Incident Reports

ज्याला माग्दै अनशन

2021-07-02

बैतडी — २१ महिनादेखि ज्याला नपाएपछि पाटन–पञ्चेश्वर सडकमा कार्यरत १२ जना कामदार (लेन्थ वर्कर) हरू पाँच दिनदेखि अनशनरत छन् । २१ महिनाबाट आफूहरूले सडकमा काम गरेर पनि हालसम्म पारिश्रमिक नपाएको भन्दै उनीहरू शुक्रबारबाट अनशन बसेका हुन् । 

६ महिला र ६ पुरुष गरी १२ जना अनशनमा बसिरहेका छन् । संघीय सरकारअन्तर्गत रहेको सडक प्रदेश सरकार मातहतमा आएपछि आफूहरूले काम गरेको ज्याला पाउन नसकिरहेको उनीहरूले बताएका छन् । संघीय सरकारबाट पाटन–पञ्चेश्वर सडक अहिले प्रदेश सरकारमातहत आएको छ । सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई सडक हस्तान्तरण गर्ने बेला आफूहरूलाई काम गर्नका लागि पूर्वाधार विकास कार्यालयले काम गर्न मौखिक निर्देशन दिएको पीडित कामदारहरूले बताए ।

प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले लेन्थवर्करहरूलाई मौखिक रूपमा काम गर्न निर्देशन दिएको अनशनरत मेलौली नगरपालिकाकी २९ वर्षीया लक्ष्मी साउँदले बताइन् । ‘सडकका गहना’ भन्दै आफूहरूलाई मन्त्रीले कामलाई निरन्तरता दिन भनेको उनले बताइन् । उनले भनिन्, ‘पहिले नियमित तलब पाएका थियौं । प्रदेश सरकारमातहत सडक गएपछि तीन महिनाको तलब पायौं, त्यसपछि पाएनौं ।’ प्रत्येक लेन्थवर्करको मासिक ज्याला १८ हजार रुपैयाँ हो ।

यही सडकमा काम गरेर आफ्ना तीन छोराछोरीको पालनपोषण गरिरहेको भए पनि तलब नपाउँदा समस्यामा परेको साउँदले दुखेसो पोखिन् । ‘श्रीमान्को अत्तोपत्तो छैन । ६ वर्षको बच्चा छोडेर अनशनमा बसिरहेकी छु,’ उनले भनिन्, हालसम्म सडक कार्यालयबाट पैसा आउने आशाले उधारो खाइएको छ, पैसा आएन, कहाँबाट तिर्ने ?’ यो कामले यता न उताको भएर बिचल्लीमा परेको उनको दुखेसो थियो ।

२१ महिनादेखि काम गरेको ज्याला नपाएको गुनासो मेलौली–२ का घनश्याम भट्टले पनि गरे । उनले भने, ‘अब केही विकल्प छैन, ऋण लागिसकेको छ । अनशनमै मर्न तयार छौं । अनशनमै रहनेछौं ।’ केही गर्न नसकेर सडकको काम गरे पनि यहींबाट ठगिनुपरेको उनी बताउँछन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको भन्दै उनले भने, ‘उधारो खाएका छौं । व्यापारीले तिर्न भनेर बसिखान दिएका छैनन् । यता काम गरेको ज्याला पाउन पनि अनशन बस्नुपरेको छ । यो रहर हैन, हाम्रो बाध्यता हो ।’

के खाऊँ के लाऊँ भन्ने अवस्थामा सरकारले दुःख दिएको पाटन नगरपालिका–६ का जयराम भुलले बताए । व्यापारीले खाएको पैसा नदिएपछि गाउँमा बस्न जस्तो नभएको उनले बताए । आफूहरूलाई अहिले आएर काममा नलगाएको दाबी कार्यालयले गरेको उनको भनाइ छ । आफूहरूलाई मौखिक काम गर्नका लागि पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले पनि भनेको उनले बताए । ‘प्रक्रिया मिलाएर तलब खुवाउँछौं । काम गर्नू भनेर आश्वासन पाएपछि मात्र काम थालेका थियौं,’ उनले भने, ‘अहिले आएर हामीलाई काम गर्न नभनेको भनिरहेका छन् ।’

जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकबाट अनशनरत लेन्थवर्करको समस्या समाधानमा सहयोग गर्न मंगलबार समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्ट संयोजक रहेको तीन सदस्यीय समिति गठन गरिएको हो । समिति सदस्यमा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायक छन् । समितिले लेन्थवर्करका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने समितिका सदस्य नगर प्रमुख चन्दले बताए । सरकारले यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments