Incident Reports

गंगामायाको जीवन रक्षाको माग गर्दै वीर अस्पताल अगाडि धर्ना

2014-09-28

Bagmati, Kathmandu, Kathmandu, Ward 22

Bibek Dhungana काठमाडौँ । ०७१ असोज १२ गते छोराको हत्यारालाई कारबाहीको माग राखी ०७० कात्तिक ७ गतेदेखि आमरण अनसनरत गोरखा फुजेल -७ की गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै फुजेलबासी, विद्यार्थी, द्वन्द्पीडित र मानवअधिकारकर्मीहरूले असोज १२ गते वीर अस्पताल अगाडि धर्ना दिएका छन् । लामो समयदेखि अनसन बसेको कारण गंगामायाको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । उनीसँगै आमरण अनसनमा बसेका पति नन्दप्रसाद अधिकारीको असोज ६ गते मृत्यु भएको थियो । सोही सर्न्दर्भमा "न्याय माग्दा माग्दै ज्यान गुमाएका नन्दप्रसाद अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गंगामाया अधिकारी बचाऊँ अभियानमा सहभागी बनौँ" भन्दै आज उक्त धर्ना दिइएको हो । धर्नामा उपस्थित सहभागिहरूले अराजकता कहिलेसम्म -, गंगामायालाई बचाऔँ, न्याय हराएको देश, मानवअधिकार, लोकतन्त्र कहाँ छ -, सरकार हराएको सूचना, नन्दप्रसाद होइन, न्याय मर्‍यो लगायतको प्लाकार्डहर बोकेका थिए । धर्ना कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधराज प्याकुरेलले नन्दप्रसाद अधिकारीको निधनप्रति हार्दिक समवेदना प्रकट गर्दै गंगामायाको जीवन रक्षाका लागि दवाव दिन आमसमुदयासगँ अपील गरेका छन् । उनले न्याय भन्ने चिज शासकमा भरपर्ने रहेछ भन्दै अपराधी मानसिकता बोकेका नेताहरूलाई नेतृत्वमा नपुर्‍याउन समेत जनसमुदायलाई प्याकुरेलले आग्रह गरेका छन् । अध्यक्ष प्याकुरेलले न्यायको खोजी गर्दै केही दिनपश्चात् काठमाडौँदेखि गोरखाको फुजेलसम्म पदयात्राको तय गरिने जानकारी दिँदै उक्त पद यात्रामा सबै न्यायप्रेमी जनतालाई उपस्थित हुन आहृवानसमेत गरेका छन् । पीडित परिवारको तर्फबाट बोल्दै सुशीला तिवारीले राज्य र राजनीतिक दलहरूको मिलोमतोमा आफ्ना मामा नन्दप्रसादको हत्या गरिएको आरोप लगाएकी छन् । उनले भनिन्, "राज्यले मेरो मामाको हत्या गरेको छ, माइजु र दाजुलाई समेत हत्या गर्न खोज्दैछ । नन्दप्रसादको शवको हत्यारा सरकारले नै जिम्मा लिनुपर्छ ।" धर्नामा उपस्थित सहभागीहरूले अन्यायको विरुद्ध न्यायप्राप्तिको आन्दोलन सुरु भएको उद्घोष गर्दै सम्पूर्ण विद्यार्थी, पेशाकर्मी, पत्रकार, मानवअधिकारकर्मी र स्वतन्त्र नागरिकलाई आन्दोलनप्रति ऐक्यबद्धता जनाउन अपिल गरेका छन्। धर्ना कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल, इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम, द्वन्द्पीडित समुदायका ज्ञानेन्द्रराज आरण, जनक राउत लगायतको सहभागिता रहेको थियो। विवेक ढुङ्गाना

0 Comments

Related Reports