आवतजावत हुने गरेको छ। स्थल मार्गबाट सवारी साधन र हवाई मार्गबाट समेत सिधै बाँकेसँग मुगु जोडिएको छ। बसबाट स्थानीयहरू दिनहुँ आइरहेका र हवाई मार्गबाट समेत देशभरबाट आन्तरिक पर्यटकहरू रारा घुम्न आइरहेकाले पनि मुगुमा जोखिम बढेको हो।

ओपिडी सेवा बन्द

जिल्ला अस्पताल कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालले ओपिडी सेवा बन्द गरेको छ।

कोराना संक्रमित बिरामी हेर्दै आएकी एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि आइतबारबाट ओपिडी सेवा बन्द गरिएको हो।

जिल्ला अस्पताल मुगुका डा. कविराज पौडेलले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि जिल्ला अस्पतालबाट दिइँदै आएको ओपिडी सेवा केही समयका लागि बन्द गरिएको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments