Incident Reports

कालीगण्डकी दोहनविरुद्ध रचनात्मक विरोध गर्दै युवा

2021-08-26

शालिग्राम पाइने विश्वकै एक मात्र नदीका रूपमा परिचित कालीगण्डकी पछिल्लो समय चरम दोहनमा परेको छ। दर्ता भएर सञ्चालनमा आएका क्रसर उद्योगले पनि मापदण्डविपरीत मनपरी ढंगले गिटी, बालुवा निकालिरहेका छन्।

कानुनअनुसार बर्खायामको तीन महिनामा नदीजन्य वस्तुहरूको उत्खनन गर्न मिल्दैन। तर, मध्यरातमा कालीगण्डकी नदीमाथि डोजर नचाउने काम नियमित चलिरहेको छ। कालीगण्डकीमा भइरहेको अवैध दोहनका विषयमा विगतमा पनि आवाज नउठेको होइन। तर, पछिल्लो समय कालीगण्डकी दोहनविरुद्ध युवाहरूले सिर्जनात्मक रूपमा थप विरोध गरिरहेका छन्।

केही समयदेखि सामाजिक सञ्जालबाट रचनात्मक रूपमा कालीगण्डकी दोहनविरुद्ध खबरदारी गरिरहेका युवाहरूले विरोधलाई थप रचनात्मक बनाउँदै लगेका छन्। पछिल्लोपटक ‘कालीगण्डकी बचाऔँ अभियान’ले कालीगण्डकी नदी संरक्षणमा टेवा पुग्ने गरी कविता पठाउन स्रष्टाहरूलाई आह्वान गरेको छ।

कुनै वैज्ञानिक अध्ययन–अनुसन्धानविना सुरु गरिएको कालीगण्डकी डाइभर्सन योजना र विगत केही दशकदेखि भइरहेको दोहनले पारेको नकारात्मक प्रभाव नियन्त्रणका लागि सिर्जनाहरूको आह्वान गरिएको अभियन्ता आरके अदिप्त गिरीले बताए। उनका अनुसार कालीनदीको अवैध दोहन भएको तथा नदी सभ्यता नै नामेट पार्न खोजिएको विरोधमा सिर्जनात्मक विरोध सुरु गरिएको हो।

‘कालगण्डकी बचाऔँ अभियान’लाई साझा अभियानको रूपमा अगाडि बढाउनका लागि आह्वान गर्दै उनले संकलित कविताहरूलाई संग्रहका रूपमा प्रकाशित गरिने गिरीले जानकारी दिए। कालीगण्डकीमाथि बीभत्स दोहन चलाइएको र नदीको सभ्यता, पर्यावरण तथा जीविकामाथि गम्भीर संकट पार्ने काम गरिएकोमा अभियन्ताहरूले विगत केही महिनादेखि विरोधका विविध कार्यक्रम गरिरहेका छन्।

नदी दोहनको विरुद्धमा अभियानले पदयात्रासमेत गर्ने तयारी गरेको छ। कोरोना कहर मत्थर भएपछि मुक्तिनाथदेखि नवलपुरसम्म पदयात्रा गर्ने अभियन्ताहरूको तयारी छ। शालीन र सिर्जनशील तवरले अभियानलाई अझ वजनदार बनाउन यस्तो तरिका अपनाएको अभियानकर्मी राम शर्माले बताए।

‘सामाजिक सञ्जालमा लेखेर मात्र त्यति प्रभावकारी नहुने रहेछ,’ उनले भने, ‘त्यसलाई अझ सिर्जनात्मक बनाउन सकियो भने धेरैको सहयोग पाइन्छ भन्ने आशा गरेका छौँ। कालीगण्डकी दोहन नियन्त्रणका लागि क्रमिक रूपमा बौद्धिक बहस चलाउने तयारीसमेत गरिएको उनले बताए।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people not available
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments