Incident Reports

गङ्गामाया अधिकारीको अनसन तोडियो l

2014-10-19

Bagmati, Kathmandu, Kathmandu

Online Desk छोराका हत्यारालाई कारबाहीको माग वीर अस्पतालमा ३ सय ५७ दिनदेखि आमरण अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले अधिकारकर्मीको पहलमा अनसन तोडेकी छन् । अधिकारीलाई वीर अस्पतालमा शनिबार साँझ कानुन तथा शान्ति मन्त्री नरहरि आचार्यले दुई चम्चा हर्लिक्स खुवाएर अनसन तोडाएका हुन् । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मानवअधिकारकर्मीको पहलमा गङ्गामाया औषधि र झोल पदार्थ खान तयार भएको बताए । प्याकुरेलका अनुसार गङ्गामायाले 'न्याय प्राप्तीका लागि' हर्लिक्स, जीवनजल र ग्लुकोज खान तयार भएकी हुन् । तर, उनले अन्न नखाने बताएकी छन् । प्याकुरेलका अनुसार छोराका हत्यारालाई कारबाही गर्न आफूले बाँचेरै सङ्घर्ष गर्नुपर्ने सोचेर अनसन तोडेको गङ्गामायाले बताएकी छन् । अनसन तोडाएपछि कानुनमन्त्री आचार्य र अधिकारकर्मीको रोहवरमा शान्ति मन्त्रालयका कामु सचिव खुमराज पुञ्जालीले हस्ताक्षर गरेको पत्र गङ्गामायालाई दिइएको थियो । पत्रमा अधिकारीको न्यायप्राप्तीको लडाईं अब सरकारले गर्ने, नन्दप्रसादको शव सम्मानका साथ सदगत् गर्ने, बेलायतमा रहेका भनिएका आरोपितलाई नेपाल झिकाउन आवश्यक पहल गर्ने जस्ता विषय उल्लेख गरिएको प्याकुरेलले बताए। गङ्गामायाका कान्छा छोरा कृष्णप्रसादलाई चितवनमा रहेका हजुरबा–हजुरआमालाई भेट्न गएका बेला तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०६१ जेठ २४ गते अपहरण गरी बकुलहर चोकमा गोली हानी हत्या गरेका थिए । हत्यारालाई कारबाहीको माग गर्दै गङ्गामाया पति नन्दप्रसादसहित आमरण अनसनमा बसेकी थिइन् । अनसनमा बसेकै बेला नन्दप्रसादको गत असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । उनको शव शिक्षण अस्पतालमा छ । अनलाइनडेस्क

0 Comments

Related Reports