Incident Reports

सडक विस्तार ढिलाइको विरोध गर्दै माटो थुपारेर सडक अवरुद्ध

2022-10-31

Bagmati, Bhaktapur, Bhaktapur

पर्यटकीय गन्तव्य नगरकोट सडकखण्ड विस्तारको नाममा ठेकेदारले आठ वर्षदेखि सडक अलपत्र पारेको भन्दै स्थानीय पर्यटन व्यवसायीले माटो थुपारेर सडक अवरुद्ध गरेका छन् । भक्तपुर कमलविनायक–नगरकोटसम्मको १६ किलोमिटर मुख्य सडक विस्तार ढिलाइले पर्यटन व्यवसायी धरासायी बनेको र सडक थप जीर्ण भएको भन्दै स्थानीय बासिन्दाले सोमबार सडकमै माटो थुपारेर सडक अवरुद्ध गरेका हुन् । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङका अनुसार १५ ट्रक माटो सडकमा खन्याएर स्थानीयले बाटो अवरुद्ध पारेका छन् । विस्तारको नाममा ८ वर्षसम्म पर्यटकीय गन्तव्य नगरकोट सडक अलपत्र छ । सडक विस्तारको ठेक्का लिएको ठेकेदार कम्पनीले सातौंपल्ट म्याद थपेर समेत अझै काम सकेको छैन । जीर्ण सडककै कारण स्थानीय बासिन्दा, पर्यटन व्यवसायी, पर्यटक/सडक प्रयोगकर्ताले सास्ती भोग्नु परेको भन्दै तत्काल काम सम्पन्न गर्न माग गर्दै दबाबमूलक आन्दोलनमा उत्रिएको गुरुङ बताउँछन् ।

‘एक्जिम बैंक इन्डिया’को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले ०७३ कात्तिक ४ मा काम सक्ने गरी ०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता गरेको थियो । आयोजनाका अनुसार एक्जिम बैंक इन्डियाबाट ठेक्का सहमति प्राप्त प्रक्रियागत ढिलाई भन्दै पहिलोपल्ट २०१६ अक्टोबर २० सम्म काम सक्ने गरी १२५ दिन म्याद थप भयो । दोस्रोपल्ट भूकम्पको बाहानामा २०१७ नोभेम्बर ०४ सम्म ३८० दिन, तेस्रोपल्ट सडकमा रहेको भौतिक संरचना स्थानान्तरण र रुख कटानमा ढिलाइ, स्थानीयको अवरोध, स्थानीय चुनाव लगायत कारण देखाउँदै २०१८ जुन १३ मा सक्ने गरी २२१ दिन म्याद थप भएको थियो ।

त्यसैगरी, चौथोपल्ट चिसो तथा वर्षाको कारण कालोपत्रे गर्ने कार्य गर्न नसकिएको तथा खरिद नियमावली २०६४ आठौं संशोधन अनुसार २०२० अप्रिल १९ मा निर्माण कार्यसक्ने गरी ६७६ दिन, पाचौंपल्ट खरिद नियमावली नवौं संशोधन अनुसार म्याद थप सम्बन्धी पूर्वनिर्णयहरु यथावत कायम भन्दै २०२० डिसेम्बर ३० सम्मका लागि २५५ दिन, छैठौंपल्ट कोभिडका कारण भएको बन्दाबन्दीको बाहानामा २०२१ जुन २९ दिनसम्म १८१ दिन र सातौंपल्ट गत चैत मसान्त अर्थात् २०२२ अप्रिल १३ सम्मका लागि म्याद थप गरेको थियो । सार्वजनिक खरिद ऐनको १२ औं संशोधन अनुसार उक्त सडक निर्माणको म्याद आठौंपल्ट थपिएर २०७९ पुष मसान्तसम्म पुगेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले करिब ७८ प्रतिशत काम सम्पन्न गरेको आयोजना प्रमुख गौतम श्रेष्ठले बताए । काम ढिला गरिँदा लागत झन्डै साढे ४ करोड रुपैयाँ बढेको छ । सुरुको सम्झौतामा भ्याट सहित ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ । विस्तारको नाममा उक्त सडक थप जीर्ण भएको छ ।

पर्यटन व्यवसायीहरूले भने पटकपटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, जिल्ला प्रशासन, नगरपालिकालाई गुहार्दा पनि राजनीतिक संरक्षणमा ठेकेदारलाई कारबाही हुन नसकेको स्थानीय बासिन्दाहरू बताउँछन् । ‘सडककै कारण वर्षौंदेखि पर्यटन व्यवसाय धरासायी बन्दै आएको छ, दुर्घटनाको जोखिम मोल्दै यात्रा गर्न बाध्य छौं,’ स्थानीय एवं पर्यटन व्यवसायी धिरज तामाङले भने,‘राजनीतिक संरक्षणमा ठेकेदारले नगरकोट सडकलाई थप जीर्ण बनाएको छ ।’ यसअघि नगरकोटवासीले सडक किनारमा सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । गत असारमा चाँगुनारायण नगरपालिका–६ र ७ का वडाअध्यक्षहरूले सडकमै वडा कार्यालय स्थापना गरेर विरोध गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments